बुटवलमा प्याराग्लाइडिङ उडानको सफल परीक्षणले व्यवसायिक उडानको ढोका खुलेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ नुवाकोट डाँडाबाट बुटवल उप–महानगरपालिका–१३ बेलबास बँदेलपोखरी जितेश्वरी मावि क्षेत्रसम्म प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । एक दशकअघि नै बुटवलमा सम्भाव्यता अध्ययन थालिएको थियो । अहिले भएको सफल उडानपछि व्यवसायिक उडान गराउन सक्दा पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ ।
लुम्बिनी मुलुककै पर्यटनको केन्द्र हो । बुटवलमा पछिल्ला वर्ष पर्यटन पूर्वाधार बनिरहेका छन् । सुविधासम्पन्न होटल, दुई वटा केबुलकार, भैरहवा–बुटवल एक्सप्रेस सडक, बुटवल–नारायणगढ सडक विस्तार, सिद्धबाब सुरूङमार्ग, अंग्रेज फौजलाई हराएको जितगढी किल्लामा पूर्वाधार विकासले यहाँ अब पर्यटक आकर्षित गर्ने कार्यक्रम आवश्यक छ । प्याराग्लाइडिङले यहाँको पर्यटन विकासलाई बल पु¥याउन सक्छ । पर्यटनमा नयाँ–नयाँ सम्भावनाको खोजी हुनुपर्छ । नयाँ संभावनाको खोजीका लागि युवा व्यवसायीको पहलकदमी प्रशंसनीय छ ।
लुम्बिनी इगल एअर एडभेन्चर प्रा.लि.ले आइतबार स्याङ्जाको बाबु एडभेन्चर प्याराग्लाइडिङको प्राविधिक सहयोगमा गरेको सफल उडानले लुम्बिनी आउने तेस्रो मुलुकका र भारतीय पर्यटकका लागि आकर्षित गर्न सक्छ । सुन्दर तराईको फाँट, सुन्दर बुटवल शहर र तिनाउ नदी, चुरेको घना जंगलको दृश्यावलोकन गर्दै प्याराग्लाइडिङको आनन्द लिन सकिन्छ । बुटवलमा प्याराग्लाइडिङ सञ्चालनमा आएमा यसले लुम्बिनी प्रदेशको साहसिक पर्यटनको दायरा पनि विस्तार गर्नेछ । लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई बुटवल–पाल्पा क्षेत्रको प्राकृतिक तथा साहसिक पर्यटनसँग जोड्न सकेमा यस क्षेत्रको पर्यटन व्यवसायमा थप विस्तार हुनेछ ।
यहाँ प्याराग्लाइडिङको सफल उडान गरेर बुटवलको पहिचान बदल्ने प्रयास पनि भएको छ । बुटवललाई व्यापारिक र औद्योगिक शहरको रुपमा चिनिन्छ । पर्यटकीय स्थल भएर पनि प्रचारप्रसार नहुँदा यहाँ पर्यटन ओझेलमा प¥यो । पूर्वाधार विकास र प्रवद्र्धनका कार्यक्रमले बुटवललाई पर्यटकीय शहरका रुपमा पहिचान बदल्दै छ । तराई र पहाडको संगम बुटवल मुलुकको लाइफलाइन महेन्द्र राजमार्ग र सिद्धार्थराजमार्गको मिलनविन्दु पनि हो । भारतीय सीमावर्ती शहर गोरखपुरदेखि यहाँसम्मको सडक पूर्वाधार गुणस्तरीय रहेकोले छोटो समयमै यहाँ आउन सकिन्छ ।
अब प्याराग्लाइडिङको व्यवसायिक उडानका लागि ढिलाइ गर्न हुन्न । व्यवसायीको उत्साहमा राज्य सहयोगी बन्नुपर्छ । अनेक सरकारी झण्झट हटाएर पर्यटकमैत्री वातावरण बनाउन सरकार सधैँ अग्रसर हुने हो भने यहाँ पर्यटकीय गतिविधि चलायमान हुन्छ । पर्यटकीय गतिविधि चलायमान हुन अर्थतन्त्र चलायमान हुनेभएकाले त्यसको लाभ मुलुकले पाउँछ ।




