सन् २०२५ को तुलनामा २०२६ मा नेपालका प्रमुख गणना क्षेत्रमा जलपन्छी ९६ हजार ५ सय ६५ बाट घटेर ९० हजार ६ सय ८८ तथा प्रजाति ९४ बाट ८९ मा सीमित भएका छन् । सिमसार अतिक्रमण, प्रदूषण, विषादी, अव्यवस्थित पूर्वाधार, सिकार र जलवायु परिवर्तनले चराका बासस्थान तथा विश्रामस्थल जोखिममा परेका छन् ।
नेपालमा सिमसार संरक्षणमा भएका प्रयास कामयाव हुन सकेन् । अहिले सिमसार नासिदा चराको बासस्थान संकटमा परेको छ । लुम्बिनी क्षेत्रमा रहेका सिमसार मानवीय गतिविधिले मासिंदैछन् । जगधिशपुर ताल र आसपासको क्षेत्र चराका लागि उर्वर क्षेत्र हो, तर पछिल्ला वर्ष मानवीय गतिविधिले यो क्षेत्र पनि असुरक्षित भएको छ । कोशीटप्पु, बीसहजारी तथा आसपासका ताल, चितवन राष्ट्रिय निकुञ्ज बफर क्षेत्रमा रहेका ताल र सिमसार कैलालीको घोडाघोडी ताल, कपिलवस्तुको जगदीशपुर जलाशय, सुनसरीको बर्जुताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार, बर्दिया राष्ट्रिय निकुञ्ज तथा आसपास, पोखरा उपत्यकाका ताल, टौदह, मनोहरालगायतका क्षेत्र चराका आकर्षक गन्तव्य हुन् । स्थानीय रैथाने चराका लागि मात्रै नभई आगन्तुक चराका लागि यी क्षेत्र प्रख्यात छन्, तर यी क्षेत्रका सिमसारलाई जोगाउन सरकार र समुदायको चासो पर्याप्त छैन ।
मानवीय अतिक्रमण, विषादी र कृषि क्षेत्रको रूपान्तरणका कारण चराका यस्ता बासस्थान संकटमा परेका छन् । कृषि क्षेत्रमा मनपरी विषादीको प्रयोग बढ्दो छ । सिमसारलाई पुरेर जग्गा प्लटिङ भइरहेका धेरै घटना छन् । लुम्बिनी क्षेत्रका धेरै सिमसार साँघुरिँदै छन् । संरक्षण अभावमा सिमसार सुक्दै जाँदा र पानी उपलब्ध नहुँदा त्यसको असर सिमसारमा पर्न थालेको छ । अव्यवस्थित विद्युतीय पूर्वाधारले चराको बासस्थान संकटमा परेको छ । लुम्बिनी क्षेत्रमा विद्युत् तारमा ठोक्किएर सारसको ज्यान गइरहेको पाइन्छ । लुम्बिनी क्षेत्रमा रहेका होटलहरुले सिमसार जोगाउनुको साटो होटल आसपासको सिमसार मासेर होटलको पार्किङ् बनाएका उदाहरण पनि छन् ।
नेपालमा सिमसार संरक्षणका लागि रामसार, संरक्षित क्षेत्र, बर्ड स्याङ्चुरीलगायतका व्यवस्था छ । सिमसारको क्षेत्रफल सुरक्षित हुन जति आवश्यक छ, त्यहाँ हुने पानीको गुणस्तर र आहाराको उपलब्धता उत्तिकै महत्वपूर्ण हुन्छ । कृषि उत्पादनमा विषादीको प्रयोग तथा औद्योगिक उत्पादन गर्दा उद्योगले सिमसार र नदीमा फाल्ने प्रदुषित पानी चराका लागि घातक छ । त्यस्तो पानीले चराको आहारा उत्पादन हुन दिँदैन् । स्वच्छ पानीको अभावमा जलचरको अभावमा चराको आहारा सुरक्षित छैन । चराको हव बनाउने विषय प्रकृति संरक्षणमा महत्वपूर्ण अभियान हो । यो पर्यापर्यटनमा पनि महत्वपूर्ण छ । चरा पर्यटनमार्फत् नेपालले राम्रो र गुणस्तरीय पर्यटक आगमन बढाउन सक्छ । प्रकृति जोगाउने अभियानसँगै पर्यटन प्रवद्र्धनको विषय पनि भएकाले सिमसार जोगाउन समुदाय नै लाग्नुपर्छ ।




