बुटवल । उद्योग व्यापार संघ बुटवलले ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ भन्ने मूल नारासहित आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी सुरु गरेको छ ।
आगामी पुस ३ गतेदेखि १६ गतेसम्म बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई भव्य र व्यवस्थित बनाउन आयोजकले तयारी तीव्र पारेको हो । संघले बुटवल मण्डपमा पुसमा पहिलो पटक मेला आयोजना गरेको हो ।
बुटवलका चार प्रमुख व्यवसायिक संस्था र बुटवल उपमहानगरबीचको लिखित सहमति अनुसार उद्योग ब्यापार संघ पहिलोपटक बुटवल मण्डपको पुसे मेलामा विधिवत इन्ट्री भएको हो ।
मेलाको संरक्षकमा बुटवल उपमहानगरपालिका र नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघ रहेका छन् । त्यसैगरी सह–आयोजकमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही उद्योग संघ र रुपन्देही व्यापार संघ रहेका छन् ।
मेला तयारीअन्तर्गत शनिबार प्रदर्शनी स्थलअगाडि मेला बोर्ड तथा लोगो अनावरण तथा २९ वटा उपसमिति संयोजकको नामावली सार्वजनिक गरिएको छ ।
आयोजकले मेला स्थल व्यवस्थापन, स्टल तथा पेभेलियन निर्माण, व्यवसायीको सहभागिता, सुरक्षा, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलगायतका तयारीलाई अघि बढाएको जनाएको छ ।
उद्योग व्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थीले औद्योगिक विकास, उद्यमशीलता, स्वदेशी उत्पादनको बजारीकरण र आर्थिक गतिविधि विस्तार गर्ने अभियानका रूपमा मेला आयोजना गर्न लागिएको बताए । विभिन्न उद्योगी–व्यवसायीका संस्थालाई समेत जोडेर आयोजना गर्न लागिएको मेलाले बुटवल र रुपन्देहीको औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई एउटै मञ्चमा ल्याउने आयोजकको विश्वास छ ।
मेलामार्फत उद्यमशीलताको विकास गर्न उत्प्रेरित गर्ने, औद्योगिक व्यवसायको प्रवद्र्धन गर्ने तथा रोजगारी सिर्जनामा टेवा पु¥याउने उद्देश्य राखिएको पन्थीले बताए । परम्परागत हस्तकलाको दिगो विकासलाई प्रोत्साहन गर्ने, स्वदेशी उत्पादनलाई मेलाका माध्यमबाट बजारीकरण गर्ने तथा स्वदेशी वस्तुको उपभोग प्रवद्र्धन गर्ने आयोजकको योजना छ ।
त्यसैगरी आयातलाई निरुत्साहित गर्दै निर्यात प्रवद्र्धन गर्ने र नेपाली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सहयोग गर्ने उद्देश्यसमेत मेलाले लिएको अध्यक्ष पन्थीले बताए । ‘मेला व्यापार गर्ने थलो मात्र होइन, स्वदेशी उत्पादनको बजार विस्तार र उद्यमशीलता विकासका लागि महत्वपूर्ण प्लेटफर्म बन्नेछ,’ पन्थीले भने ।
अध्यक्ष पन्थीले मेला उद्योग व्यापार संघ बुटवलको मात्र नभई समग्र रुपन्देहीवासीको साझा आर्थिक उत्सव भएकाले उद्योगी–व्यवसायी, कृषक, पर्यटन व्यवसायी, लगानीकर्ता, उपभोक्ता तथा आम नागरिक सबैको सहयोग आवश्यक रहेको बताए ।
बुटवल मण्डपमा हरेक वर्ष आयोजना हुंदै आएका मेला र औद्योगिक प्रदर्शनीको ब्राण्ड तथा गरिमालाई जोगाउंदै संघले थप स्तरीय र वहुआयामिक ढंगले मेला सञ्चालन गर्ने अध्यक्ष पन्थीले बताए ।
मेलामा उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउनुका साथै उद्योग, कृषि, पर्यटन तथा लगानी प्रवद्र्धनसँग सम्बन्धित विभिन्न सेमिनार, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ । स्वदेश तथा विदेशका उद्योगी, व्यवसायी, कृषक, लगानीकर्ता तथा उपभोक्ताको सहभागिताले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकले लिएको छ ।
मेलालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न २९ वटा उपसमिति गठन गरी तयारीका काम अघि बढाइएको अध्यक्ष पन्थीले जानकारी दिए । मेला समग्र रुपन्देहीवासीको साझा कार्यक्रम भएकाले सबैको साथ, सहयोग तथा रचनात्मक सल्लाह–सुझावको अपेक्षा गरिएको उनले बताए ।
