भैरहवा
भारतबाट अवैधरूपमा भन्सार छली गरी नेपालतर्फ भित्र्याउँदै गरिएको साढे दुई किलोभन्दा बढी तौलका विभिन्न प्रकारका सुनका गरगहनासहित काठमाडौँकी एक महिलालाई रुपन्देहीको सिद्धार्थनगरबाट सुरक्षा निकायको संयुक्त टोलीले पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा असोज १४ गते राति ८ बजे सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा खटिएको सुरक्षाकर्मीको टोलीले काठमाडौँ महानगरपालिका वडा नं. १९ निवासी ४६ वर्षीया ईला पटेललाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा रुपन्देहीका प्रमुख तथा सशस्त्र प्रहरी नायव उपरीक्षक गोपी कृष्ण भट्टराईको कमाण्डमा खटिएको ७ जनाको टोलीले शान्तिगेट क्षेत्रमा निगरानी बढाएको थियो । सोही क्रममा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेकी पटेलको चालढाल शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीका प्रहरी सहायक निरीक्षक लालबहादुर केसीको कमाण्डमा रहेको ३ जनाको प्रहरी टोलीलाई समेत बोलाई संयुक्त रूपमा चेकजाँच गरिएको थियो । सघन चेकजाँचका क्रममा निजको साथबाट कुल २ किलोग्राम ६०५ ग्राम तौल भएका विभिन्न किसिमका सुन जस्ता देखिने पहेँलो धातुका गरगहनाहरू बरामद भएका थिए ।
बरामद गरिएका गहनाहरूको आधिकारिकता, गुणस्तर, शुद्धता र परिमाण परीक्षणका लागि असोज १५ गते सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो । संघले गहनाहरूको विस्तृत परीक्षण गरी पठाएको प्रतिवेदन अनुसार बरामद गहनाहरूमध्ये १ किलोग्राम शुद्ध फाइन सुन रहेको र त्यसको वर्तमान बजार मूल्य रु २ करोड ५१ लाख ९३ हजार ३५० कायम भएको पुष्टि गरेको छ ।
सुरक्षा टोलीले पटेलको साथबाट बरामद गरेका २ किलो ६०५ ग्राम गहनाहरूमा १८ प्रकारका १८८ भन्दा बढी थान र जोरका विभिन्न सामाग्रीहरू रहेका छन् । बरामद गरिएका सामग्रीहरूमा हार ९ थान, औँठी ८१ थान, चुरा १३ थान, माला ४ थान, हसुली किसिमको सिक्री ८ थान, पत्थरसहितको झुम्का २० थान, झुम्का २४ थान, गोली औँठी १४ थान, लकेट जन्तर १ थान, पोते १७ थान, र सिक्री २४ थान रहेका छन् । यसैगरी बाली र जुली १८८ जोर, पत्थरसहितको टप ६४ जोर, नाकको फूली २२ थान, पत्थरवाला हार २ थान, सानो झुम्का १० थान, कानको बाली ११ जोर तथा ब्रासलेट ८ थान सबै विभिन्न डिजाइन, साइजका पत्थर र व्याग सहित बरामद गरिएको छ ।
भन्सार छली गरी गैरकानुनी रूपमा सुनका गहना भित्र्याउने कार्यमा संलग्न नियन्त्रणमा लिइएकी महिला ईला पटेल, बरामद गरिएका सम्पूर्ण गरगहनाहरू र सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघको परीक्षण रिपोर्टसहित थप अनुसन्धान तथा भन्सार ऐन अनुसारको आवश्यक कानुनी कारबाहीका लागि असोज १५ गते भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले जनाएको छ ।




