विपत व्यवस्थापन भन्ने बित्तिकै राहत, उद्दार, पुनःस्थापना मात्रै होइन्, नागरिकको दिनचर्या लयमा अघि बढाउनु हो । जीविकोपार्जन सहज बनाउनु हो । जीविकोपार्जनको साधनलाई कामयाव र तन्दुरूस्त बनाउनु हो । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरडीएनए) अनुसार, बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ, ६९ किलोमिटर सडक र ३७ वटा मोटरेबल पुल प्रभावित भएका छन्, जसमध्ये ३३ वटा पुल बगेका छन् । ७ सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना प्रभावित भएका छन् ।
यसबाट ऊर्जा क्षेत्रमा करिब १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको क्षति तथा नोक्सानी आँकलन गरिएको छ । यो क्षति अकल्पनीय हो । प्रभावितलाई पुनर्लाभ, पुनःस्थापना र पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड रुपैयाँ चाहिने सरकारी आँकडा छ । सीमित वित्तीय स्रोत भएको मुलुकको अर्थतन्त्रले यति ठूलो पुनर्निर्माणको भार कसरी धान्ने र त्यससँगै आर्थिक गतिविधिलाई कसरी पुनः गतिशील बनाउने भन्ने प्रश्न छ । केरूङ नाका मुलुकको उत्तरी छिमेकी चीन जोड्ने महत्वपूर्ण नाका हो । त्यो नाकाको सञ्चालनबाट श्रृजना भएको अवसर सीमित दायरामा नभई फराकिलो दायरामा थियो ।
तत्कालका लागि यो नाका पूर्ववत अवस्थामा फर्काउन कठिन छ, तर अर्थतन्त्रलाई शिथिल हुनबाट जोगाउने उपाय भनेको पर्यटन प्रवद्र्धनको कार्यक्रम अघि सार्नु हो । आन्तरिक र बाह्य पर्यटक आगमन बढाउने कार्यक्रम चलाउने हो भने अर्थतन्त्र शिथिल हुन जोगिन सक्छ । रसुवा बाढीपछि नेपाल असुरक्षित छ भन्ने सन्देश प्रवाह भएकाले त्यो सन्देशलाई चिर्न सक्दा नेपालमा पर्यटक आगमन बढाउन सकिन्छ । पोखरा र भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न सके यहाँ पर्यटक बढाउन सकिन्छ । पर्यटकले खानेकुराको उत्पादन स्वदेशमै गर्न सक्दा पुँजी विदेशिनबाट जोगिन्छ, तर हामी कहाँ आत्मनिर्भर अर्थतन्त्र विकास चुनौतीपूर्ण छ । अहिले पर्यटनमा भइरहेको अर्बौंको लगानीलाई आडभरोसा दिनका लागि पनि सरकारले पर्यटन प्रवद्र्धनका लागि अभियानमुखी कार्यक्रम चलाउनुपर्छ । सन् २०२५ सम्म वर्षेनी १० लाख पर्यटक आगमन गराउने भने पनि लक्ष्य पुग्न कठिन भइरहेको बेला यो राम्रो अवसर हो । विपत् व्यवस्थापनमा जसरी ध्यान दिनुपर्ने छ, आर्थिक पुनःउत्थानका लागि पनि योजनाबद्ध कार्यक्रम ल्याउन ढिलाइ गर्न हुन्न ।