मेलामा ४५० देखि ५०० वटासम्म स्टल रहने भएका छन् । वरिष्ठ उपाध्यक्ष एवं स्टल दर्ता उपसमिति संयोजक पदम जीसीका अनुसार तयारी सुरु भएसँगै स्टल बुकिङसमेत तीव्र भएको छ र हालसम्म करिब एक सय वटा स्टल बुकिङ भइसकेका छन् ।
मेलामा स्वदेशी उत्पादनका स्टललाई प्राथमिकता दिइनेछ भने स्थानीय व्यवसायीलाई समेत विशेष प्राथमिकता दिइने जीसीले बताए । महिला तथा एकल महिलाले सञ्चालन गर्ने स्टललाई स्टल शुल्कमा विशेष छुट दिइने उनले जानकारी दिए ।
मेलामा अटोमोबाइल्ससहित १६ वटा पेभेलियन रहनेछन् । विद्युतीय गाडीदेखि कृषि, पर्यटन, हस्तकला, आईटी, स्वास्थ्य, शिक्षा तथा निर्माण सामग्रीसम्मका उत्पादन र सेवालाई समेटिनेछ ।
जीसीका अनुसार मेलामा विद्युतीय गाडीसहितको अटोमोबाइल, होटल तथा रेष्टुरेन्ट, अन्तर्राष्ट्रिय स्टल, फर्निचर तथा फर्निसिङ, तयारी पोशाक तथा गार्मेन्ट, बैंक तथा वित्तीय संस्था, दैनिक उपभोग्य वस्तु, बेकरी, डेरी तथा आइसक्रिम, गिफ्ट तथा खेलौना र जुत्ता–चप्पलका पेभेलियन रहनेछन् ।
त्यसैगरी श्रृंगार तथा ब्यूटी पार्लर, आईटी तथा इलेक्ट्रोनिक्स, स्वास्थ्य, शैक्षिक संस्था, हर्बल तथा जडीबुटी, हस्तकला, कुटिर उद्योग, कृषि तथा पशुपालन, इलेक्ट्रिकल्स तथा इलेक्ट्रोनिक्स, जडीबुटी तथा औषधि, घरजग्गा तथा निर्माण सामग्री, फर्निचर तथा फर्निसिङ तथा अपाङ्गता भएका व्यक्ति र एकल महिलाद्वारा उत्पादित वस्तुहरूका उत्पादनका पेभेलियन रहनेछन् ।
मेलामा देश–विदेशका व्यवसायीसँग अनुभव आदान–प्रदान गर्ने अवसर सिर्जना गरिनेछ । लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन आकर्षित गर्ने कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
उत्पादक र उपभोक्ताबीच सम्बन्ध अभिवृद्धि गर्ने, नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने तथा कृषि पेशालाई व्यवसायीकरण गर्न उत्प्रेरित गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ ।
मेलामा सूचना प्रविधिसम्बन्धी जानकारी, पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अवसरको खोजी, पर्यटन प्रवद्र्धनसम्बन्धी गोष्ठी तथा युवा उद्यमसम्बन्धी अन्तरक्रिया समेत आयोजना गरिने महासचिव विजय आचार्यले बताए ।
मेलाका आकर्षणका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय गीत तथा नृत्य प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम रहनेछन् ।
बालबालिकाका लागि मनोरञ्जनात्मक बाल उद्यान, महिला सशक्तीकरण तथा महिला उद्यमीसम्बन्धी गोष्ठी, सीपमूलक तालिम तथा अभिमुखीकरणसम्बन्धी गोष्ठीसमेत आयोजना गरिनेछ ।
स्वस्थ जीवनका लागि खेलकुद तथा योग शिविर, मेलास्थलमै नियमित रक्तदान कार्यक्रम, साँझ भजन–कीर्तन तथा आरती, शिव ताण्डव प्रदर्शन, फिस टनेल र जलपरी टिकटक प्रतियोगितासमेत मेलाका आकर्षणका रूपमा रहने आचार्यले जानकारी दिए ।
१४ दिनसम्म सञ्चालन हुने मेलामा करिब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । मेलाले बुटवलको अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । संघका कोषाध्यक्ष दिलीप शर्माका अनुसार मेलामा ८ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य राखिएको छ ।
संघका उद्योग उपाध्यक्ष केशव श्रीस मगरका अनुसार मेलास्थलमा चौबिसै घण्टा सीसीटीभीसहितको सुरक्षा व्यवस्था गरिनेछ । आगन्तुकका लागि इन्टरनेट, टेलिफोन तथा पर्यटन सूचना केन्द्रको व्यवस्था गरिनेछ ।त्यसैगरी शिशु स्याहार तथा स्तनपान कक्ष र प्राथमिक उपचारको समेत व्यवस्था गरिने उनले बताए ।
मेलामा व्यापारिक कारोबारसँगै स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीबीचको सम्बन्ध विस्तार, नयाँ लगानीका अवसरको खोजी, पर्यटन प्रवद्र्धन तथा स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा राखिएको प्रचार प्रसार उपसमिति संयोजक सौरभ भुसालले बताए ।
२९ उपसमिति संयोजकमा को को ?
