बुटवल । विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित विकास खाद्य उद्योगको बिक्री केन्द्र तिलोत्तमा ड्राईभरटोलमा खुलेको छ। संस्थाका सल्लाहकार होमराज बस्यालले सोमबार आफ्नै भवनमा स्थापना गरिएको बिक्री केन्द्रको उद्घाटन गरेका हुन्।

सहकारीको आफ्नै मिलबाट उत्पादित तेल, पिठो लगायतका खाद्य सामग्री सस्तो तथा सुलभ दरमा उपलब्ध गराउने उद्देश्यले बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो। बिक्री केन्द्रमा नेपाली तथा अर्गानिक उत्पादनसमेत बिक्रीका लागि राखिएको छ।
बिक्री केन्द्र उद्घाटन कार्यक्रममा सहकारी संस्थाहरू बलियो बन्दै जाँदा त्यसको लाभ सदस्यसँगै समग्र समाजले पाउनेमा जोड दिइएको थियो। सहकारीले बचत तथा ऋणको कारोबारमा मात्रै सीमित नभई उत्पादन, प्रशोधन र बजारीकरणमा समेत लगानी गर्न सके स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय वस्तु उपलब्ध गराउन सहयोग पुग्ने बताइएको थियो।

करिब ३५ वर्षअघि स्थापना भएको विकास बहुउद्देश्यीय सहकारी संस्था रूपन्देहीका पुराना सहकारीमध्ये एक हो। संस्थामा हाल २ हजार २ सयभन्दा बढी सदस्य आबद्ध रहेको मोहन चापागाईंले जानकारी दिए।
झन्डै एक अर्ब रुपैयाँ बचत परिचालन भइरहेको जनाइएको छ। संस्थाले भृकुटी विकास बैंकको स्थापनामा समेत भूमिका खेलेको बताइएको छ।
सहकारीका अध्यक्ष मित्रबन्धु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामचन्द्र भुसालले सञ्चालन गरेका थिए।

आफ्नै भवनमा बिक्री केन्द्र सञ्चालनमा आएसँगै सहकारीले उत्पादन गरेका खाद्य सामग्रीलाई आफ्नै बिक्री कक्षमार्फत उपभोक्तासम्म पुर्याउने व्यवस्था भएको छ।
सहकारी संस्थाहरूले वित्तीय कारोबारसँगै उत्पादन तथा बजारीकरणलाई प्राथमिकता दिन सके स्थानीय स्रोतसाधनको उपयोग, उत्पादकलाई बजार र उपभोक्तालाई सहज मूल्यमा वस्तु उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।




