बुटवल । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि इन्टरनेशनल बुद्धिस्ट सेन्टर, वाल्डो डाइनेस्टी र नेपाल आङ्घोले एक करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएका छन्।
अन्तर्राष्ट्रिय उक्त संस्थाका अध्यक्ष स्टेवार्ड च्याङ र लियाङले ५० लाख रुपैयाँ नगद तथा थप ५० लाख रुपैयाँ बराबरको खाद्यान्न तथा आवश्यक राहत सामग्री सहयोग गरेका हुन्।
सहयोगस्वरूप प्रदान गरिएको नगद रकमको चेक पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश’ले अर्थमन्त्रीका तर्फबाट ग्रहण गरेका छन्। त्यसक्रममा उनले सहयोग प्रदान गर्ने संस्थालाई धन्यवाद ज्ञापन गरे । मन्त्री पौडेलले वास्तविक पीडितले प्राप्त गर्नेगरी राहत र सहयोग उपलब्ध गराइने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त सहयोग विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रयोग गरिने भन्दै मन्त्रीले सहयोगीहरुको प्रशंसा गरेका थिए ।
लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री एवम् अन्तर्राष्ट्रिय बुद्धिस्ट सेन्टरका सदस्य समेत रहेका नेता विष्णु पन्थीको पहलमा राहत सहयोग गरिएको हो ।
विपद्का बेला राज्यको प्रयासमा निजी क्षेत्र, सामाजिक संस्था तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले राहत अभियानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने पूर्वमन्त्री पन्थीले बताए।
उनले मानवीय संकटका बेला गरिएको यस्तो सहयोगले विपद् प्रभावित नागरिकप्रति ऐक्यबद्धता र मानवीय सहकार्यको सकारात्मक सन्देश दिएको उल्लेख गरे।