परासी । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा कुटपिटबाट घाइते भएका ३० वर्षीय संजय गुप्ताको उपचारका क्रममा मृत्यु भएको छ । सामान्य विवादपछि भएको कुटपिटमा गम्भीर घाइते भएका गुप्ताको भैरहवा, रुपन्देहीस्थित मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
प्रहरीका अनुसार २०८३ साल भदौ २९ गते साँझ करिब ६ः४० बजे संजय गुप्ता मदिरा सेवन गरी सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका थिए । सो क्रममा संजय र सुनिलबीच सामान्य विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि सुनिल प्रसाद गुप्ताले संजयमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी डिएसपि मदन थापाले जानकारी दिए ।
कुटपिटका क्रममा संजयको दाहिने कानमा भित्री चोट लागेको थियो । चोटका कारण कानबाट रगतसमेत बगेपछि उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल परासी लगिएको थियो । जिल्ला अस्पतालमा प्रारम्भिक तथा सामान्य उपचारपछि थप उपचार आवश्यक देखिएपछि चिकित्सकले उनलाई भैरहवा, रुपन्देहीस्थित मेडिकल कलेजमा रिफर गरेका थिए ।
घटनापछि प्रहरीले कुटपिटमा संलग्न भनिएका सुनिल प्रसाद गुप्तालाई नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा लिएर घटनाको कारण, कुटपिटको अवस्था तथा मृत्युको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी थापाले बताए ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै संलग्न व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
अनुसन्धान पूरा भएपछि घटनाको वास्तविक अवस्था र कानुनी कारबाहीबारे थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।




