बुटवल । बुटवल योगीकुटीको मणिमुकुन्द मावि तथा कलेज र लुम्बिनी केबलकार लि बुटवलबीच केबलकारको टिकट दरमा छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार लुम्बिनी केबलकारले मणिमुकुन्द मावि तथा कलेजका सञ्चालक र शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई टिकट दरमा २० प्रतिशत छट दिने भएको छ ।
यस्तै विद्यालय र कलेजका शिक्षक वा विद्यार्थीको ५० जना भन्दा बढीको समूहलाई ७५० रुपैयांको टिकट दरमा छुट दिएर ५ सय रुपैयां मात्र लिने सम्झौता भएको छ ।
बिहीबार कलेजमा आयोजित संक्षिप्त कार्यक्रममा लुम्बिनी केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थ र कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरी एक आपसमा आदान प्रदान गरेका छन् ।
सो अवसरमा कलेजका सहप्राचार्य दिवाकर खनाल,केबलकारका व्यवस्थापक प्रज्व्ल घिमिरे, वित्त अधिकृत राजन लम्साल, मिडिया कोर्डिनेटर टिआर शर्माको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै कलेजका प्राचार्य क्षेत्रीले लुम्बिनी केबलकारको सञ्चालनले बुटवलको मात्र नभई रुपन्देही जिल्लाकै पर्यटन विकासमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
केबलकारको माथिल्लो स्टेसन बसन्तपुरमा रहेको कामाख्या मन्दिर हिन्दु धर्मावलम्बीको लागि प्रख्यात शक्तिपीठ भएकाले एकपटक सबैले दर्शन गर्नुपर्ने बताउनुभयो । केबलकारको प्रवद्र्धनमा कलेज र विद्यालयको तर्फबाट संस्थागत सहयोग र सहकार्य हुने प्रतिवद्धता जनाउंदै प्राचार्य क्षेत्रीले करोडौं जनसंख्या भएको भारत उत्तर प्रदेशका नागरिकलाई केबलकार यात्रा र कामाख्या मन्दिर दर्शनका लागि आकर्षित गर्न त्यहां प्रचार प्रसार गर्न सुझाव दिनुभयो ।
केबलकारका अप्रेसन म्यानेजर कायस्थले अष्ट्रियाको डुपलमायर कम्पनीबाट निर्मित लुम्बिनी केबलकार विश्वमै सबैभन्दा अत्याधुनिक प्रविधि र सुरक्षित केबलकार भएको बताउनुभयो । केवलकार यात्रा र कामाख्या मन्दिर दर्शनपछि बसन्तपुरमा घुमफिर र समय कटाउन कम्पनीले जीपलाइन, स्काइ साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान, रेष्टुरेन्ट, सेमिनार हल लगायत पर्यटकीय पुर्वाधार बनाएको जानकारी गराउनुभयो ।
केबलकारका व्यवस्थापक घिमिरेले प्राकृतिक हिसाबले स्वच्छ, शान्त हरियालीयुक्त र मनोरम बसन्तपुरमा गर्मीमा शीतल र जाडोमा घाम लाग्ने हुंदा जुनसुकै मौसममा पर्यटकको रोजाइको थलो बनेको र विभिन्न संस्थाको गोष्ठी सेमिनार र विवाह गर्ने थलोको रुपमा समेत विकास हुन थालेको बताउनुभयो ।




