अनिल नेपाली
अर्घाखाँची
अर्घाखाँचीमा गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमा हेरफेर तथा स्थानीय तह पुनर्संरचनाका विषयमा प्रारम्भिक बहस सुरु भएको छ । नेपाल सरकारको गत असार ४ गते राजपत्रमा प्रकाशित मापदण्डअनुसार जिल्ला समन्वय समितिको पहलमा स्थानीय तहको संख्या तथा सीमाना हेरफेर, एक–आपसमा गाभ्ने तथा नगरपालिकाको वर्गीकरण पुनरावलोकनसम्बन्धी अध्ययन अघि बढाइएको हो ।
यसैक्रममा अध्ययन टोलीले शीतगंगा नगरपालिका–९ नयाँबस्तीमा पुगेर स्थानीय, राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिसँग प्रारम्भिक छलफल गरेको छ । छलफलमा स्थानीय तहको भौगोलिक अवस्था, सेवा प्रवाह र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर वडाको सीमा पुनरावलोकन गर्नुपर्ने विषयमा स्थानीयले विभिन्न सुझाव दिएका छन् ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले स्थानीय तहको संख्या तथा सीमाना हेरफेरसम्बन्धी मापदण्डका आधारमा प्रारम्भिक अध्ययन भइरहेको बताए । उनले शीतगंगा नगरपालिकाको भौगोलिक जटिलतालाई समेत ध्यानमा राख्दै स्थानीयको माग र सरोकारवालाबाट प्राप्त सुझावका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने जनाए । छलफलमा वडा नं. ९ अन्तर्गतका केही बस्तीलाई छिमेकी वडामा समायोजन गर्नुपर्ने तथा अन्य वडाका केही बस्तीलाई वडा नं. ९ मा जोड्नुपर्ने सुझाव आएका छन् । कानाचौर, साइकेने र औलाका बस्तीलाई वडा नं. ७ मा गाभ्नुपर्ने, कमलगैरा, जामुने र भक्कुचोकलाई वडा नं. ९ मा जोड्नुपर्ने तथा तल्लो शिलिङखोला, लापे, तीनखण्डे टोललगायतका क्षेत्रलाई वडा नं. ८ मा जोड्नुपर्ने सुझाव स्थानीयले दिएका छन् । यस्तै शीतगंगा नगरपालिका वडा नम्बर ११ लाई दुईवटा वडा कायम गर्ने विषयमा सर्वपक्षीय बैठकले सर्वसम्मत निर्णय गरेको छ । जिल्ला समन्वय समिति प्रमुखसहितको कार्यदल, शीतगंगा नगरपालिकाका प्रमुख तथा नगरपालिकाको टोली, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र वडाका विभिन्न टोलबस्तीबाट आएका स्थानीयको उपस्थितिमा खयरभट्टीमा सर्वपक्षीय बैठक बसेको हो ।
बैठकले भौगोलिक रूपमा जिल्लाकै ठूलो तथा दुर्गम मानिने शितगंगा–११ लाई साविकका वडा नम्बर ५ र ६ लाई अलग–अलग वडा कायम गर्ने गरी विभाजनको प्रस्ताव सर्वसम्मत रूपमा तयार गरेको जनाइएको छ । करिब १४६ वर्ग किलोमिटर क्षेत्रफल रहेको ठूलो भूगोलका कारण स्थानीयलाई सेवा प्रवाह तथा विकास निर्माणमा सहजता ल्याउन वडा विभाजन आवश्यक रहेको वडा अध्यक्ष नवराज भुसालको भनाइ छ ।
कार्यक्रममा शीतगंगा नगरपालिकाका नगरप्रमुख छविलाल पौडेल, जिल्ला समन्वय समितिका समन्वय अधिकारी केशव ज्ञवाली, सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, शीतगंगा नगरपालिका–७ का वडाध्यक्ष देवीराम घिमिरे, वडा नं. ८ का वडाध्यक्ष रुकेश आले, वडा नं. १० का वडाध्यक्ष केशव बेल्बासे, वडा नं. ११ का वडाध्यक्ष नवराज भुसाल र वडा नं. १४ का वडाध्यक्ष दामोदर न्यौपानेलगायत सहभागी थिए ।
स्थानीयवासीले वडाको सीमा हेरफेरसँगै भौगोलिक सहजता, प्रशासनिक सेवा र स्थानीय आवश्यकताका विषयमा सुझाव दिएका थिए । शीतगंगा नगरपालिकाको सीमा तथा वडाको संरचना हेरफेरका विषयमा यसअघि पनि स्थानीय तथा सरोकारवालाले पटक–पटक छलफल गर्दै आएका छन् ।




