परासी । नवलपरासी उद्योग वाणिज्य संघले रामग्राम नगरपालिकामा स्थानीय कर तथा नक्सापाससम्बन्धी देखिएका समस्या समाधान गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष नगेन्द्र अग्रहरीले रामग्राम नगरपालिकाका नगरप्रमुखलाई पत्र पठाउँदै उद्योगी–व्यवसायीलाई सहज वातावरण सिर्जना गर्न स्थानीय कर प्रणाली तथा नक्सापास प्रक्रियामा आवश्यक सुधार गर्न आग्रह गरेका हुन् ।
संघले पश्चिम क्षेत्रकै महत्वपूर्ण व्यापारिक तथा औद्योगिक केन्द्रका रूपमा रहेको नवलपरासीमा साना, मझौला तथा ठूला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै उद्योग तथा व्यवसायको विकास र विस्तारका लागि सरल, स्पष्ट, पूर्वानुमानयोग्य र लगानीमैत्री वातावरण आवश्यक रहेको जनाएको छ ।
स्थानीय सरकारको राजस्व सुदृढीकरण र विकास निर्माणका लागि करको महत्वपूर्ण भूमिका रहे पनि कर प्रणाली व्यवसायीलाई निरुत्साहित गर्ने नभई नयाँ लगानी र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने किसिमको हुनुपर्ने संघको भनाइ छ । सरल कर प्रशासन, उचित कर दर, स्पष्ट कानुनी व्यवस्था तथा प्रभावकारी सेवा प्रवाहमार्फत करदाता र स्थानीय सरकारबीच विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा संघले जोड दिएको छ ।
संघका अनुसार संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन प्रणालीअनुसार कर तथा शुल्कसम्बन्धी अधिकार कार्यान्वयन हुँदा एउटै प्रकृतिको सेवा तथा कारोबारमा दोहोरोरतेहोरो दायित्व सिर्जना हुने अवस्था देखिएको छ । विभिन्न तहबाट लाग्ने कर, शुल्क तथा अन्य आर्थिक दायित्वका कारण व्यवसाय सञ्चालनमा थप भार परेको संघले जनाएको छ ।
विशेषगरी पुराना फर्म तथा व्यवसायको दर्ता वा नवीकरण गर्दा विगत अवधिसमेत गणना गरी कर असुल गर्ने अभ्यास पुनरावलोकन गर्न संघले माग गरेको छ ।
त्यस्तै, स्थानीय सरकार, निजी क्षेत्र तथा व्यवसायीबीच नियमित संवाद र समन्वय कायम गरी कर तथा शुल्क निर्धारण गर्दा उद्योग–व्यवसायको अवस्था, लगानी, रोजगारी सिर्जना र आर्थिक योगदानलाई समेत ध्यान दिनुपर्ने संघको सुझाव छ ।
नक्सापास प्रक्रिया सरल बनाउन माग
संघले रामग्राम नगरपालिकामा नक्सा अभिलेखीकरण तथा नक्सापाससम्बन्धी प्रक्रियालाई पनि सरल र सहज बनाउन माग गरेको छ । पुराना घर, भवन तथा अन्य संरचनाको नक्सा अभिलेखीकरण तथा नियमितीकरण प्रक्रिया झन्झटिलो, ढिलाइ हुने तथा वडा प्रतिनिधिबाट समेत थप जटिलता सिर्जना हुने गरेको संघको भनाइ छ ।
लामो समयदेखि कायम रहेका संरचनालाई आवश्यक मापदण्ड पूरा गरी सहज रूपमा अभिलेखीकरण तथा नियमितीकरण गर्न सकिने व्यवस्था मिलाउन संघले आग्रह गरेको छ ।
संघले स्थानीय कर तथा नक्सापाससम्बन्धी विषयमा आवश्यक अध्ययन, छलफल तथा पुनरावलोकन गरी उद्योगी–व्यवसायीलाई सहज वातावरण प्रदान गर्न नगरपालिकासँग माग गरेको हो । अध्यक्ष अग्रहरीले उद्योग–व्यवसायमैत्री कर प्रणाली विकास भएमा लगानी, रोजगारी र स्थानीय आर्थिक गतिविधि विस्तारमा सकारात्मक योगदान पुग्ने बताएका छन् ।धनपत यादवले नगरप्रख ध्यानाकर्षण पत्र बुझदै कर छुट गर्न नगरसभाबाट केही हदसम्म उद्योगीहरूलाई राह दिने बताए।उनले नगरपालिकाले पुस मसन्तसम्म १० प्रतिशत छुट दिने कार्य काम गरेको बताए ।नगरपालिकाले बातावरण मैत्री बनाउने उद्योग क्षेत्र कृषि क्षेत्रमा निर्धारण गर्न तर्फ लागि रहेको बताए ।उद्योग बाणिज्य संघ र नगरपालिकासंग नड मासु सम्बन्ध रहेको बताए ।




