भैरहवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ सार्वजनिक यातायात प्रालिले ५ लाख ५ सय ५ रुपैयाँ सहयोग गरेको छ ।
प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भदौ २५ गते महालक्ष्मी विकास बैंक, भैरहवा शाखामार्फत सहयोग रकमको चेक जम्मा गरेको प्रालिका अध्यक्ष सञ्जीव रोक्काले बताए ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडितको राहतका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको अध्यक्ष रोक्काले बताए ।
अध्यक्ष रोक्काका अनुसार विपद्को समयमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु सबैको साझा दायित्व भएकाले संस्थाको तर्फबाट सहयोग गरिएको हो । ‘भोटेकोशी बाढीले ठूलो क्षति पुर्याएको छ । विपद्को यो कठिन अवस्थामा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेका हौँ’– रोक्काले भने–‘पीडितको दुःखमा साथ दिनु मानवीय दायित्व हो । आगामी दिनमा पनि आवश्यक सहयोगका लागि हामी सकारात्मक छौँ ।’
उनले राहत र पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा नागरिक समाज सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
सिद्धार्थ सार्वजनिक यातायातको यो सहयोगले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापना अभियानमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ ।




