बुटवल । महर्षि पाणिनिको योगदान, पाणिनि तपोभूमिको ऐतिहासिक तथा सांस्कृतिक महत्व र संस्कृत भाषाको संरक्षण एवं प्रवद्र्धनका विषयमा बहस तथा विमर्श गर्दै महर्षि पाणिनि तपोभूमि बृहत् ज्ञान महोत्सव २०८३ आज बुटवलमा सम्पन्न भएको छ ।
पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा सम्वद्र्धन उपसमिति रुपन्देहीको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहकार्यमा भएको महोत्सवमा पाणिनिको योगदान, अष्टाध्यायी व्याकरण, संस्कृत भाषा, पाणिनि तपोभूमिको ऐतिहासिक तथा पुरातात्विक महत्व, पर्यटन विकास र पाणिनि सर्किटलगायतका विषयमा विज्ञ तथा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्दै विमर्श गरेका थिए ।
महोत्सवलाई सम्बोधन गर्दै श्री १००८ स्वामी लोकानन्द सरस्वतीले महर्षि पाणिनिको योगदान र तपोभूमिको विकासका लागि ‘पाणिनि विकास कोष’ निर्माण गर्नुपर्ने माग गरे । पाणिनिसँग जोडिएको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि राज्यको प्राथमिकता आवश्यक रहेको बताउँदै उनले छुट्टै विकास कोष निर्माण गरेर योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
उनले पाणिनिको योगदान केवल संस्कृत व्याकरणमा मात्र सीमित नरहेको उल्लेख गर्दै भाषा, ज्ञान, दर्शन र विश्व बौद्धिक परम्परामा पाणिनिको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताए । पाणिनि तपोभूमिलाई अध्ययन, अनुसन्धान र पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रतिष्ठानसम्बन्धी विधेयक आगामी प्रदेशसभा अधिवेशनमा प्रस्तुत गरी कार्यान्वयनतर्फ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । प्रदेशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि कानुनी तथा संस्थागत आधार आवश्यक रहेको उनले बताए ।
सभामुख घर्तीले पाणिनि तपोभूमिसहित प्रदेशका महत्वपूर्ण सम्पदालाई व्यवस्थित ढंगले संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । यस्ता विषयमा प्रदेश सरकार, स्थानीय तह, विज्ञ तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले अर्घाखाँची धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र रहेको बताए । पाणिनिसँग सम्बन्धित ऐतिहासिक तथ्य र योगदानबारे अझै धेरै मानिसलाई जानकारी गराउन आवश्यक रहेको उल्लेख गर्दै उनले पाणिनिको नाम र योगदानलाई व्यापक रूपमा स्थापित गर्न ज्ञान महोत्सवजस्ता कार्यक्रम फलदायी हुने बताए ।
उनले पाणिनि तपोभूमि र त्यससँग जोडिएका धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने धारणा राखे । पाणिनिको योगदानलाई शैक्षिक, सांस्कृतिक र पर्यटन क्षेत्रसँग जोडेर अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले अर्घाखाँचीस्थित पाणिनि तपोभूमिको विकासमा बुटवल उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । पाणिनि तपोभूमिको विकासलाई केवल एउटा स्थानको विकासका रूपमा नभई भाषा, संस्कृति, इतिहास र पर्यटनसँग जोडेर अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

१६ कार्यपत्रमा पाणिनिका विविध आयाममाथि विमर्श
ज्ञान महोत्सवमा पाणिनि र अष्टाध्यायीका विभिन्न पक्षदेखि तपोभूमिको संरक्षण, पर्यटन र आधुनिक विज्ञानसम्मका विषयमा १६ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
शिक्षाविद् उत्तरकुमार पराजुलीले ‘पाणिनि यज्ञवल्क्य शिक्षामा प्रकृतिसँगको तादात्म्य र लिनुपर्ने शिक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गरे । लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषिराम आचार्य ‘आजाद’ले ‘पाणिनि तपोभूमि र सांस्कृतिक राष्ट्रवाद’ विषयमा धारणा राखे ।
