छविलाल विश्वकर्मा(दिपक)
घरमा सधैंभरि लैनोबकेर्नो भैंसी हुन्थेन । र पनि साउन १५ मा मनग्ये खिर खाएको संझना मनबाट बिलाएको छैन ।
दिदीको सानैमा बिहे भएको थियो । घरको जेठोबाठो थिएँ म । तर स्कुल जाने भएकोले बाआलाई सघाउन सक्दिनथें । ममा घरको कामप्रति त्यति लगाव पनि थिएन । बालाई आरनमा कृषि औजार, तामा सिल्टीका सामानको निर्माण र मर्मत मै फुर्सद हुन्थेन ।
सोही कारणले पाखोबारी जोत्न समेत बाले भ्याउन्थेनन् । खेताला लगाउँथे । फलतः गोठमा लैना बकेर्ना भैंसी हुने कुरो पनि भएन । बाले अपनाएको आरनको पेसा बालीघरे प्रथामा आधारित थियो । सारा गाउँका घरधुरीहरु टोलका बाहरुको हिस्सामा बाँडिएका थिए ।
फल्नो घर्ती फल्नाको बिष्ट, फल्नो पाँडे, फल्नो बस्नेत, फल्नो खत्री फल्नाको बिष्ट एवम् रितले गाउँका घरधुरीहरु भाग लगाइएका हुन्थे । बिष्ट भन्नाले जात नभएर व्यावसायिक स्वामित्वको पहिचान हुन्थ्यो ।
हाम्रोमा पनि साउन १५ को खिरखाने परम्परा घरमा दुधालु भैंसी नभएपनि सम्पन्न हुन्थ्यो । त्यो दिन बाले समय छँदै आरनको काम बिसाउँथे र झोला, सिल्बरको जग बोकेर बिष्टका घरतिर लाग्थे ।
यता घरमा आमैले भिजाएर ठिक्क पारेको बाँसको तामामा सोस्ता सिमी मिसाएर पकाउन थाल्थिन् । सो दिन, आज खिर खाइन्च, मनमा बेग्लै अनुभुति हुन्थ्यो ।
संसाँझै गाउँ हिँडेका बा बेलुकी जगभरी दूध, बौंता बौंतामा घ्यु, साउने संक्रान्तीको भागस्वरुप बिष्टहरुले छुट्याएर राखिदिएको चामल आदि सामान बोकेर आउँथे । दुधको साथमा अलगसँग खाँटी तरसहितको दही पनि ल्याएका हुन्थे ।
समाजव्यवस्थाको त्यो आदिम स्वरुप बडो बिचित्रको थियो । सामाजिक विभेद थियो, तर हामीलाई महसुस नै हुन्थेन । आर्थिक असमानता थियो, तर त्यो असमानता शाश्वत लाग्थ्यो ।
दहीको ठेकी, महिको जग, बौँताको घ्यु, टपरीभरिको चामल घर भित्रीन्थ्यो । तर त्यो कसैको मायादयाले आएको हुन्थेन । बाले आरनमा तरतरी पसिनाले भिज्दै घन मार्तुल बजारेको मेहनतको मूल्य थियो ।
हाम्रा बाआमाको भकारो भने पनि, लैना बकेर्ना भैंसी भनेपनि, गैरी खेत भनेपनि जिजुबाजेको पालादेखि अपनाउँदै आइएको आरने पेसा थियो । जसबाट मनग्ये आमदानी हुन्थ्यो र उरिमभरी भकारीभरी अन्नबाली थुप्रो लाग्थ्यो ।
हामी पालिन्थ्यो । चाडपर्व मानिन्थ्यो र ऋणधन मिल्थ्यो । बाहरु खानपिनमा अलि सौखिन थिए । पिरोपानी, थारा भैंसी, लैनाबकेर्ना पाडामा अलि बढी जोड दिन्थे । त्यसको प्रभाव आम्दानी खर्चको सन्तुलनमा पर्थ्यो । फलस्वरूप साहुको चक्रवर्तीमा फस्थे ।
यता आमैले बोडी र तामाको तिउन पकाएर ठिक्क पार्नु, उता खाँटी दूध, दही, घ्यु चामल बोकेर बा घर आउनु एकसाथ हुन्थ्यो । बाको गृह प्रवेश गरेपछि मझेरीको रौनक नै अर्कै हुन्थ्यो । कसौंडी वा सिल्बरको डेक्चीमा दूध खनाइथ्यो । आमैले उम्लदै गरेको दुधमा चामल खनाउँथिन् । खिर पकाउँदा मिसाउने खित्रीमित्री पनि मिसाउँथिन् आमैले ।
साउन १५ को खिरको साथमा मासुको परिकार हुन्थेन सायद । त्यही दिन रेसुङ्गाको सिद्धथानामा पनि खिर चढाइने हुनाले मासु नखाइएको होला । त्यसको विवेचना मसँग छैन ।
यसरी मनाइन्थ्यो १५ साउनको खिर दिवस । पुस्ताको पुस्तान्तरण सँगै चाडपर्व चालचलनका स्वरुपमा पनि फेरबदल आए । नातिनातिना पुस्ताको लागि त यी प्रथा प्रचलनहरु आज किम्बदन्तीमा रुपान्तरण भए ।
आजसम्म मेरा बा बाँचेको भए ९० वर्षका हुनेथिए । आमा बाँचेको भए ८५ वर्षकी हुनेथिइन् । उनीहरूले जसरी हामी छोराछोरीहरुलाई जोरजाम गरेर खिर, तामाको तिउन, बौताबौतामा ध्यु खुवाउँथे ।
मैले पनि उनीहरूलाई खुवाउने थिएँ, फरक यत्ति हो, बा गाउँ चहारेर दूध दहीको जोहो गर्थे । म नजिकैको डेरीमा पुगेर लिटरको हिसाबले पानी मिसाएको खाँटी दूध खरिद गरेर ल्याउँथे ।
अन्त्यमा, खिर दिवसको शुभकामना ।




