बुटवल । बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा पौडेलले ८३३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन परिणामअनुसार अध्यक्ष पदका अर्का उम्मेदवार टंकप्रसाद गैरेले ६०९ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई ७२४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बिमलराज भट्टराईले ६९८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ ७१२ मतसहित निर्वाचित भएका छन् । वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी ७११ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
महासचिवमा वसन्तप्रसाद ढकाल ७१४ मतसहित निर्वाचित भएका छन् । कोषाध्यक्षमा टिकराम बनजाडे ७३८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने सचिवमा दीपकप्रसाद चापागाईं ७५२ मतसहित निर्वाचित भएका छन् ।
यसैगरी, सहकोषाध्यक्षमा कमला पौडेल शर्मा पराजुली (मञ्जु) ६६६ मतसहित निर्वाचित भएकी छन् । एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल ७८१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार उद्योग र वाणिज्य क्षेत्रका विभिन्न पदमा पनि उम्मेदवारहरू निर्वाचित भएका छन् । सदस्यतर्फ खुला, महिला, उद्योग तथा वाणिज्य समूहबाट विभिन्न उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
निर्वाचनमा आवश्यक पदभन्दा बढी उम्मेदवारी परेपछि मतदान भएको थियो । केही पदमा बढी मत प्राप्त गर्ने उम्मेदवारहरूबीच सहमति कायम गर्दै गोलाप्रथामार्फत परिणाम टुंग्याइएको निर्वाचन समितिले जनाएको छ ।