संस्कृत रत्न कृष्णप्रसाद कोइरालाले ‘पाणिनिको काव्यिक वैशिष्ठ्य’ तथा नेपाल संस्कृत विश्वविद्यालयका अष्टाध्यायी व्याकरणविद् कृष्णप्रसाद भण्डारीले ‘पाणिनि विरचित अष्टाध्यायी र त्यसको महत्व’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।
पूर्ववरिष्ठ अधिकृत टोपलाल शर्माले ‘पाणिनि र पणेना अन्तरसम्बन्धको विश्लेषण’ विषयमा प्रस्तुति दिँदै पाणिनिसँग जोडिएका स्थान र ऐतिहासिक सम्बन्धबारे चर्चा गरे । वरिष्ठ पत्रकार तथा पर्यटनविद् डि.आर. घिमिरेले ‘पाणिनि तपोभूमिः ऐतिहासिक आधार, अनुसन्धान र भावी सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।
वन विज्ञ धनञ्जय पौडेल र सांगर बेल्वासेले ‘बृहत् पाणिनि सर्किट अवधारणा : दिगो विकासका आधारहरू’ विषयमा प्रस्तुति दिए । नेपाल नाट्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष डा. नारायणप्रसाद पन्थले ‘वैयाकरण महर्षि पाणिनिको योगदानको रूपरेखाङ्कन’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।
सञ्चारविद् डा. बालकृष्ण चापागाईंले ‘पाणिनि संस्कृत व्याकरण र भाषिक सञ्चारका प्रणेता’ तथा दर्शनाचार्य मुकुन्दराज पोखरेलले ‘पाणिनि अष्टाध्यायदेखि आधुनिक कम्प्युटरसम्म’ विषयमा आफ्ना धारणा राखे ।
त्यसैगरी प्रा.डा. मोहनप्रसाद पन्थीले पाणिनि तपोभूमि वरपरका सुनगाभा तथा महत्वपूर्ण रूख र औषधी’, संस्कृतिविद् राजेन्द्रकुमार आचार्यले ‘व्यक्तित्व कृतित्वको आलोकमा पाणिनि’ तथा पुरातत्वविद् रामप्रसाद भट्टराईले ‘पाणिनि तपोभूमि पुरातात्विक संरक्षणको सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।
सह–प्राध्यापक लिलबहादुर केसीले ‘अष्टाध्यायीको प्रत्याहार सूत्र र बीजगणितीय अल्गोरिदम’, पुरातत्त्व विभागका शाखा अधिकृत विष्णु घर्तीले ‘पाणिनिको ज्ञान दर्शनको आलोकमा नेपाली बहुजातीय समाज र राजनीति’ तथा डा. श्यामप्रसाद न्यौपानेले ‘अष्टाध्यायीमा महिलाको सामाजिक अवस्था’ विषयमा प्रस्तुति दिए ।
दुई कृति लोकार्पण
महोत्सवकै अवसरमा संस्कृतिविद् राजेन्द्रकुमार आचार्यको ‘हाम्रा अमूर्त सांस्कृतिक सम्पदा’ र संस्कृत भाषा रत्न कृष्णप्रसाद कोइरालाको ‘संस्कृत–संस्कृति’ कृतिको लोकार्पणसमेत गरिएको थियो ।
स्वामी लोकानन्द सरस्वतीजी महाराज, बाबा योगीराजजी तथा कार्यक्रममा उपस्थित अतिथिहरूले दुवै कृतिको लोकार्पण गरेका थिए । कृतिले नेपाली समाजका अमूर्त सांस्कृतिक सम्पदा तथा संस्कृत भाषा र संस्कृतिसम्बन्धी विषयलाई अध्ययन र बहसका लागि थप सामग्री उपलब्ध गराउने विश्वास व्यक्त गरिएको थियो ।
पाणिनि तपोभूमिलाई अध्ययन र पर्यटनको केन्द्र बनाउने बहस
कार्यक्रममा सहभागी वक्ताहरूले पाणिनि तपोभूमिको विकासका लागि अनुसन्धान, पूर्वाधार, प्रचारप्रसार र संरक्षणलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए । पाणिनिको योगदानलाई केवल संस्कृत व्याकरणको इतिहासमा सीमित नराखी शिक्षा, भाषा, सञ्चार, प्रविधि, दर्शन, पर्यटन र सांस्कृतिक अध्ययनसँग जोड्नुपर्ने धारणा कार्यक्रममा प्रस्तुत भयो ।
पाणिनि तपोभूमिलाई केन्द्रमा राखेर ‘पाणिनि सर्किट’ विकास गर्न सके अर्घाखाँचीसहित लुम्बिनी प्रदेशका विभिन्न धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई जोड्न सकिने सम्भावनाबारे पनि कार्यक्रममा छलफल भएको थियो ।
पाणिनिको जन्मभूमि तथा तपोभूमिको संरक्षण र विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँगै अनुसन्धानकर्ता, संस्कृतिविद्, पुरातत्वविद्, पर्यटन व्यवसायी तथा स्थानीय समुदायको सहकार्य आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए ।
पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा सम्वद्र्धन उपसमिति रुपन्देहीको आयोजनामा भएको महोत्सवको अध्यक्षता उपसमितिका संयोजक तथा बुटवलका पूर्वमेयर पुनाराम पोखरेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन साहित्यकार ऋषि आजादले गरेका थिए ।




