झपेन्द जिसी
तिज आयो घुम्दै फिर्दै हाम्रो घर आँगन
दिदीबहिनी नाचगान गथ्र्याे बजान ।
यसपालिको तिज अलिनो पो लाग्दैछ
मनबाट चाडपर्व पर भाग्दैछ ।
घर भनि जाम त नाम निशान छैन है
गरिबको जिन्दगिमा केही छैन है
माइत जाम् त माइती घर त्रिशुलीले बगायो
त्यति ठूलो बजार बस्ती कता बगायो
बाबा आमा बगिगए भाइ प¥यो पावर हाउस
यो दिदीले कता गई मीठो चोखौ खाउस !
बाढी पीडित पहिरो पीडित डोजर पीडित भए सि
तिज सिज चाहिएन भो खुशी गए सि
नआउ तिज फर्की फर्की चेलीलाई रुवाउन
बरा भन्ने कोही छैन आँसु चुहाउन
भदौ महिना कस्तो रैछ सुन सबै बयन
जनतालाई कसैगरी छैन चयन
बयासीमा घण्टी बज्यो सुशासनको घनन
काठमाडौं र देशैभरि अग्नि जलन ।
सिंहदरबार मात्र होइन भष्म भए धेरै घर
जीउन बाँच्न धेरैलाई हुन थाल्यो डर
सानासाना नानी बाबु विद्यार्थीलाई उचाले
लोन्ठे अनि भुसतिघ्रिलाई त्यहाँ पसाले
नानी बाबु यसै त्यसै अन्धधुन्ध मारिए
देशैभरि खरानीको थुप्रो पारिए
सरकार ढल्यो, सरकार बन्यो चुनाव पनि गराए
सुशासन र विकासको घण्टी बजाए ।
सुशासनका घण्टी बजे डोजर चले सरर
होल्डिङ सेन्टर खचाखच आँसु बररर !
त्रिरासीकोे भदउ १० मा दशा बनिन् प्रकृति
रसुवा र त्रिशुलीमा छैन संस्कृति
इञ्जिनियर कर्मचारी खाइहाल्यो बाढीले
गुहार भन्दै चिच्याई रह्यौं हामी नारीले
त्रिशुली र नुवाकोटका बजार पनि बगायो
स्कूल पढ्ने नानी बाबु सबै बगायो ।
रुवाबासी गरे पनि सुन्ने गुन्ने को थ्यो र ?
दया माया नभएसी कहाँ हुन्थ्यो र ?
चौरासीको भदउ महिना रुँदारुँदै जाने भो
कैले केले कैले केले देशै खाने भो
दिदी बहिनी दैवशतुर हामी माथि किन हो ?
होला होला भन्दाभन्दै जुनी जाने भो
आकाशमा जुनतारा धरतीमा आउला कि ?
यिनी हाम्रा आँसुले बाटो पाउला कि ?
तिज पर्व नारीहरूको पर्व हो । यो महान् पर्व हो । यो पर्व नारीहरुको भए पनि यसले पुरुषसमेतलाई प्रभावित गरिरहेको हुन्छ । नेपालमा यो पर्व प्रमुख रुपमा भाद्र द्वितीयाका दिन माइती मावली घरमा दिदीबहिनी, फूपू, भाञ्जीहरु समेतलाई आफ्नो घरमा निमन्त्रणा गरी मीठो चोखो चिल्लो भात विभिन्न प्रकारको तरकारी र अचार समयको परिवर्तनसँग घरघरमा खाद्य पदार्थको पर्याप्तका कारण माछा मासु, अण्डा समेत चेलीबेटीलाई खुवाउने प्रचलन रही आएको छ । यस्तै यस दिन रातिमा समेत खीर आदि परिकार खुवाइ चेलीबेटीलाई सम्मान गरिन्छ । यस दिनलाई एक भक्ति पनि भनिन्छ । यस दिन चेलीबेटीलाई अनिवार्य रुपमा तीन छाक खुवाउनुको अर्थ तृतीया (तिजका) दिन उपवास बस्ने महिलालाई ब्यालेन्स डाइट (दर) पुगोस् वा कमी नहोस् भन्ने रहेको छ ।
