जल तथा मौसम विज्ञान विभागले असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने प्रक्षेपण सार्वजनिक गरेको छ । विभागले मौसम पूर्वानुमानका विभिन्न मोडलहरू अध्ययन पश्चात पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै आगामी बिहीबारदेखि सोमबारसम्म भारी वर्षा हुने प्रक्षेपण गरेकाले सर्तकता आवश्यक छ ।
बंगालको खाडीमा न्यूनचापीय प्रणाली बनिरहेको र त्यो नेपालसम्म आइपुगेर भारी वर्षा गराउन सक्ने मौसम पूर्वानुमानका विभिन्न मोडलहरूले देखाएको र तीमध्ये आगामी शुक्रबार ९ गते र शनिबार १० गते ठूलो पानी पर्ने बताइएको छ ।
विभिन्न मोडलहरुको विश्लेषण गर्दै विभागले क्षति न्यूनीकरणको लागि सर्तकताका लागि सचेत गराएको छ । अमेरिकन मोडलले बिहीबारदेखि सोमबारसम्म धेरै लामो समयसम्म पानी पर्न सक्ने देखाएको छ।युरोपेली मोडलले भने पश्चिम नेपालमा भारी वर्षाको सम्भावना प्रबल देखाएको छ । बागमती, मधेशबाट सुरु भएर पश्चिम नेपालमा धेरै वर्षा हुने र धेरैवटा मोडलले ५०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना देखाएको छ । यो भनेको भारी वर्षा हो । मनसुनको उत्तराद्र्धमा भारी वर्षा हुँदा जोखिम बढी हुन्छ । पहिल्यै भिजेको जमिनमा लामो समय वर्षा हुँदा त्यसले बाढी पहिरो निम्त्याउँछ । अर्को जोखिम प्रणाली सुस्त गतिमा अगाडि बढ्यो भने पनि लामो समयसम्म पानी पर्दा पनि बाढी पहिरो निम्त्याउन सक्ने विज्ञहरुको भनाइ छ ।
यो बेला बाली भित्र्याउने बेला पनि हो । तराईका कतिपय क्षेत्रमा धान काट्ने गरिन्छ । पाकेको धान काट्न किसानलाई हतारो हुन्छ । २०७८ कार्तिक पहिलो साता भएको भिषण वर्र्षाले कृषि क्षेत्रमा ठूलो नोक्सानी भएको थियो । त्यो वर्षाले लुम्बिनी प्रदेशमा मात्रै ८ अर्बको कृषि जन्य उत्पादन क्षति भएको थियो । सबैभन्दा बढी भित्र्याउन तयार भएको धानमा क्षति पुगेको थियो । अहिले ठ्याक्कै त्यही अवस्था आएको छ । मौसमको पूर्वानुमानलाई ख्याल गरेर खेतीपाती लगाउने र भित्र्याउेन बानी विकास गर्न आवश्यक छ । अहिले पनि भारी वर्षा लुम्बिनी प्रदेशमा हुने प्रक्षेपण गरिएकाले यहाँ पूर्वतयारी र सर्तकता आवश्यक छ । विपद्विरुद्ध पूर्व तयारी, विपद्पछिको उद्धार र राहतका लागि तयारी गर्दा क्षति न्यूनीकरण गर्न सकिन्छ । हामीकहाँ विपद्को पूर्व तयारी अझै पर्याप्त छैन । स्रोत साधन र प्रविधिको प्रयोग धेरै गर्नुपर्नेछ, तर स्रोत, साधन र प्रविधिको प्रयोग न्यून हुँदा क्षति धेरै हुँदै आएको छ । संघीय शासन प्रणालीमा तहगत सरकारबिच समन्वय र सहकार्य हुँदा विपद्विरुद्ध जुध्न सहज हुन्छ ।