मेला सम्पन्न गर्न गठित मूल आयोजक समितिको संयोजकमा लोकनाथ पन्थी र मेला संरक्षक समितिको संयोजकमा निवर्तमान अध्यक्ष विष्णु प्रसाद पाण्डे रहेका छन् भने मूल्याङ्कन तथा अनुगमन व्यवस्थापन उपसमितिको संयोजकमा पुर्व अध्यक्ष गोविन्द प्रसाद गैरे, स्टल दर्ता, स्टल निर्माण तथा व्यवस्थापन उपसमितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष पदम जि.सी., सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा उद्योग उपाध्यक्ष केशव श्रीस रहेका छन् । यस्तै खाना तथा आवास व्यवस्थापन उपसमितिको संयोजकमा बाणिज्य उपाध्यक्ष यमलाल मरासिनी, अतिथि सत्कार व्यवस्थापन उपसमितिको संयोजकमा माया पाण्डे, सचिवालय व्यवस्थापन उपसमितिको संयोजक विजय आचार्य, आर्थिक व्यवस्थापन उपसमितिको संयोजक दिलीप शर्मा, सूचना तथा प्रचार व्यवस्थापन उपसमितिको संयोजक सौरभ भुसाल र परिचयपत्र व्यवस्थापन उपसमितिको संयोजक विनोद आचार्य रहेका छन् ।
त्यसैगरी व्यवसायिक संघसंस्था, राजनीतिक दल तथा सरकारी निकाय समन्वय व्यवस्थापन उपसमितिको संयोजक कृष्ण प्रसाद भुसाल, विज्ञापन व्यवस्थापन उपसमितिको संयोजक भरत अधिकारी, प्रवेशद्वार तथा मञ्च सजावट व्यवस्थापन उपसमितिको संयोजक न्याउद्दिन मियाँ, प्राथमिक उपचार व्यवस्थापन उपसमितिको संयोजक नारायण प्रसाद पाण्डे, यातायात व्यवस्थापन उपसमितिको संयोजक विनोद खाती, टिकट व्यवस्थापन उपसमितिको संयोजक विशाल पन्थी, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजक प्रशान्त बन्जाडे, पार्किङ व्यवस्थापन उपसमितिको संयोजक जीवन बुढाथोकी, प्रविधि तथा ¥याली व्यवस्थापन उपसमितिको संयोजक केशव पौडेल र प्रमाणपत्र तथा मायाको चिनो व्यवस्थापन उपसमितिको संयोजक तिलकराम पाण्डे रहेका छन् ।
यस्तै श्रव्यदृश्य व्यवस्थापन उपसमितिको संयोजक लक्ष्मण ज्ञवाली, खानेपानी तथा सरसफाइ व्यवस्थापन उपसमितिको संयोजक प्रकाश भण्डारी, बालउद्यान व्यवस्थापन उपसमितिको संयोजक भविष्यवर ढकाल, विद्युत तथा ऊर्जा व्यवस्थापन उपसमितिको संयोजक छविलाल खनाल, उद्घाटन तथा समापन व्यवस्थापन उपसमितिको संयोजक शुशिला खनाल, मञ्च व्यवस्थापन उपसमितिको संयोजक ज्योती सापकोटा, कानुनी परामर्श व्यवस्थापन उपसमितिको संयोजक अधिवक्ता दामोदर घिमिरे र समाचार सम्प्रेषण उपसमितिको संयोजक टी.आर. शर्मा रहेका छन् । आवश्यकता अनुसार थप उपसमिति पनि गठन हुने सचिव सौरभ भुसालले जानकारी दिए ।