मूल विषय यस पर्वको अर्काे विशेषता भनेको नारीहरु घरघरमा जुटेर आँगनमा तिज लय र भाकामा गीत गाउनु नाच्नु हो । तिज गीतहरु लोक लयका हुन्छन नै, तर लोक गीतमा पनि तिजको लय फरक हुन्छ, विशेष प्रकारको हुने गर्दछ । गीतमा रत्यौली वा अन्य भाका हुँदैनन् । तर आजकाल तिज गीत र भाका लयका नाममा युटुबे महिला गायिकाहरुले रत्यौलीका शब्द र लय समेत राख्न थालेका छन् । यो विकृति र विकार हो । अन्तिम दिन पञ्चमीका दिन सप्तऋषिको पूजन गर्ने गरिन्छ । रजोवती भएका बेला छुवाछुत भएको भए सो पाप कटाउन पञ्चमी पूजन गर्ने संस्कृति विकास भएको धार्मिक मान्यता छ । नारीहरुले यो पूजन नगरे बह्महत्या पाप लाग्ने हरितालिका बताइएको छ ।
नारीहरुलाई ब्रह्म हत्या पापबाट जोगाउन पूजन गरेको हो भन्ने मान्यता छ । पञ्चमी पूजनको पौराणिक कथा छ । त्यो कथा यस्तो छ– छोटरीमा स्वर्गका देवराज इन्द्रले मत्र्य (पृथ्वी) पाताल विजय गरे छन् । त्रिलोकमा दिग्विजय गरेपछि राजाले राज सूय यज्ञ गर्नुपर्ने हिन्दु पुराणमा उल्लेख भए अनुसार इन्द्रले राज सूय यज्ञ गर्ने तयारी गरेछन् । आफ्ना राज गुरु वृहस्पतिलाई आमन्त्रित गरेछन् र उनकै सल्लाह अनुसार उनले राज यज्ञ गर्ने निधो भएछ । तोकिएकै दिन राज सूय यज्ञ शुभारम्भ गर्न वृहस्पति इन्द्रको दरबारमा गए छन् । इन्द्र उच्चासनमा बसेका रहेछन्, देव गुरु वृहस्पति पुग्दा गुरु वृहस्पतिलाई वास्ता पास्ता वा ढोग भेट नगरेको हुँदा गुरु कु्रध्द भए । मेरै सल्लाह बमोजिम तीन लोकको मालिक हुन बन्यो, तर आज मलाई अपमान गरेन ठानी त्यहाँ गुरु सुटुक्क हिंडेछन् ।
यता यज्ञ प्रारम्भ गर्ने बेला भयो । तर गुरुलाई खोज्दा गुरु छैनन् । अब के गर्ने लौ फसाद प¥यो भनी इन्द्रले ब्रह्मासित सल्लाह गर्दा फिक्री नगर त्वष्टा ऋषिका पुत्र विश्वरुप पण्डित महाज्ञानी पण्डित छन््, उनैलाई बोलाएर यज्ञ गर्ने सल्लाह दिए । यज्ञमा विश्व रुपलाई बोलाइयो । राज सूय यज्ञ गर्दै जाँदा इन्द्रलाई झल्यास सम्झना भयो– म यो अदितिको सन्तान, यो त दीतिको सन्तान दैत्य हो । कतै यसले गलत उच्चारण गरी इन्द्र कुलको स्वाहा भन्यो भने त आदित्य नर लोकहरु सबै स्वाहा हुने भए भन्ठानी इन्द्रले तरबार समातेर पण्डित विश्वरुप पण्डितको हत्या गरिदिए ।
काटन त इन्द्रले पण्डितलाई काटे, तर ब्रह्मा हत्या पाप लाग्यो भनी उनी एक वर्षसम्म दिनको भोक न रातको निद भई छटपटाइ रहे । ब्रह्मासित आफ्नो व्यथा बताउँँदा ब्रह्माले धत् यति सानो कुरामा पनि चिन्तित हुने ! म भरखरै ठिक गर्छु भने । ब्रह्माले हत्याको अपराध (पापी) लाई चार भागमा बाँडे ।
