२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सफल मर्जरबाट बलियो बनेको कोलिय देवदह साकोस

सफल मर्जरबाट बलियो बनेको कोलिय देवदह साकोस

२० हजारभन्दा बढी शेयर सदस्य रहेको सहकारीका ९ वटा सेवा केन्द्र र ७ वटा बचत संकलन केन्द्र सञ्चालनमा छन् । संस्थामा ४६ जना कर्मचारी छन् ।

सफल मर्जरबाट बलियो बनेको कोलिय देवदह साकोस

सफल मर्जरबाट बलियो बनेको कोलिय देवदह साकोस

२० हजारभन्दा बढी शेयर सदस्य रहेको सहकारीका ९ वटा सेवा केन्द्र र ७ वटा बचत संकलन केन्द्र सञ्चालनमा छन् । संस्थामा ४६ जना कर्मचारी छन् ।

सफल मर्जरबाट बलियो बनेको कोलिय देवदह साकोस
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • बुटवल
    अलग–अलग नाम, नेतृत्व र संरचनामा सञ्चालन हुँदै आएका साना सहकारी संस्थाहरू ‘मर्जर’ पछि बलियो र सुदृढ संस्था बनेर सदस्यको विश्वास जित्दै कारोबार, पुँजी, सेवा सञ्जाल र संस्थागत क्षमता विस्तार गर्न सक्छन् भन्ने उदाहरण बनेको छ, कोलिय देवदह साकोस ।   कोलिय र देवदह बचत तथा ऋण सहकारी संस्था मर्जरपश्चात् बनेको कोलिय देवदह साकोस अहिले ९ वटा सेवा केन्द्र र ७ वटा बचत संकलन केन्द्रमार्फत् सेवा दिइरहेको छ ।


    संस्थाको यात्रा भने एउटा सामान्य मर्जरबाट सुरु भएको थिएन । २०७५ माघ ५ गते साविक देवदह बचत तथा ऋण सहकारी संस्था र साविक कोलिय बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर कोलिय देवदह सहकारी बनेको थियो । त्यसपछि तारापुञ्ज बचत तथा ऋण सहकारी, मायादेवी महिला विकास बचत तथा ऋण सहकारी, धरमदेवी बचत तथा ऋण सहकारी, देउराली बचत तथा ऋण सहकारी र युवासंगम बचत तथा ऋण सहकारीसमेत एकीकृत भएका छन् । यसरी सातवटा संस्थाबिचको एकीकरणपछि कोलिय देवदह एउटै संस्थागत संरचनामा वित्तीय तथा गैरवित्तीय सेवा सञ्चालन गर्दै आएको छ ।


    संस्थाका अध्यक्ष ऋषिराम सापकोटाका अनुसार मर्जरको उद्देश्य संस्था ठूलो बनाउनु मात्र थिएन, सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता पूरा गर्न सक्ने संस्थागत क्षमता निर्माण गर्नु थियो । मर्जरपछि संस्थाको कार्यक्षेत्र पनि फराकिलो भएको छ । रुपन्देही जिल्लाका सबै पालिकासँगै पश्चिम नवलपरासीको सुनवल र रामग्राम नगरपालिकासम्म कार्यक्षेत्र विस्तार भएको छ । सदस्यलाई सेवा दिन ९ वटा सेवा केन्द्र र ७ वटा बचत संकलन केन्द्र सञ्चालनमा छन् । संस्थामा ४६ जना कर्मचारीले वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गरिरहेका छन् ।


    २० हजारभन्दा बढी सदस्य
    संस्थाको पछिल्लो वित्तीय अवस्थाले मर्जरबाट बनेको संस्थाको सदस्य आधार विस्तार भएको देखाउँछ । संस्थामा अहिले २० हजारभन्दा बढी शेयर सदस्य, ३ हजारभन्दा बढी बाल बचतकर्ता छन् । 


    गत आर्थिक वर्षमा मात्रै १ हजार १८२ जना शेयर सदस्य थपिएपछि संस्थाका शेयर सदस्यको संख्या २० हजार ७३१ पुगेको छ । चालु आर्थिक वर्षमा थप ८ सय सदस्य वृद्धि गर्ने लक्ष्य राखिएको छ । त्यस्तै गत आर्थिक वर्षमा ४१२ जना बाल बचतकर्ता थपिएपछि बाल बचतकर्ताको संख्या ३ हजार २७३ पुगेको छ । चालु आर्थिक वर्षमा थप ४ सय बाल बचतकर्ता जोड्ने लक्ष्य संस्थाले लिएको छ ।


