बुटवल । उद्योग व्यापार संघ बुटवलले इलाका प्रहरी कार्यालय बुटवललाई स्मार्ट पुलिस कन्ट्रोल भेइकल कार्यक्रमका लागि एक लाख १३ हजार रुपैयाँ सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संघले आगामी पुस ३ गतेदेखि बुटवल मण्डपमा गर्न लागेको पाँचौँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलालाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो ।
संघले शुक्रबार आयोजना गरेको सुझाव संकलन तथा दशैँ, तिहार, छठ र नेपाल संवतको शुभकामना आदानप्रदान तथा मेलाबारे सुझाव संकलन कार्यक्रममा संघका तर्फबाट अध्यक्ष लोकनाथ पन्थीले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक चन्द्र भण्डारीलाई चेक हस्तान्तरण गरेका थिए ।
चेक ग्रहण गर्दै प्रहरी निरीक्षक भण्डारीले संघको आयोजनामा हुने व्यापार मेलामा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे । उनले मेलालाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाउने बताए ।
कार्यक्रममा संघका अध्यक्ष लोकनाथ पन्थीले आगामी मेलालाई उत्कृष्ट र नमुना बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए । मेलालाई विगतभन्दा स्तरीय, व्यवस्थित र प्रभावकारी बनाउने गरी तयारी अघि बढाइएको उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खिमनारायण पराजुलीले मेलाका सम्भावित चुनौती र समस्याको पहिचान गरी समाधानका उपायसहित अघि बढ्न सुझाव दिए । सबै पक्षको सहकार्यमा मेलालाई नमुना प्रदर्शनी तथा व्यापार मेलाका रूपमा स्थापित गर्नुपर्ने उनले बताए ।
संघका निवर्तमान अध्यक्ष विष्णुप्रसाद पाण्डेले सबै पक्षलाई समेटेर प्राप्त सुझावका आधारमा मेला आयोजना गर्न आग्रह गरे । त्यसैगरी सल्लाहकार पुष्पराज ढकाल, पूर्वअध्यक्ष गोविन्द गैरे र पूर्व उपाध्यक्ष सीताराम रसाइलीले मेलालाई उत्कृष्ट र स्तरीय बनाउन सबैको राय–सल्लाहलाई समेट्नुपर्ने बताए । उनीहरूले डिजिटल प्रचारप्रसार र सञ्चारमाध्यमको प्रभावकारी परिचालनमा विशेष ध्यान दिन सुझाव दिए ।
संघका पूर्व कोषाध्यक्ष कृष्ण अर्यालले मेलाको सफलताका लागि सुरक्षा, मञ्च व्यवस्थापन, स्टेज कार्यक्रम र सरसफाइलाई महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने भन्दै आयोजकको ध्यानाकर्षण गराए । उनले मेलामा आउने दर्शक तथा व्यवसायीलाई सहज वातावरण उपलब्ध गराउन व्यवस्थापकीय पक्षमा विशेष ध्यान दिनुपर्ने बताए ।
पूर्व कोषाध्यक्ष बाबुराम आचार्यले बुटवल मण्डपमा आयोजना हुने पुसे मेलाले बुटवललाई आर्थिक तथा पर्यटनको हबका रूपमा विकास गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पदम जिसी, वाणिज्य उपाध्यक्ष यमलाल मरासिनी, महिला उपाध्यक्ष माया पाण्डे, सचिव सौरभ भुसाल, लोकनाथ पाण्डे, भरत अधिकारी तथा विभिन्न वस्तुगत समितिका संयोजकहरूले मेलाको सफलताले संघको पहिचान र गरिमा थप बढाउने धारणा राखे ।
कार्यक्रममा संघका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक दिलीप शर्माले स्वागत गरेका थिए भने महासचिव विजय आचार्यले सञ्चालन गरेका थिए ।
संघले आगामी पुस ३ गतेदेखि बुटवल मण्डपमा पाँचौँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने तयारी गरेको छ । मेलालाई औद्योगिक उत्पादन, व्यापार, पर्यटन तथा स्थानीय उद्यमशीलताको प्रवद्र्धन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ ।




