मुठीदानदेखि लाखौँको झरना कपसम्म :
बुटवल
बुधबार तिलोत्तमा–६ कुन्जलापुरस्थित उमा आधारभूत विद्यालयको मैदानमा ३८ औं संस्करणको झरना कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भयो । खेलमा खेलाडीको खुट्टाले बल पछ्याउँदा त्यसको आवाजसँगै करिब छ दशक पुरानो एउटा कथा पनि मैदानमा दौडिरहेको क्लबका संस्थापकहरुले स्मरण गरे । झरना कप आज यो अवस्थामा सानोतिनो मेहनतले आएको होइन । झरना कपको कथा सुरु भएको थियो—घरघरबाट उठाइएको एक–एक पाथी चामल र १०–१० रुपैयाँबाट ।
त्यतिबेला कुन्जलापुरका केही किशोर–युवा साँझबिहान एउटै विद्यालयमा पढ्थे, सँगै फुटबल खेल्थे । खेलप्रतिको लगाव बढ्दै गएपछि उनीहरूले आफ्नो समूहको नाम ‘लोफर’ राखे । त्यो समूहमा स्व. टेकबहादुर बुढाथोकी, पदमबहादुर थापा, शोभाखर बगाले, लक्ष्मी बस्याल, पूरन केसी, सुशील घिमिरे, टंक सुवेदी, छत्रबहादुर दर्लामीलगायत थिए ।
उनीहरू गाउँ र आसपासका प्रतियोगितामा खेल्न जान्थे । नारायणगढ, पाल्पालगायत ठाउँमा फुटबल खेल्न पुग्थे । तर टाढाको यात्रा उनीहरूका लागि सहज थिएन । ‘टाढा खेल्न जान गाडी भाडा तिर्ने पैसा थिएन ।त्यसपछि गाउँसँग सहयोग माग्ने निर्णय भयो । हरेक घरबाट एक–एक पाथी चामल र १०–१० रुपैयाँ उठाइयो र त्यही चामल र पैसाको भरमा पाल्पा खेल्न गयौं’–पदमबहादुर थापाले सम्झिए–‘झुम्सासम्म बसको छतमा गइयो, त्यहाँबाट पैदल हिँड्दा रात प¥यो । आफूले बोकेको चामल पकाएर खाइयो र त्यहीँ बास बसेर भोलिपल्ट पाल्पा पुगियो ।’
त्यो प्रतियोगितामा उनीहरू दोस्रो भएका थिए । फर्किने क्रममा बाटोमा देखिएको एउटा झरनाले उनीहरूको मन छोयो । त्यही झरना हेर्दै समूहको नाम पनि परिवर्तन गरी लोफरबाट ‘झरना’ बनाउने निर्णय भयो ।
त्यही नाम आज कुन्जलापुरको खेलकुद इतिहासको पर्याय बनेको छ । संस्थापक सदस्य तथा तत्कालीन खेलाडी पदमबहादुर थापाले २०२७ सालमा वरपरका साथी मिलेर कुन्जलापुरमा खेल सञ्चालन गर्ने उद्देश्यले झरना स्पोट्र्स क्लब गठन गरिएको सम्झिए ।
संस्थापक अध्यक्ष स्व. टेकबहादुर बुढाथोकीको अगुवाइमा क्लबले खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरेको थियो । सुरुआतमा ५ सय रुपैयाँ संकलन गरेर शिल्ड खरिद गरिएको थियो । क्लब गठन गरेर सामूहिक रूपमा काम गर्ने सोच त्यतिबेला सामान्य थिएन । तर कुन्जलापुरका युवाले त्यो असम्भवजस्तो देखिने काम सुरु गरे । २०३९ सालदेखि रनिङ शिल्ड सञ्चालन गर्ने निर्णय भयो । त्यसपछि प्रतियोगिताको खर्च जुटाउन हरेक घरबाट दुई रुपैयाँ उठाउन थालियो । आज लाखौँ रुपैयाँको हिसाब हुने प्रतियोगिताको जग त्यही दुई रुपैयाँमा थियो ।
मैदान पनि गाउँलेले बनाए
फुटबल खेल्न खेलाडी मात्रै भएर पुग्दैनथ्यो । मैदान चाहिन्थ्यो ।
