पाल्पा । अविरल वर्षापछि आएको पहिरोले पाल्पाको रिब्दीकोट गाउँपालिका–६ धुस्टुङ्ग गोलफानका दुई वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् जसमा एक महिला बेपत्ता भएकी छन् ।
बुधबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण शुक्रबार दिउँसो करिब २ः४५ बजे धुस्टुङमा पहिरो खसेको हो । पहिरोले रिब्दीकोट गाउँपालिका–६ गोलफानका केसुराम सारु मगर र रामबहादुर उचैको तीनतले कच्ची घर पूर्णरूपमा क्षति भएका छन् ।
घरभन्दा माथिबाट निर्माण गरिएको नयाँ मोटरबाटोबाट ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि दुवै घरमा क्षति पुगेको हो । पहिरोका कारण केसुराम सारु मगरको श्रीमती ५९ वर्षीया कृष्णकुमारी सारु बेपत्ता भएको वडा अध्यक्ष प्रकाश रायमाझीले बताए ।
केसुरामको परिवारका चार सदस्य रहेकोमा श्रीमती कृष्णकुमारी पहिरोमा परेर बेपत्ता भएकी हुन् । परिवारका अन्य सदस्य सकुशल रहेको प्रहरीले जनाएको छ । त्यस्तै, रामबहादुर उचईको चार सदस्यीय परिवार पनि सुरक्षित रहेको छ ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मुझुङबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । तर, पानी निरन्तर परिरहेको र घरभन्दा माथिको मोटरबाटोबाट ढुंगा, माटो र लेदोसहितको पहिरो बगिरहेकाले तत्काल उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता कृष्णकुमारीको खोजी तथा उद्धारका लागि स्थानीयवासी र सम्बन्धित निकायसँग समन्वय गरी प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनामा अन्य चौपायामा क्षति नभएको प्रारम्भिक विवरण छ ।