    तर संस्थाले अब सदस्य संख्या बढाउनुलाई मात्र उपलब्धिको मापदण्ड बनाएको छैन । ‘सक्रिय सदस्य, सदस्यको बचत सुरक्षा, सुरक्षित ऋण लगानी, संस्थागत पुँजी र सुशासनलाई प्राथमिकतामा राखिएको छ,’ अध्यक्ष सापकोटाले भने–‘राष्ट्रिय अर्थतन्त्रको अवस्था, शेयर बजारको उतारचढावलगायतका कारणले थप सेवाकेन्द्र विस्तार र सदस्य संख्या वृद्धिभन्दा संस्थाको वित्तीय गुणस्तर र सुरक्षालाई प्राथमिकता दिनुपर्ने अवस्था आएको छ ।’


    पुँजी निर्माणमा जोड
    मर्जरबाट कारोबारको आधार विस्तार गरेपछि संस्थाले संस्थागत पुँजी निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । गत आर्थिक वर्षको अन्त्यमा संस्थागत पुँजी १३ करोड १६ लाख ११ हजार पुगेको व्यवस्थापक विनोद पराजुलीले बताए । अघिल्लो वर्षको तुलनामा संस्थागत पुँजीमा रु.९२ लाख ९६ हजारभन्दा बढी वृद्धि भएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा संस्थागत पुँजी रु.१४ करोड पु¥याउने लक्ष्य छ, जुन कुल सम्पत्तिको ६.५१ प्रतिशत हुने संस्थाको प्रक्षेपण छ ।


    संस्थाको शेयर पुँजीसमेत बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा रु.६ करोड ५४ लाख ६९ हजार रहेको शेयर पुँजी गत आर्थिक वर्षमा रु.१ करोड २० लाख ६३ हजारभन्दा बढी वृद्धि भई २०८३ असार मसान्तमा रु.७ करोड ७५ लाख ३२ हजार ७ सय पुगेको छ । चालु वर्षमा थप रु.१ करोड १८ लाख शेयर पुँजी वृद्धि गर्ने लक्ष्य छ । संस्थाको कूल सम्पत्ति र दायित्व २ अर्ब २ करोड ७५ लाख ७९ हजार १६४ रुपैयां बराबरको रहेको छ ।  


    संस्थाले करपछिको नाफाबाट ३५ प्रतिशत जगेडा कोषमा रकम स्थानान्तरण गर्ने नीति लिएको छ । संस्थागत पुँजी वृद्धि गरेर कुल सम्पत्तिको कम्तीमा १० प्रतिशतको आधार निर्माण गर्नुपर्ने अवधारणालाई पनि प्राथमिकता दिइएको छ  । कोलिय देवदहले चालु आर्थिक वर्षलाई वित्तीय विस्तारसँगै संस्थागत सुदृढीकरणको वर्षका रूपमा अघि बढाउने लक्ष्य लिएको छ ।


    ‘मर्जरपछि पुँजी र वित्तीय क्षमता बढेको छ, जोखिम व्यवस्थापन प्रभावकारी भएको छ, प्रविधिमैत्री र प्रतिस्पर्धी दक्ष जनशक्तियुक्त बलियो संस्था भएको छ,’ अध्यक्ष सापकोटाले भने–‘उत्पादनशील क्षेत्रमा पर्याप्त ऋण लगानी गर्न , सुशासन र आन्तरिक नियन्त्रण बलियो बनाउन, सदस्यका स्वास्थ्य बिमा, शिक्षा र सामाजिक सुरक्षाका कार्यक्रम विस्तार गर्न सकिन्छ ।’


    आर्थिक वर्ष २०८३-८४ मा ८ सय शेयर सदस्य, ४ सय बाल बचतकर्ता थप्ने तथा रु.१ करोड १८ लाख शेयर पुँजी वृद्धि गर्ने लक्ष्य छ । बचत रु.१० करोडले बढाउने र ऋण लगानीमा थप रु.२५ करोड वृद्धि गर्ने योजना छ । ऋण लगानीलाई कुल सम्पत्तिको ८० प्रतिशतभित्र कायम राख्ने नीति लिइएको छ । चालु आर्थिक वर्षमा रु.१५ करोड ७८ लाख ७२ हजार कुल आम्दानी, रु.१३ करोड १८ लाख ७२ हजार कुल खर्च र रु.२ करोड ६० लाख खुद बचत गर्ने लक्ष्य राखिएको छ । कुल सम्पत्ति तथा दायित्वलाई रु.२ अर्ब १५ करोड पु¥याउने लक्ष्य रहेको व्यवस्थापक पराजुलीले बताए ।