कुन्जलापुरमा मैदान निर्माणको काम पनि सहज थिएन । व्यक्तिगत जग्गा भएका व्यक्तिलाई अर्को स्थानमा भोगचलनको जग्गा उपलब्ध गराएर उमा आधारभूत विद्यालय अगाडिको करिब तीन बिघा क्षेत्रमा मैदान बनाइएको थियो ।
क्लबका हालका अध्यक्ष धनेन्द्र पौडेलले मैदान निर्माणको त्यो प्रक्रिया सम्झिँदै सुरुमा भोगचलनका आधारमा काम अघि बढेको र पछि नापी तथा गाविसको प्रक्रियाबाट जग्गाको व्यवस्थापन भएको बताए । देउसी–भैलोबाट उठेको पैसा क्लबमा आयो । आमा समूहले संकलन गरेको रकम पनि क्लबका गतिविधिमा प्रयोग हुन थाल्यो । विदेश पुगेका कुन्जलापुरवासीले खेल सामग्री, खेल पोसाक र नगद सहयोग गर्न थाले । कतिपयले प्रतियोगिताका लागि प्रायोजनसमेत गरे ।
झरना कपको अर्को विशेषता थियो—आर्थिक सहयोगसँगै श्रमदान ।
हरेक घरबाट कम्तीमा एक जना सदस्य प्रतियोगिता सञ्चालनमा स्वयंसेवकका रूपमा खटिन्थे । २०७६ सालसम्म आइपुग्दा एउटा घरले पाँच सय रुपैयाँ अनिवार्य आर्थिक सहयोग गर्ने र खेल सञ्चालन अवधिभर करिब ८० स्वयंसेवक मैदानमा परिचालन हुने गरेको थियो ।
‘सिंगो गाउँ मिलेको भएर एकताबद्ध ढंगले प्रतियोगिता गर्न सकिएको छ,’ क्लबका निवर्तमान अध्यक्ष लोक पुनले भने–‘झरना कपको स्थायी प्रायोजक कुनै एक संस्था वा व्यक्ति थिएन । पूरै गाउँ थियो ।’
फुटबलबाट रात्रिकालीन पार्कसम्म
झरना स्पोट्र्स क्लबको यात्रा फुटबलमा मात्र सीमित छैन । क्लबले कुन्जलापुरमा करिब तीन बिघा क्षेत्रफलमाकुञ्ज पार्क निर्माण गरेको छ । एक दशकअघिसम्म कुकाठ र खरबारीले भरिएको ठाउँलाई क्लबले पोखरी, डुंगा, बाल उद्यान, वाटर फाउन्टेन, हरियाली र मनोरञ्जनका पूर्वाधारसहितको पर्यटकीय स्थानका रूपमा विकास ग¥यो ।
पार्क निर्माणमा क्लबले लाखौँ रुपैयाँ लगानी गरेको थियो । स्थानीय सरकारले पनि पछि लगानी गरेको छ । लामो समयको मेहनत र लगानीपछि उराठ ठाउँलाई नमुना पार्कमा बदल्न सफल भएको लोक पुन बताउँछन् ।
पार्कबाट हुने आम्दानीको उद्देश्य नाफा कमाउनु नभई खेर गएको जग्गालाई सदुपयोग गरेर समुदायलाई लाभ पु¥याउनु रहेको क्लबको दावी छ ।
यसरी झरना स्पोट्र्स क्लबको पहिचान विस्तारै फुटबल क्लबबाट सामुदायिक संस्थामाबदलिँदै गयो । खेलकुदसँगै शिक्षा, स्वास्थ्य, रक्तदान, वृक्षरोपण, ज्येष्ठ नागरिक सम्मान तथा सामाजिक क्षेत्रमा क्लब सक्रिय हुँदै गयो । अहिले पनि क्लबको स्वामित्वमा रहेका कुञ्ज पार्क र फाउन्टेन पार्कको व्यवस्थापन तथा विकासका काम अघि बढिरहेका छन् ।
क्लबलाई यो चरणमा ल्याइपु¥याउने नेतृत्वमध्ये लोक पुनको भूमिका महत्वपूर्ण देखिन्छ । पुन क्लबको अध्यक्ष रहँदा झरना कपलाई निरन्तरता दिनुका साथै क्लबको गतिविधिलाई खेलबाट बाहिर सामाजिक क्षेत्रमा विस्तार गर्ने कामले गति लिएको थियो । कुञ्ज पार्क निर्माण पनि त्यही कालखण्डको महत्वपूर्ण उपलब्धि हो ।
