बुटवल । बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका निम्ति सोमबार (असोज २६) मतदान जारी छ । कुल एक हजार ८१० मतदाता रहेकामा हालसम्म करिब ५ सय मत खसेको निर्वाचन समितिले जनाएको छ ।
संघको ७३औँ साधारणसभा तथा २६औँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति यस दिन बिहान ८ बजेदेखि मतदान भइरहेको हो ।
अध्यक्ष पदका निम्ति टंकप्रसाद गैरे र नरिश्वर शर्मा पौडेलको प्यानल चुनावी मैदानमा छन् । दुवै प्यानलले व्यवसायीको समर्थन जुटाउन केही दिनयता घरदैलो अभियान र भेटघाटलाई तीव्र बनाएका थिए ।
मतदान केन्द्रमा अध्यक्ष पदका दुवै उमेदवार उपस्थित छन् । उनीहरूले मतदान केन्द्रअगाडि रहेर मतदातासँग भेटघाट गरिरहेका छन् । अरू उमेदवार भने मतदान केन्द्रको गेटबाहिर बसेर व्यवसायीलाई आफ्नो पक्षमा मत दिन आग्रह गरिरहेका छन् ।
बुटवलका व्यवसायीमाझ चासोका रूपमा हेरिएको यस निर्वाचनबाट संघको आउँदो तीनवर्षे कार्यकालका निम्ति नयाँ नेतृत्व चयन गरिनेछ । बेलुका ५ बजेसम्म मतदान हुने र लगत्तै मतगणना गरिने निर्वाचन अधिकृत बाबुरामप्रसाद पाण्डेले बताए ।
२६ पदका निम्ति ५२ उमेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।