एक भाग पाप बोट बिरुवा नउम्रिने मरुभूमिमा, एक भाग पाप दलदले पानीमा, एक भाग पाप आगोमा र एक भाग पाप महिलाको रजमा फालिदिए । अब तिमी अपराध(पाप) मुक्त भयौं भनेछन् । त दुपरान्त हिन्दु महिलामा छाउ प्रथा रज बार्नु पर्ने प्रथा सुरु भयो ।
छाउ वा पन्छिएको बेला छुवाछुत गरे यो जुनीमा महा दुः पाइने, अर्काे जुनीमा कुकुर्नी सुंगुर्नी, ढोंडे कीरा आदि हुनुपर्ने । सात जुनीसम्म पापकुण्ड परिने हरितालिका ब्रथ कथामा विस्तृतमा लेखिएको छ । यसलाई झपेन्द्र जिसीले विशद विश्लेषणसहित तिज पर्वको सांस्कृतिक अध्ययन पुस्तक लेखेका छन् र नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको छ । खोजेर पढ्दा राम्रो होला ।
विश्वरूप पण्डितको हत्या गरे इन्द्रले
आफू निर्दोष बनाए इन्द्र जालैमा
पण्डितलाई मारे ब्रह्मालाई गुहारे
पाप हाम्लाई बोकाए ब्रह्मजालैमा
पण्डित मार्ने इन्द्र पापी हुन् कि धर्मात्मा
हेर हेर राधिका इन्द्रजालैमा
ब्रह्महत्या दोष नारीमाथि थोपर्ने ?
पापी हुन् कि धर्मात्मा ब्रह्माजालैमा
रजोवती हुनु प्रकृतिको नियम
पाप भन्छन् ब्रह्माले ब्रह्मजालैमा
फोहर मैला राख्ने नारी हैन गुह्यान
गुह्यान पो ठाने है ब्रह्मजालैमा
धान खाने मुसो चोट पाउने भ्याउतो
कस्तो निया निसाफ ब्रह्मजालैमा
ती इन्द्रको चाल छक्कापन्जा नौजाल
ख्याल गर सान्नानी इन्द्रजालैमा
ठूलालाई चैन सानालाई ऐन
कस्तो निया निसाफ ब्रह्मजालैमा
ब्रह्म इन्साफ गर्ने हत्यारालाई बचाउने
थोपो दया रैनछ ब्रह्मजालैमा
जसले गर्छ पाप, उसलाई लागोस् पाप
नखाको विष लाग्दैन ब्रह्मजालैमा
निष्कर्ष
हिन्दु धर्म सम्मिता भनेको ब्राह्मण जातिलाई विजय बनाउने रहेछ । त्यो कुरा ऋषिपञ्चमी व्रतबाट पुष्ठि भएको छैनत् ? रजस्वाला भएको बेलामा सरसफाइ गर्नु नारीहरुमा आवश्यक छ, तर रजस्वाला भएको बेलामा नारी जातिलाई अछुत भनी अपमान गर्ने संस्कार घिडित छ । रजस्वाला हुनु खुसी र प्राकृतिक कुरा हो । छोइछिटो भएमा छोइछिटोबाट पार पाउन पञ्चमी गरी ब्राह्मणलाई दान दक्षिणा गर्नुपर्छ भन्ने अवधारण महिलाहरुलाई आतंकित र दासी बनाउने संस्कारसँग सम्बन्धित छ । यस्तो संस्कार विश्वको हिन्दु धर्म बाहेक कुनै पनि धर्म संस्कारमा छैन । यसर्थ आफूलाई हिन्दु नारी भन्ने महिलालेत झनै बुझ्न जरुरी छ कि यो अवैज्ञानिक र अव्यवहारिक संस्कार आजैदेखि छोड्न जरुरी छ ।
यसो भनिरहँदा रमाइलो तिज पर्व संस्कृतिलाई परित्याग गर्ने बुझाई राख्नु हुँदैन यसको झनै जर्गेना गर्नु नारीहरुको विशेष दायित्व हुनुपर्छ ।