अहिले जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष तथा तिलोत्तमा खेलकुद विकास समितिका संयोजकसमेत रहेका पुनले झरनाको यात्रा फुटबलबाट सुरु भएर सामाजिक कामसम्म पुगेको बताउँछन् । वर्तमान अध्यक्ष धनेन्द्र पौडेल झरना क्लब र झरना रनिङ शिल्ड सबैको हो भन्छन् । ‘संस्थापक पुस्ताले जग बसाल्यो,लोक पुनलगायत नेतृत्वले विस्तार गरे,’ पौडेल भन्छन्–‘अहिले त्यो विरासत मेरो कांधमा आएको छ, क्लबले आर्थिक कोष स्थापना गर्न सफल भएको र त्यसमा सबैको सहयोग रहेकाले प्रतियोगितालाई निरन्तरता दिन र पुरस्कार राशी बढाउंदै अहिले प्रथम पुरस्कार चार लाख र उपविजेता लाई दुई लाख रुपैयाँ बनाउन सफल भएका छौं ।’ अहिले ३८औँ झरना रनिङ शिल्डमा करिब २८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । उनका अनुसार स्थानीय बासिन्दा, खेलप्रेमी तथा उद्योगी–व्यवसायीको साथ र सहयोगकै कारण झरना रनिङ शिल्डले निरन्तरता पाउँदै आएको छ । प्रतियोगिता अब फुटबल खेलाउने कार्यक्रम मात्र नभई स्थानीयस्तरमा खेलाडी उत्पादन, खेलकुद विकास र युवालाई खेलतर्फ आकर्षित गर्ने माध्यम बनेको उनको भनाइ छ ।
पौडेलको वर्तमान नेतृत्वमा क्लबले पुरानो सामुदायिक चरित्रलाई कायम राख्दै प्रतियोगिताको आकार र स्तर बढाउने प्रयास गरिरहेको छ ।
उद्घाटन खेलमा चरंगे युवा क्लब विजयी
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा कुञ्जलापुरमा ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा–६, कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा देवदहको चरंगे युवा क्लबले लिस्नु युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
चरंगेको जितमा खेलको पहिलो हाफको १५औं मिनेटमा अविनाश स्याङत्यानले तथा दोस्रो हाफको अन्तिम समयमा सुदीप श्रीसले एक मिनेटको अन्तरालमा लगातार दुईगोल गरेका थिए ।
लिस्नु युवा क्लबका तर्फबाट पहिलो हाफको ३६औं मिनेटमा रोशन पहारीले र दोस्रो हाफको इन्जुरी समयमा शुसिल राईले गोल गरेका थिए । पहिलो हाफमा केही समय तनावपूर्ण बनेको खेलमा दुबै टिमका एक एक जना खेलाडीले रातो कार्ड पाएका थिए ।
खेलमा चरंगे युवा क्लबका सुदीप श्रीस म्यान अफ द म्याच घोषित भए । असोज १५ गते बिहीबार गोर्खा ब्वायज बुटवल र देवदह व्ब्वायज देवदहबिच खेल हुने आयोजक क्लबका मोहनसिंह रानाले जानकारी दिए । असोज २५ गते फाइनल हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । । प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ तथा उपविजेताले २ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको एक कार्यक्रमबिच तिलोत्तमा वडा नम्बर ६ का वडाध्यक्ष गणेश पाठकले उद्घाटन गरेका थिए । सो अवसरमा क्लबका अध्यक्ष धनेन्द्र पौडेल, पूर्वअध्यक्ष लोक पुन लगायतले प्रतियोगिता सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए ।




