भैरहवा
बडादसैँ तथा तिहारजस्ता ठूला पर्वहरू नजिकिएसँगै सीमावर्ती भारतीय बजारहरूमा नेपाली उपभोक्ताहरूको घुइँचो तीव्र रूपमा बढेको छ । दसैँको पहिलो दिन घटस्थापनादेखि नै रूपन्देही जिल्लाका स्थानीयहरू पर्वको तयारीमा जुटेका छन् । छिमेकी मुलुक भारतसँगको खुला सीमाका कारण यस जिल्लाका बासिन्दाहरू दसैँका लागि आवश्यक सामग्रीहरू सस्तो मूल्यमा खरिद गर्न सीमापारिका भारतीय बजारहरूमा जाने गरेका छन् ।
भारतीय सीमावर्ती बजारमा किनमेल गर्ने क्रम दसैँअघि नै सुरु भएको थियो भने घटस्थापनायता यो झनै बढेको छ । नेपाल आफ्ना धेरैजसो आर्थिक तथा उपभोग्य आवश्यकताका लागि भारतबाट हुने आयातमा निर्भर छ । चाडपर्वका बेला सीमापारि गएर सामान खरिद गर्ने यस्ता गतिविधिहरू उल्लेख्य रूपमा वृद्धि हुने गरेका छन् । विशेष गरी सीमा क्षेत्रमा रहेका नेपालका ठूला सहरहरूसँग जोडिएका बेलहिया–सुनौली, नौतनवा, ककरहवा, भगवानपुरलगायतका भारतीय बजारहरूमा दैनिक हजारौँको संख्यामा नेपाली उपभोक्ताहरू दसैँ तथा छठ पर्वको किनमेलका लागि पुग्ने गरेका छन् । मुख्य गरी चिनी र लताकपडा सस्तो पाइने लोभमा भारतीय बजार पुग्ने नेपालीहरूले खाद्यान्न, घरायसी सामानका साथै अन्य विभिन्न उपभोग्य सामग्रीहरूसमेत खरिद गरेर फर्किने गरेका छन । दसैँ सुरु भएसँगै दैनिक जसो खरिददारीका लागि भारत जाने नेपालीहरूको भीड सीमानाकामा झनै बढेको छ । स्थानीय बजारमा आयातित सामान उपलब्ध गराउने प्रयास गरिए तापनि राम्रो विकल्प र सस्तो मूल्यको खोजीमा सीमापारि जाने नेपालीहरूको संख्यामा कुनै कमी आएको छैन । रूपन्देही र आसपासका धेर स्थानीयका लागि भारतीय सीमावर्ती सहर सुनौली दसैँको किनमेल गर्ने प्रमुख गन्तव्य बन्दै आएको छ ।
दसैँ–तिहारजस्ता प्रमुख पर्वका बेला सर्वसाधारणको सामान्य खरिददारीबाट मात्रै अर्बौँ नेपाली रुपैयाँ भारततर्फ बाहिरिने गरेको छ । अहिले नेपालसँग जोडिएका खुला भारतीय सीमावर्ती सहरहरूमा दैनिक लाखौँको व्यापार भइरहेको छ । यसले गर्दा पर्व नेपालीको भए पनि व्यापारिक दृष्टिकोणले भने भारतीय व्यवसायीहरूका लागि नै वास्तविक रूपमा दसैँ आएको जस्तो देखिन्छ । सीमापारि भारतीय बजारमा नेपाली उपभोक्ताको घुइँचो लागिरहँदा यता नेपाली बजारहरूमा भने खासै चहलपहल र रौनक देखिँदैन । नेपाली उपभोक्ताहरू दैनिक उपभोग्य वस्तु, चिनी, कपडा, तेल लगायतका सामान खरिद गर्न सीमापारि पुगेपछि स्वदेशी बजार सुनसान बनेको हो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ लगायतका व्यावसायिक संस्थाहरूले कमजोर भन्सार नियमन र खुला सीमाबाट हुने चोरी–निकासी तथा पैठारीका कारण राजस्व सङ्कलनका साथै आन्तरिक व्यावसायिक कारोबारमा गम्भीर असर परेको बताउँदै आएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले दैनिकजसो विभिन्न सीमानाकाबाट तस्करी गरी ल्याइएका अवैध सामानहरू नियन्त्रणमा लिने र भन्सार दाखिला गर्ने काम नियमित रूपमा गरिरहेका छन । प्रहरीको निरन्तरको सक्रियता र कडाइका बाबजुद पनि सीमा क्षेत्रबाट हुने अवैध चोरी–तस्करी भने पूर्ण रूपमा रोकिन सकेको छैन । तस्करहरूले नयाँ–नयाँ चोरबाटो र शैली अपनाएर बजारभरि तस्करीका सामान छ्यापछ्याप्ती पु¥याइरहेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यका अनुसार भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखहरूसँग निजी क्षेत्रले समस्या राखेर बेलहिया यात्रु शाखा अगाडि चेकजाँचमा कडाइ गरिएता पनि भारतीय व्यवसायीहरूले नै अनलाइन वा फोनमार्फत् अर्डर लिएर नेपालीका घर–घरमै सामान पु¥याउने काम गरिरहेका छन् । त्यस्तै, च्याम्बर अफ कर्मस रूपन्देहीका अध्यक्ष सचिन रोक्काले पर्वका बेला अर्बौँको खुद्रा व्यापार भारतमा हुने गरे पनि नेपाल सरकारले त्यसबाट कुनै लाभ लिन नसकेको बताए । भन्सार कार्यालयले न्यूनतम रु. १०० भन्दा बढीको सामान खरिद गरी ल्याएमा संक्षिप्त प्रज्ञापनपत्र लगाउने निर्णय गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा राज्यले राजस्व गुमाइरहेको र नेपाली बजार मारमा परेको छ ।
नेपाली उपभोक्ताहरूमा मूल्य र गुणस्तरको सही तुलना गर्ने सचेतना नहुँदा पनि धेरैजसो खरिददारीका लागि सीमापारि धाउने गरेका छन । सुनौली बजारका किराना व्यवसायी रिजवानका अनुसार अहिले दसैँको किनमेलका लागि आउने नेपालीहरूको चाप निकै उच्च रहेको छ र पहिलेको तुलनामा ग्राहकहरू बढेका छन् । दसैँका बेला बिहान पसल खुल्नेबित्तिकै नेपाली ग्राहकहरूको घुइँचो लाग्छ र यो क्रम अबेर साँझसम्म जारी रहन्छ ।
दसैँका किनमेलकर्ताहरूका माझ लोकप्रिय रहेका लत्ताकपडा, सिङ्गारका सामान (कस्मेटिक) र खाद्यान्नका सामग्रीहरूले त्यहाँका पसलहरू भरिभराउ छन् । सुनौली बजारमा रुपन्देहीका भैरहवा, बुटवल र ग्रामीण क्षेत्रका उपभोक्ता मात्र नभई छिमेकी जिल्लाहरू पाल्पा, गुल्मी र अर्घाखाँचीका उपभोक्ताहरूसमेत किनमेलका लागि पुग्ने गरेका छन् । सुनौली बजारमा सबैभन्दा बढी बिक्री हुने चिनीको खुद्रा मूल्य प्रति केजी रु. ८५ रहेको छ भने नेपालतर्फ भने चिनी प्रति केजी रु. ११० देखि १४० सम्ममा बिक्री भइरहेको छ ।
चिनी र केही कपडाबाहेक अन्य धेरै सामानको मूल्यमा नेपाल र भारतीय बजारमा खासै ठूलो फरक नरहेको स्थानीय व्यवसायीहरू बताउँछन् । उपभोक्तामा चेतनाको अभावका कारण सस्तोको नाममा अखाद्य र गुणस्तरहीन सामान खरिदसमेत भइरहेको छ । सीमापारि पाइने गुणस्तरहीन तेल, घिउजस्ता वस्तुहरूको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने चिकित्सकहरूको भनाइ छ । उपभोक्ताहरू सचेत नभएसम्म र राज्यको नीति दरिलो नभएसम्म नेपाली बजारभन्दा सस्तो पाउने भ्रममा सीमापारि नै सर्वसाधारण ओइरिने क्रम जारी रहनेछ ।
सुनौलीमा किनमेल गरिरहेका नेपालीहरूलाई किन यहाँ आएको किनमेल गर्न भन्ने प्रश्नमा सबैको एउटै जवाफ सस्तो र मूल्यमा धेरै फरक रहेको बताए । यस्को मतलब नेपालीले धेरै नाफा खाए भन्ने हो त ?