     ‘सदस्यलाई कारोबार मात्र होइन, सुरक्षा पनि’
    कोलिय देवदहको सदस्य सेवा कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष स्वास्थ्य तथा दुर्घटना सुरक्षासँग जोडिएको छ ।
    संस्थाले सबै शेयर सदस्यको रु.४ लाख बराबरको दुर्घटना मृत्यु बिमालाई निरन्तरता दिएको छ । त्यस्तै स्वेच्छिक रूपमा शेयर सदस्यको रु.१ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना उपचार बिमा गर्ने कार्यक्रम राखिएको संस्थाका सचिव कृष्णराज पौडेलले बताए । उनकाअनुसार सदस्यलाई आर्थिक कारोबारमा मात्र सीमित नराखी उनीहरूको स्वास्थ्य र सामाजिक सुरक्षालाई समेत सहकारीको सेवासँग जोडिएको छ ।


    ‘सदस्यले सहकारीमा बचत गर्ने र आवश्यक पर्दा ऋण लिने मात्र होइन, अप्ठ्यारो अवस्थामा संस्था आफ्नो साथमा छ भन्ने अनुभूति दिलाउन दुर्घटना विमालाई निरन्तरता दिइएको हो ।’–पौडेलले भने ।  स्वास्थ्यसम्बन्धी समस्या पर्दा सदस्यले सहज रूपमा उपचार सेवा पाउन सकून् भन्ने उद्देश्यले बीमा कार्यक्रमलाई निरन्तरता दिएका पौडेलले बताए ।


    सदस्यको मृत्यु भएमा योगदानका आधारमा रु.५ हजारदेखि रु.७५ हजारसम्म राहत उपलब्ध गराउने व्यवस्था पनि छ । त्यस्तै क्यान्सर, मिर्गौला फेल तथा मुटुको शल्यक्रियाजस्ता जटिल रोग लागेका सदस्यलाई जीवनमा एकपटक बढीमा रु.१५ हजारसम्म उपचार राहत अनुदान दिने कार्यक्रम छ ।


    ज्येष्ठ सदस्यदेखि बाल क्लबसम्म
    कोलिय देवदहले सदस्य सेवामा उमेर समूहअनुसार फरक कार्यक्रमसमेत अघि सारेको छ । ८० वर्षभन्दा माथिका ज्येष्ठ सदस्यको घरमै पुगेर जन्मोत्सव मनाउने तथा स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ । ज्येष्ठ सदस्यका लागि तीर्थाटन भ्रमणको व्यवस्था गर्ने र नयाँ ज्येष्ठ सदस्यलाई समेत सहभागी गराउने योजना छ ।


    दिदीबहिनी क्लब गठन तथा पुनर्गठन, बाल क्लब गठन, क्लबका पदाधिकारीको क्षमता विकास, सदस्य शिक्षा, ऋण शिक्षा, प्रविधि शिक्षा, बिमा शिक्षा र वित्तीय साक्षरतालाई समेत संस्थाले नियमित कार्यक्रम बनाएको छ ।


    आर्थिक वर्ष २०८३-८४ मा आधारभूत सहकारी शिक्षा, वित्तीय साक्षरता, प्रविधि, ऋण, बीमा तथा संस्थागत जानकारीका कार्यक्रममार्फत २ हजार ५९० सदस्यलाई ७४ वटा शिक्षा तथा तालिम प्रदान गर्ने लक्ष्य राखिएको छ । विद्यालयका विद्यार्थीका बिच पाँचवटा वित्तीय साक्षरता कार्यक्रम, दिदीबहिनी क्लबका अध्यक्ष तथा सचिवका लागि चारवटा क्षमता विकास तालिम र बाल क्लबका पदाधिकारीका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने योजना पनि छ ।


     संस्थाले आगामी दिनमा पुँजीकोष पर्याप्तता, बचत र ऋणको अनुपात, सक्रिय सदस्य वृद्धि, खर्चमा मितव्ययिता, सुशासन, कर्मचारीको क्षमता विकास तथा उत्पादनशील क्षेत्रमा गुणस्तरीय लगानीलाई प्राथमिकतामा राखेको छ ।


    संस्थाले पल्र्लस् र हिमालका सूचकांकको परिपालना, प्रोबेसन र एक्सेस कार्यक्रमलाई निरन्तरता दिने तथा राष्ट्रिय सहकारी बैंकद्वारा सञ्चालित प्रोटेक्ट कार्यक्रममा सहभागी हुने नीति लिएको छ । सहकारी क्षेत्रले संस्थाको संख्या र कारोबारको आकारभन्दा सदस्यको बचत सुरक्षा, पारदर्शिता, वित्तीय पहुँच, सुरक्षित ऋण र सदस्यप्रतिको जवाफदेहितालाई सफलताको आधार मान्नुपर्ने चरणमा प्रवेश गरिरहेको बेला कोलिय देवदहले पनि आफ्नो आगामी यात्रा त्यही दिशामा केन्द्रित गरेको देखिन्छ ।


