नेपाल आयल निगमले पेट्रोलियम पदार्थ चोरी गरी पेट्रोल पम्पमा बिक्री गर्ने ट्याङ्कर चालक र सहचालकहरूलाई कारबाही गरेको छ । निगमको कुनै पनि डिपो कार्यालयमा आजीवन प्रवेश निषेध तथा निगमको करार सम्झौतामा सञ्चालनमा रहेका कुनै पनि ट्याङ्कर चलाउन नपाउने गरी कारबाही गरी तेल चोरीविरुद्ध निमर्म भएर अघि बढेको छ ।
रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपोका लागि भारतको अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ ल्याइन्छ । त्यहाबाट ल्याएका तीन वटा ट्याङ्करलाई भैरहवामा रहेको सराफ आयल स्टोर्समा तेल झिक्दै गरेको अवस्थामा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो । प्रहरीले एक जना सहचालक मसुद अजहर हुसेन र चालक दुर्गेश चाईलाई पक्राउ गरेपनि अरु फरार भएका छन् ।
पेट्रोलियम पदार्थ चोरी गरी पेट्रोल पम्पमा झिक्दै गरेका तिन वटै ट्याङ्करलाई निगमको ढुवानी बिनियमावली २०७३ को विनियम १७ र १७ घ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको छ । अनधिकृत रूपमा पेट्रोलियम पदार्थ निकालिएको भेटिएपछि ट्याङ्कर धनी, चालक, सहचालक र पेट्रोल पम्प सञ्चालकलाई निगमको नियमअनुसार कारबाही गरेर गरेको छ । जस अनुसार अनधिकृत रूपमा पेट्रोलियम पदार्थ खरिद गर्ने भैरहवाको सराफ आयल स्टोर्सलाई नेपाल आयल निगम लिमिटेड बिक्रेता नियमावली २०७५ को विनियम २९ र ३३ बमोजिम एक लाख रुपैयाँ जरिवाना र ६ महिना सम्म आपूर्ति बन्द गरिने छ ।
उक्त आयल स्टोर्स मंगलबारदेखि नै शील भइसकेको छ । पेट्रोलियम चोरी गर्दागर्दै नियन्त्रणमा लिएका तीन बाहेक अरु चालक सहचालक पनि चोरीमा संलग्न भएका हुन सक्छन् । पक्राउ गरेका व्यक्तिले यस अघि पनि पटक पटक चोरी गरेका हुन सक्छन् । ती सबैको अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउनुपर्छ । नेपाल आयल निगमले ढुवानीका क्रममा पेट्रोलियम पदार्थ चोरी तथा अनधिकृत रूपमा बिक्री हुन नदिन ट्याङ्करमा विशेष शील तथा तालाबन्दी गर्ने व्यवस्था गरेको छ । यस्तो शील लोडिङ र अनलोडिङ हुने निर्धारित स्थानमा मात्र खोल्न मिल्ने हुन्छ । यति हुँदाहुँदै चोरी कसरी सम्भव भयो ? निगमका कर्मचारीको समेत संलग्नता वा मिलेमतो हुन सक्ने भएकाले कमजोरी भए निगमका कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ । पेट्रोल ढुवानी गर्ने टयाङकरबाटै चोरी भएको यो घटना नयाँ होइन्, विगतमा पनि यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गरिएको थियो । अहिले पुुनः संगठित गिरोह लागेको फेला परेकोले आगामी दिनमा यस्तो गलत काममा लाग्नबाट निरुत्साहित गर्न सरकार निमर्म बन्नुपर्छ । कानुनको पालना र कार्यान्वयन गर्न सक्दा कमजोरी गर्नेहरु कानुनी फन्दामा पर्छन् । कमजोरी गर्नेलाई कारबाहीको दायरामा ल्याउँदा मात्रै बजारमा मौलाएको मनपरीतन्त्र कमजोर हुँदै जान्छ ।