नेपालका स्थानीय व्यापारी र व्यवसायीहरूले चाडपर्वको मौका छोपेर हरेक सामानमा अत्यधिक मूल्य असुल्ने गरेको छन् । कसैलाई रहर छैन तर आफ्नो सहरमा भन्दा सस्तो मूल्यमा गुणस्तरीय सामान पाउने आशामा नेपालीहरू सीमापारि पुग्ने गर्छन् । त्यसल गदो भारतीय सहरको अर्थतन्त्रलाई बलियो बनाउन नेपालील् ठूलो योगदान पु¥याएको छन् । सर्वसाधारण मात्र नभई नेपाली व्यापारीहरू स्वयंले पनि त्यहाँका पसलहरूबाट सामान आयात गरी बिक्री गर्ने गरेका छन् ।
पछिल्लो समय नेपाली युवा–युवतीहरूले समेत भारत पुगेर सामानहरूको प्रचार सामाजिक सञ्जालमार्फत् गरी व्यापारको नयाँ माध्यम बनाएका छन् । उनीहरूले टिकटक, फेसबुकजस्ता माध्यममा फोटो–भिडियो पोस्ट गरी अर्डर लिने र भारतबाट कपडालगायतका सामान अवैध रूपमा भित्र्याएर घर–घरमा पु¥याउने गरेका छन् । नाम नबताउने शर्तमा टिकटकबाट व्यापार गर्दै आएकी एक युवतीले लगानी र स्टक राख्ने झन्झटविना अर्डरका आधारमा सामान मगाएर राम्रो कारोबार भइरहेको बताइन । दर्तासमेत नगरी र पसल भाडा नतिरी सामाजिक सञ्जालमार्फत व्यापार गर्नेहरूको संखया पछिल्लो समय गुणात्मक रूपमा बढ्दै गएको छ ।
खुला सीमा, बजारमा आएको आर्थिक मन्दी र अनधिकृत व्यापारका कारण स्वदेशी व्यवसायीहरू विस्थापित हुने र धराशायी बन्ने स्थिति सिर्जना भएको छ । अर्कोतर्फ, भैरहवा भन्सार कार्यालयले भने सीमामा चेकजाँच कडाइका साथ भइरहेको र यात्रु शाखाको निगरानी बढाइएको दाबी गरेको छ । भन्सार प्रशासनका अनुसार चेकजाँचको कडाइले यात्रु शाखाबाट हुने राजस्व सङ्कलनमा वृद्धि भएको छ । पर्वलाई लक्षित गर्दै सीमामा चाप बढेको भए पनि पहिलेको तुलनामा भन्सार तथा सीमा नियमनलाई चुस्त बनाइएको भन्सार कार्यालयको भनाइ छ ।
स्थानीय प्रशासन तथा निकायहरूले बजारमा गुणस्तरको प्रभावकारी अनुगमन गर्ने र व्यापारीहरूलाई मनपरी मूल्य असुल्नबाट रोक्ने हो भने सर्वसाधारणलाई स्वदेशी सामान खरिद गर्न प्रोत्साहित गर्न सकिन्छ । यसले चाडपर्वका बेला करोडौँ नेपाली रुपैयाँ विदेशिनबाट जोगिनेछ । अन्यथा, साना–ठूला खरिदका लागि नेपालीहरू भारतीय सहरमै ओइरिने क्रम जारी रहनेछ, जसको प्रत्यक्ष मार स्थानीय बजार र समग्र अर्थतन्त्रमा परिरहने छ ।