    बचत बढ्दा ऋण लगानी घट्यो
    कोलिय देवदहमा सदस्यको बचत बढेको छ, तर ऋण लगानी भने घटेको छ । आर्थिक वर्ष २०८१-८२ को अन्त्यमा रु.१ अर्ब ६४ करोड २१ लाख ७१ हजार रहेको बचत गत आर्थिक वर्षमा रु.१० करोड ७८ लाख ६१ हजारले बढेर २०८३ असार मसान्तमा रु.१ अर्ब ७५ करोड ३२ हजार पुगेको छ । यो कुल सम्पत्तिको ८६.३१ प्रतिशत हो । चालु आर्थिक वर्षमा थप १० करोड रुपैयाँ बचत वृद्धि गर्ने लक्ष्य छ ।


    यता आर्थिक वर्ष २०८१-८२ को अन्त्यमा रु.१ अर्ब ४३ करोड ६२ लाख ८१ हजार रहेको कुल ऋण लगानी गत आर्थिक वर्षमा रु.५ करोड ५७ लाख ९९ हजारले घटेर रु.१ अर्ब ३८ करोड ४ लाख ८२ हजारमा झरेको छ । कुल सम्पत्तिको ६८.०९ प्रतिशत ऋण लगानी रहेको छ । २० हजार ७३१ शेयर सदस्यमध्ये ४ हजार २२१ अर्थात् २०.३६ प्रतिशत सदस्यले ऋण सुविधा लिएका छन् । पर्लस् अनुसार शुद्ध ऋण लगानी रु.१ अर्ब ३५ करोड ६५ लाख ८८ हजार रहेको संस्थाले जनाएको छ ।


    अध्यक्ष सापकोटाले ऋण वृद्धि हुनु मात्र उपलब्धि नभएको र ऋणको गुणस्तर तथा असुलीलाई मुख्य विषय बनाइएको बताएका छन् । संस्थाले ऋण असुलीका क्रममा कानुनी प्रक्रिया अघि बढाएको छ । एक जना ऋणीको धितो लिलामी प्रक्रिया पूरा गरी जग्गा संस्थाको नाममा आएको छ भने केही भाखा नाघेका ऋणीको धितो लिलामी प्रक्रियामा रहेको छ ।


    प्रभावकारी ऋण असुलीका कारण गत आर्थिक वर्षमा अघिल्लो वर्षको ऋण सुरक्षण रकममध्ये रु.५१ लाख ५६ हजार ३५२ फिर्ता भएको र पाउनुपर्ने पाकेको ब्याजमध्ये रु.६० लाख १५ हजार ६०७ असुल भएको संस्थाले जनाएको छ ।

     

    देउरालीसहित नौ वटैै सेवा केन्द्रको २१औं साधारणसभा
    तिलोत्तमा । कोलीय देवदह बचत तथा ऋण सहकारी संस्थाको एकाई–६ देउराली सेवा केन्द्र तिलोत्तमा ८ प्रदीपनगरले २१औं साधारणसभा सम्पन्न गरेको छ । शनिबार करहिया सामुदायिक वनको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले विभिन्न १२ वटा प्रस्ताव पारित गरेको छ । 


    सभामा देउराली सेवा केन्द्रका संयोजक एवं सहकारी संस्था सञ्चालक समितिका सदस्य बाबुराम अर्याले संस्थाको वार्षिक प्रतिवेदनबारे जानकारी गराएका थिए । अर्यालका अनुसार देउराली सेवा केन्द्रमा मात्रै ११ सय ६१ जना सदस्य आबद्ध छन् । 
    सेवा केन्द्रका उप–समिति सदस्य केशवराज अर्यालले स्वागत गर्दै संस्थाका सेवालाई थप सहज, सरल प्रविधिमैत्री बनाउन पर्ने सुझाव दिए । साधारणसभामा तिलोत्तमा ८ का वडाध्यक्ष एवं सहकारीका सदस्य कृष्णप्रसाद पौडेल, तिलोत्तमा ११ का वडाध्यक्ष एवं सहकारीका सदस्य विष्णु बराल, सल्लाहकार विष्णुप्रसाद पौडेल, सल्लाहकार इश्वरीप्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  साधारणसभामा संस्थाका शेयर सदस्य रहेका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन देउराली सेवा केन्द्र इञ्चार्ज मुना भण्डारीले गरेकी थिइन् । शनिबार सहकारीका नौ वटै सेवा केन्द्रले संस्थाको २१औं साधारणसभा सम्पन्न गरेका र प्रतिनिधिमूलक मूल घोषणासभा असोज २४ गते देवदहमा हुने संस्थाका व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij