पाल्पा
बाईसे–चौबीसे राज्य हुँदै मगराँत र सेन राज्यको ऐतिहासिक पहिचान बोकेको पाल्पाको तानसेनलाई मध्यकालीन शहरका रूपमा विश्वसामु परिचित गराउने गरी काम अघि बढाइएको छ । तानसेनमा रहेका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा जीवनशैलीसँग जोडिएका सम्पदाको खोज, पहिचान, संरक्षण र व्यवस्थापन गर्दै शहरको मौलिक ऐतिहासिक पहिचान स्थापित गर्ने उद्देश्यले पुरक एसिया काठमाडौँ र पाल्पा विकास केन्द्रले सरोकारवालाबिच छलफल तथा परामर्श गरेको हो ।
तानसेन क्षेत्रमा मध्यकालसँग सम्बन्धित विभिन्न संरचना, धार्मिकस्थल, बस्ती, परम्परा, कला, संस्कृति तथा जीवनशैलीका अवशेष अझै पनि जीवित रहेका छन ् । मध्यकालिन ऐतिहासिक तथा सांस्कृतिक सम्भावनालाई मध्यनजर गर्दै सन् २००८ मा तानसेनलाई मध्यकालीन शहरको रुपमा युनेस्कोले सम्भावित विश्व सम्पदा सूचीमा समावेश गरेको गरिएको थियो, हालसम्म सम्भावित सूची कायम रहेकोले स्थायी रुपमै विश्व सम्पदा सूचीमा लैजान तानसेनका सम्पदाको व्यवस्थित अध्ययन, प्रमाणिकरण, संरक्षण, व्यवस्थापन र दीर्घकालीन योजनाको लागी सरोकारवाला संग छलफल तथा परामर्श गरिएको हो ।
छलफलमा विषय विज्ञ, अनुसन्धानकर्ता भुवन केसीले तानसेनलाई मध्यकालीन शहरका रुपमा स्थापित गर्न, मध्यकालीन शहरको पहिचान कायम गर्न शहरको ऐतिहासिक संरचना, बस्तीको स्वरूप, पुराना बाटो, धार्मिक तथा सांस्कृतिक स्थल, पानीका स्रोत, परम्परागत निर्माण शैली, उत्पादन प्रणाली र तत्कालीन सामाजिक तथा सांस्कृतिक जीवनसँग जोडिएका प्रमाणहरूको व्यवस्थित खोज र अभिलेखीकरण आवश्यक रहेकोले नगरपालिकाले सोहीअनुसारको कामलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताए । उनले मध्यकालीन संरचना तथा वस्तुको खोजी र पहिचानसँगै भेटिएका सम्पदाको संरक्षण, पुनःस्थापना तथा तिनलाई जीवन्त बनाउने योजना बनाउनुपर्ने जनाए । भेटिएका मध्यकालिन ‘सम्पदा स्थानीय समुदायको जीवनसँग जोडेर कसरी जीवन्त राख्ने भन्ने विषय पनि महत्वपूर्ण रहेको उनले जोड दिए ।
उनले मध्यकालीन शहरको पहिचान स्थापित गर्न इतिहासविद्, पुरातत्वविद्, संस्कृतिविद्, वास्तुविद् तथा अन्य विषयगत विज्ञसँग नियमित परामर्श आवश्यक रहेको अनुसन्धानकर्ता केसीले बताए । यसका लागि स्थानीय तहले दीर्घकालीन कार्ययोजना, स्पष्ट नीति र आवश्यक कानुनी संरचना बनाउनुपर्ने उनले जोड दिए ।
अनुसन्धानकर्ता केसीले पुरातत्व विभाग, युनेस्को तथा संस्कृति मन्त्रालयलगायतका सम्बन्धित निकायसँग नियमित समन्वय र परामर्श गरेर अघि बढेमा मात्र तानसेनलाई मध्यकालीन शहरको रुपमा विश्वसम्पदा सूचीमा सूचीकरण गर्न सकिने बताए ।
इतिहास तथा संस्कृतिविद् निर्मल श्रेष्ठले तानसेनको मध्यकालीन पहिचान तानसेनको रहनसहन, भेषभूषा, खानपान, बसोबासको शैली, कला–संस्कृति, धर्मकर्म, जात्रा तथा परम्परा, मन्दिर तथा मूर्ति, पुराना बस्ती र खेतीपाती प्रणालीसमेत अध्ययनको विषय रहेको बताए । तानसेनमा अझै पनि मध्यकालीन जीवनशैलीका धेरै अवशेष भेटिन्छन् । ती अवशेषको खोज, अनुसन्धान र अभिलेखीकरण गर्न आवश्यक रहेको सस्कृतिविद श्रेष्ठले बताए । तानसेन र आसपासका क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक स्थललाई पनि समग्र ऐतिहासिक भूगोलका रुपमा अध्ययन गर्नुपर्ने, रिडीको रूरू क्षेत्रधाम, तानसेनको रणउजीरेश्वरी भगवती मन्दिर, अमरनारायण मन्दिर तथा प्रभासको मणिमुकुन्देश्वर महादेव मन्दिर तथा मन्दिर भित्रका संरचना मूर्तिहरु मध्यकालीन रहेकोले त्यसको अझै खोज अनुसन्धान जरुरी रहेको संस्कृतिविद् श्रेष्ठले जोड दिए ।
मध्यकालीन शहरको पहिचान तत्कालै स्थापित हुने विषय नभएको भन्दै संस्कृतिविद् श्रेष्ठले नगरपालिकाले यसलाई दीर्घकालीन अभियानका रुपमा अघि बढाउनुपर्ने बताए । त्यसका लागि स्पष्ट नीति तथा कार्यक्रम ल्याएर पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, नगरपालिकाभित्र सम्पदा संरक्षण तथा अनुसन्धानका लागि छुट्टै संरचना वा युनिट बनाउनुपर्ने र पुरातत्व विभाग तथा युनेस्कोलगायतका निकायसँग निरन्तर समन्वय गर्नुपर्ने इतिहासविद श्रेष्ठको सुझाव दिए ।
ऋषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले तानसेनको मध्यकालीन इतिहास अध्ययन गर्दा, सेनकालमा निर्माण भएको अर्गलीका सिँचाइ कुलो, अर्गली फाँट तथा त्यस आसपासका पुराना बस्तीलाई समेत ऐतिहासिक अध्ययनको दायरामा समेट्नुपर्ने सुझाव दिए । तत्कालीन समयमा निर्माण गरिएका सिँचाइ प्रणाली, खेतीयोग्य जमिनको उपयोग, बस्ती विकास र स्थानीय उत्पादन प्रणालीले त्यसबेलाको सामाजिक तथा आर्थिक अवस्थाबारे महत्वपूर्ण जानकारी दिनसक्ने अध्यक्ष भट्टराईले जोड दिए ।
छलफलमा लुम्बिनी प्रदेश सरकारका पूर्वसचिव इञ्जिनियर भीमार्जुन पाण्डेले ऐतिहासिक सम्पदा संरक्षण गर्दा स्थानीय समुदायको आर्थिक तथा सामाजिक जीवनलाई जोड्न सके मात्र तानसेनको मध्यकालीन पहिचान दीर्घकालसम्म कायम राख्न सकिने बताए ।
छलफलमा पर्यटनविद् मनमोहन श्रेष्ठ, पत्रकार एवं तानसेन नगर प्रज्ञा प्रतिष्ठानका पदम न्यौपाने तथा अनुसन्धानकर्ता पुष्कर रेग्मीलगायतले तानसेनलाई मध्यकालिन शहरको रुपमा पहिचान दिलाउन ऐतिहासिक सम्पदाको विस्तृत खोज तथा अनुसन्धानमा नगरपालिकाले प्राथमिकता दिनुपर्ने बताए ।
उनीहरूले तानसेनको इतिहासलाई एउटा निश्चित कालखण्डमा मात्र सीमित गर्न नहुन, मध्यकालीन संरचनासँगै शाहकाल राणाकालमा निर्माण भएका भवन तथा अन्य ऐतिहासिक संरचनामा मध्यकालीन सीप, शैली, संरचना, प्रविधि प्रयोग भएकोले ती बस्तुहरु समेत समावेश गर्न सकिने वक्ताहरुको भनाइ रहेको छ । मध्यकालीन बस्तुको पहिचान, अध्ययन र संरक्षण आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
तानसेनमा समयक्रममा निर्माण भएका विभिन्न संरचना अहिले तीव्र शहरीकरण, अव्यवस्थित निर्माण तथा पुराना संरचनाको स्वरूप परिवर्तनका कारण जोखिममा पर्न सक्ने भन्दै उनीहरूले सम्पदाको सूचीकरण र संरक्षणसम्बन्धी स्पष्ट मापदण्ड बनाउनुपर्नेमा वक्ताहरुले जोड दिए ।
सरोकारवालाले तानसेनलाई मध्यकालीन शहरका रुपमा विकास गर्ने अभियानलाई नगरपालिकाको दीर्घकालीन विकास नीतिसँग जोड्नुपर्ने, सम्पदाको खोज तथा पहिचानपछि त्यसको वैज्ञानिक अभिलेखीकरण, संरक्षण, पुनःस्थापना, स्थानीय समुदायको सहभागिता, सम्पदा क्षेत्र तथा सूचना प्रणालीको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् । यसका लागि नगरपालिकाले सम्पदा संरक्षणसम्बन्धी छुट्टै नीति तथा कानुनी व्यवस्था गर्दै हरेक वर्षको बजेट र कार्यक्रममा आवश्यक रकम सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ ।
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनलाई विश्व सम्पदा सूचीमा समावेश गराउने दिशामा काम अघि बढाइएको बताए ।
नले तानसेनको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पर्यटन विकासमार्फत् स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउने लक्ष्य रहेको बताए ।
तानसेनलाई मिध्यकालीन शहरको विश्वभर चिनाउन, संसारभरबाट पर्यटक भित्राउन र पर्यटकीय गतिविधिमार्फत् आर्थिक चलायमान बनाउन विश्व सम्पदा सूचीमा समावेश गराउने गरी काम सुरु गरिएको नगर प्रमुख श्रेष्ठले बताए । मध्यकालीन शहरको संरक्षण र विकासका लागि आवश्यक ऐन, नियम, कानुन तथा संस्थागत संरचना निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राखेको उनले जनाए ।
तानसेनको ऐतिहासिक पहिचानलाई व्यवस्थित रुपमा स्थापित गर्न सम्पदाको खोज तथा अनुसन्धान, अभिलेखीकरण, संरक्षण र व्यवस्थापनका साथै सम्बन्धित सरकारी निकाय, विज्ञ तथा अन्तर्राष्ट्रिय संस्थासँग समन्वय गरेर अघि बढ्ने नगर प्रमुख श्रेष्ठले बताए ।
विश्व सम्पदा सूचीमा पुग्ने प्रक्रिया लामो र मापदण्डमा आधारित हुने भएकाले सम्भावित सूचीमा रहेको तानसेनलाई वास्तविक विश्व सम्पदा सूचीसम्म पु¥याउन स्थानीय तह, पुरातत्व विभाग, संस्कृति मन्त्रालय, युनेस्को, विज्ञ तथा स्थानीय समुदायबीच निरन्तर सहकार्य आवश्यक हुने देखिएको छ ।




