२०८३, कार्तिक १२ गते

Oct 28 2026

images
images

कर्मचारी मानसिकताको विकल्पः उद्यमशीलता

कर्मचारी मानसिकताको विकल्पः उद्यमशीलता

कर्मचारी मानसिकताको विकल्पः उद्यमशीलता

कर्मचारी मानसिकताको विकल्पः उद्यमशीलता

कर्मचारी मानसिकताको विकल्पः उद्यमशीलता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, कार्तिक ११ २०८३
मंगलवार, कार्तिक ११ २०८३
  • यादव घिमिरे
    वर्तमान समयमा मानव समाज तीव्र रूपान्तरणको सम्वाहक बनिरहेको छ । बदलिँदो विश्व परिवेश र प्रविधिको अभूपूर्व विकासले हाम्रा परम्परागत जीवनशैली, सोच र प्राथमिकतालाई व्यापक परिमार्जन गरिदिएको छ । यस्तो पृष्ठभूमिमा हाम्रा सामाजिक मान्यताहरू, विशेष गरी शिक्षा र जीविकोपार्जनसँग जोडिएका दृष्टिकोणमाथि पुनर्विचार गर्नु अपरिहार्य भएको छ । हाम्रो समाजमा लामो समयदेखि एउटा भाष्य स्थापित छ कि राम्रोसँग पढ्नुपर्छ र भविष्यमा कुनै प्रतिष्ठित संस्थामा सुरक्षित जागिर खानुपर्छ । यो सोचले पुस्तौँदेखि युवा मानसपटललाई निर्देशित गर्दै आएको छ । तर आजको बदलिँदो आर्थिक परिदृश्यमा यो मानसिकतामाथि एउटा गम्भीर र क्रान्तिकारी प्रश्न खडा भएको छ ।


    जागिर खोज्ने होइन, जागिर बनाउने तिर लाग्ने कि भन्ने प्रश्न एउटा सामान्य जिज्ञासा मात्र होइन, बरु युवा पुस्तालाई रोजगारीको उपभोक्ताबाट रोजगारीको उत्पादक वा नवप्रवर्तक बन्न उत्प्रेरित गर्ने एक शक्तिशाली वैचारिक आन्दोलन हो । आजको प्रतिस्पर्धी युगमा जागिरका लागि अरूको पछाडि अन्धधुन्ध दौडिनु भन्दा आफ्नै पौरखमा नयाँ अवसरहरू सिर्जना गर्नु नै आर्थिक समृद्धि, व्यक्तिगत स्वतन्त्रता र वास्तविक सामाजिक रूपान्तरणको मूल मार्ग हो ।


    शिक्षित बेरोजगारीको आँसु र परम्परागत शिक्षा
    हाम्रो देश र हामि जस्तै कयौ विकासोन्मुख राष्ट्रहरूको वर्तमान अवस्थालाई नियाल्ने हो भने शिक्षित बेरोजगारीको चित्र निकै कारुणिक देखिन्छ । विश्वविद्यालयहरूबाट हरेक वर्ष लाखौँको संख्यामा ऊर्जावान् युवाहरू दीक्षित भएर बजारमा निस्कन्छन् । तिनीहरूका हातमा उच्च शिक्षाका प्रमाणपत्रहरू त हुन्छन्, तर ती प्रमाणपत्रहरूले बजारमा रोजगारीको सुनिश्चितता गर्न सक्दैनन् । युवाहरू आफ्नो योग्यता र क्षमता बोकेर विभिन्न कार्यालयका ढोकामा लाम्बद्द भएर उभिन बाध्य छन् । बजारमा जनशक्तिको आपूर्ति यति धेरै छ कि त्यसको तुलनामा उपलब्ध अवसरहरू अत्यन्तै न्यून र सङ्कुचित छन् ।


    यसको मुख्य कारण हाम्रो पुरातन शिक्षा प्रणाली हो, जसले विद्यार्थीहरूलाई केवल आज्ञाकारी कर्मचारी बन्न सिकाउँछ । विद्यालय र कलेजका पाठ्यक्रमहरूले कसरी अरूको निर्देशन पालना गर्ने र तोकिएको काम फत्ते गर्ने भन्ने कुरा त सिकाउँछन्, तर कसरी नयाँ सोचका साथ आफ्नै उद्योग स्थापना गर्ने, कसरी जोखिम मोल्ने र समाजका समस्याको रचनात्मक समाधान खोज्ने भन्ने व्यावहारिक सीप सिकाउन सक्दैनन् । यही सोचको संकुचनले गर्दा स्वदेशमा सम्भावना नदेखेर लाखौँ दक्ष र अदक्ष युवाहरू आफ्नो श्रम र अमूल्य समय अन्य देशमा सस्तोमा बेच्न विवश छन् । यो राष्ट्रिय प्रतिभा र ऊर्जाको अपूरणीय क्षति हो। यो विकराल अवस्थालाई बदल्न युवाहरूले आफ्नो सोचको दिशा र गन्तव्य दुवै बदल्नुपर्ने बेला आइसकेको छ ।


    जागिर बनाउनुको अन्तरनिहित दर्शन र उद्यमशीलता
    जागिर बनाउनु वा रोजगारीको सिर्जना गर्नु भनेको कुनै सामान्य पसल खोल्नु वा परम्परागत व्यापार सुरु गर्नु मात्र निश्चित रूपमा होइन । यो त एउटा वृहत् जीवनदर्शन हो, जसमा नवीन सोंच, अटुट साहस र समाजका विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्ने दृढ इच्छाशक्ति समावेश हुन्छ । जागिर बनाउने व्यक्ति वा उद्यमीले समाजमा मानिसहरूले भोगिरहेका दैनिक समस्याहरूलाई गहिरिएर अवलोकन गर्छ र ती समस्याको समाधानका लागि नयाँ सेवा वा उत्पादनको विकास गर्छ । यस प्रक्रियालाई नवप्रवर्तन भनिन्छ, जसले समाजलाई नयाँ गति दिन्छ ।


    अरूको संस्थामा काम गर्दा मानिसले कसैको निर्देशन वा नियमको परिधिभित्र रहेर काम गर्नुपर्छ, जहाँ उसको आफ्नै दृष्टिकोण र सिर्जनशीलता प्रायः दबिएर रहन्छ । तर जब व्यक्ति आफैँले जागिरको सिर्जना गर्छ, उ संस्थाको संस्थापक र संवाहक बन्दछ । उसले आफ्नै योजना, मूल्य र आदर्श अनुरूप संस्थालाई अगाडि बढाउने स्वतन्त्रता पाउँछ । यो मार्ग आर्थिक आत्मनिर्भरताको बलियो आधार हो, जहाँ मानिस अरूले तोकेको सीमित मासिक तलबमा बाँधिनु पर्दैन, बरु आफ्नो पौरख र मेहेनतको बलमा आफ्नो आम्दानी र प्रगतिको सीमा आफैँ तय गर्न सक्षम हुन्छ ।


    परावलम्बनबाट स्वावलम्बनतर्फको महाप्रस्थान
    जागिरे जीवन र उद्यमी जीवनको प्रकृतिमा धेरै ठूलो भिन्नता हुन्छ। जागिर खोज्ने व्यक्ति सधैँ अरूमाथि आश्रित हुन्छ र उसको भाग्यको साँचो रोजगारदाताको हातमा हुन्छ । कम्पनीमा आउने सामान्य उतारचढाव वा मन्दीले पनि जागिर धरापमा पर्न सक्छ, जसले गर्दा एक किसिमको मानसिक असुरक्षा सधैँ कायम रहन्छ । अर्कोतर्फ, जागिर बनाउने वा उद्यमी बन्ने व्यक्तिले सुरुवाती चरणमा धेरै ठूलो आर्थिक र सामाजिक जोखिम मोल्नुपर्ने भए तापनि उसले प्राप्त गर्ने प्रतिफल र स्वतन्त्रता अतुलनीय हुन्छ ।
    जागिर खानेले केवल आफ्नो र आफ्नो परिवारको हितका बारेमा मात्र सोच्न सक्छ, तर जागिर बनाउने व्यक्तिले समाजका अन्य थुप्रै मानिसहरूका लागि जीविकोपार्जनको ढोका खोलिदिन्छ । एउटा उद्यमीले बजारको माग र आपूर्तिको सन्तुलन बुझेर स्वतन्त्र निर्णयहरू लिन सक्छ, जसले गर्दा उसमा नेतृत्व क्षमता र परिपक्वताको विकास तीव्र गतिमा हुन्छ । जागिरमा मानिसले आफ्नो जीवनको ऊर्जावान् समय अरू कसैको सपना पूरा गर्नका लागि खर्च गरिरहेको हुन्छ भने उद्यमशीलतामा मानिसले आफ्नै सपनालाई साकार पार्न र समाजमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न पसिना बगाउँछ । त्यसैले परावलम्बनको चौघेराबाट निस्केर स्वावलम्बनको फराकिलो आकाशमा उड्नु नै वास्तविक जीवनको सार्थकता हो ।


    उद्यमशीलताका बहुआयामिक लाभ र सामाजिक रूपान्तरण
    जब समाजमा जागिर बनाउने युवाहरूको संख्या बढ्दै जान्छ, तब त्यसले बहुआयामिक सकारात्मक प्रभावहरू सिर्जना गर्दछ । यसको पहिलो र सबैभन्दा प्रत्यक्ष लाभ व्यक्तिगत आर्थिक स्वतन्त्रता र राष्ट्रिय समृद्धिको रूपमा देखा पर्छ। सफल व्यवसायले उद्यमीलाई सम्पन्न त बनाउँछ नै, साथै राज्यलाई कर तिरेर देशको राष्ट्रिय ढुकुटी बलियो बनाउन र विकास निर्माणका कार्यमा टेवा पु¥याउन पनि ठूलो मद्दत गर्दछ । यसको दोस्रो र सबैभन्दा महत्वपूर्ण पक्ष भनेको बेरोजगारी समस्याको दीर्घकालीन समाधान हो । जब एकजना युवाले आँट गरेर एउटा सानो उद्योग वा स्टार्टअप कम्पनी स्थापना गर्छ, उसले आफ्ना वरपरका अन्य बेरोजगार युवाहरूलाई कामको अवसर दिन्छ । यसले समाजमा व्याप्त गरिबी, निराशा र युवा पलायनको दुष्चक्रलाई तोड्न मद्दत गर्छ । साथै, आफ्नै व्यवसाय सञ्चालन गर्दा दैनिक रूपमा आउने नयाँनयाँ चुनौतीहरूले मानिसको मानसिक क्षमता र सृजनशीलतालाई तिखार्ने काम गर्छन् । जागिरको एकनासे र निरस दिनचर्या भन्दा उद्यमशीलताको विविधतापूर्ण र गतिशील वातावरणले युवाहरूमा आत्मविश्वास र आत्मसन्तुष्टिको गहिरो अनुभूति गराउँछ । समाजले पनि रोजगारी माग्नेलाई भन्दा रोजगारी दिनेलाई बढी आदर र सम्मान गर्दछ, जसले गर्दा सामाजिक प्रतिष्ठामा वृद्धि हुन्छ । 


    चुनौतीको चक्रव्यूह र आँटिलो पाइला
    जागरि बनाउने मार्ग जति सुन्दर र गौरवशाली देखिन्छ, यो त्यति नै कठिन, घुमाउरो र चुनौतीहरूले भरिएको हुन्छ । यो कुरालाई नजरअन्दाज गरेर उद्यमशीलताको मैदानमा उत्रिनु आत्मघाती हुन सक्छ । यस मार्गमा पाइला चाल्दा सबैभन्दा पहिलो अवरोधका रूपमा पूँजी वा लगानीको अभाव देखा पर्दछ। नयाँ सोच र योजना त हुन्छ, तर त्यसलाई मूर्त रूप दिन आवश्यक पर्ने रकम जुटाउन धेरै गाह्रो हुन्छ । यद्यपि, वर्तमान समयमा यदि कसैसँग साँच्चिकै समाजोपयोगी र बलियो व्यावसायिक योजना छ भने विभिन्न वित्तीय संस्थाहरू, सरकारी अनुदान र लगानीकर्ताहरू आकर्षित हुन सक्छन् ।


    दोस्रो चुनौती, असफलताको डर हो । सुरुवाती दिनहरूमा व्यवसायले साेंचे जस्तो नाफा नकमाउन सक्छ वा कहिलेकाहीँ लगानी पूर्ण रूपमा डुब्ने अवस्था पनि आउन सक्छ। यस्तो अवस्थामा समाजको आलोचना र मानसिक तनावलाई झेल्न सक्ने आन्तरिक शक्ति आवश्यक पर्छ । उद्यमशीलतामा सफलता पाउन कुनै जादुको छडी हुँदैन, यसका लागि त कठोर परिश्रम, अटुट धैर्यता र निरन्तरताको खाँचो पर्छ । असफल हुनु भनेको यात्राको अन्त्य हुनु होइन, बरु आगामी दिनमा कसरी अझ राम्रो गर्ने भन्ने कुरा सिकाउने एउटा अमूल्य पाठशाला हो भन्ने सकारात्मक दृष्टिकोण राख्नुपर्छ ।


    स्वदेशी माटोमा सम्भावनाका सुनौला पाटाहरू
    हाम्रो परिवेश र भौगोलिक अवस्थितिलाई हेर्ने हो भने यहाँ जागिर बनाउने वा उद्यमशीलताका क्षेत्रहरू असीमित र अत्यन्तै उर्वर छन् । हाम्रो देश प्राकृतिक सम्पदा, जैविक विविधता र ऊर्जावान् युवा जनशक्तिले भरिपूर्ण छ । यहाँका सम्भावनाहरूलाई मुख्य रूपमा कृषि तथा पशुपालनको क्षेत्रमा नियाल्न सकिन्छ, जुन हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो । परम्परागत र निर्वाहमुखी कृषिलाई त्यागेर आधुनिक प्रविधिको प्रयोग गर्दै व्यावसायिक खेती, अग्र्यानिक उत्पादन, जडीबुटी प्रशोधन, चिया तथा कफी खेती र व्यावसायिक पशुपालनमा लागेमा यसले देशलाई खाद्यान्नमा आत्मनिर्भर मात्र बनाउँदैन, बरु ठूलो संख्यामा रोजगारीका अवसरहरू सिर्जना गर्छ ।


    त्यस्तै, पर्यटन र हस्पिटालिटी अर्को गौरवशाली क्षेत्र हो ।  हाम्रो प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई उपयोग गर्दै ग्रामीण होमस्टे, साहसिक पर्यटन, पर्या–पर्यटन र नवीन होटल व्यवसायहरू सञ्चालन गरेर विदेशी मुद्रा आर्जन र स्थानीय रोजगारी बढाउन सकिन्छ । आजको डिजिटल युगमा सूचना प्रविधिको क्षेत्र त झन् बरदान सावित भएको छ । यहाँ बसेरै विश्वका ठूला कम्पनीहरूका लागि सफ्टवेयर निर्माण गर्ने, एप्लिकेसनहरू विकास गर्ने, वा डिजिटल सेवाहरू प्रदान गर्ने आईटी स्टार्टअपहरू स्थापना गर्न सकिन्छ, जसमा कम पूँजीमा पनि उच्च प्रतिफल प्राप्त हुन सक्छ। हस्तकला र स्थानीय स्रोतमा आधारित उद्योगहरू जस्तै नेपाली हाते कागज, पश्मिना, गलैँचा र परम्परागत कलाकृतिहरूलाई आधुनिक ब्रान्डिङ गरेर विश्व बजारमा पुर्याउन सकेमा देशको व्यापार घाटा कम गर्न र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ।


    राज्यको दायित्व र सहयोगी वातावरणको आवश्यकता
    युवाहरूलाई जागिर खोज्ने लामबाट निकालेर जागिर बनाउने उद्यमी बनाउन केवल युवाहरूको व्यक्तिगत प्रयासले मात्र पर्याप्त हुँदैन । यसका लागि राज्य र सरोकारवाला निकायहरूले अनुकूल र सहयोगी वातावरणको निर्माण गरिदिनु अत्यन्तै आवश्यक छ । सरकारले आफ्ना आर्थिक नीतिहरूलाई युवामैत्री र स्टार्टअपमैत्री बनाउनुपर्छ । नयाँ व्यवसाय दर्ता गर्ने प्रक्रियालाई सरल, झन्झटरहित र प्रविधिमैत्री बनाउनु आवश्यक छ ताकि युवाहरू प्रशासनिक काममै अलमलिनु नपरोस् ।
    बिनाधितो सहुलियतपूर्ण ऋण, वित्तीय साक्षरता र प्राविधिक तालिमहरूको व्यवस्था गरेर दुर्गम क्षेत्रका युवाहरूलाई पनि उद्यमशीलतामा आकर्षित गर्न सकिन्छ । हाम्रो शिक्षा प्रणालीमा व्यापक सुधार गरी विद्यालय तहदेखि नै सीपमूलक, व्यावहारिक र उद्यमशीलतासम्बन्धी ज्ञान पाठ्यक्रममा समावेश गरिनुपर्छ । जबसम्मा देशमा उद्योगधन्दा सञ्चालनका लागि शान्ति सुरक्षा, बजारको ग्यारेन्टी र नीतिगत स्थिरता हुँदैन, तबसम्म युवाहरू जोखिम मोल्न हच्किरहनेछन् । त्यसैले राज्यले उद्यमीहरूलाई प्रोत्साहन गर्ने र उनीहरूको लगानीको सुरक्षा गर्ने बलियो प्रतिबद्धता देखाउनुपर्छ ।


    उपसंहार र नयाँ युगको संकल्प
    निष्कर्षमा, जागिर खोज्ने होइन जागिर बनाउने तिर लाग्ने संकल्प वर्तमान समयको कठोर सत्य र राष्ट्रिय रूपान्तरणको एकमात्र अचूक कडी हो । लामो समयदेखि चल्दै आएको जागिरे मानसिकता र परावलम्बनको संस्कृतिले हामीलाई पछौटेपन र परनिर्भरताको खाडलमा जाकिरहेको छ । अब यो गतिहीनताको चक्रलाई तोड्ने बेला आएको छ । देशका शिक्षित र प्रतिभावान् युवाहरू हातमा प्रमाणपत्र लिएर अरूको ढोकामा अवसरको भीख माग्नु भन्दा आफ्नै मस्तिष्कको रचनात्मक सोच र हातको पौरख प्रयोग गरेर नयाँ उद्यमको जग बसाल्न अगाडि बढ्नुपर्छ ।


    अरूको विशाल साम्राज्यको एउटा सानो र उपेक्षित पुर्जा बन्नु भन्दा आफ्नै सानो तर स्वतन्त्र साम्राज्यको निर्माण गर्नुमा जुन गौरव र आत्मसन्तुष्टि छ, त्यो अन्य कतै पाइँदैन । जब हाम्रा युवाहरू आत्मनिर्भर बन्ने दृढ सङ्कल्पका साथ अगाडि बढ्छन्, तब मात्र हाम्रा गाउँघरहरू ब्युँझिनेछन्, स्वदेशी माटोमा पसिनाको सुगन्ध फैलनेछ र आर्थिक रूपमा सबल राष्ट्रको हाम्रो साझा सपना साकार हुनेछ । त्यसैले, आजैबाट जागिर खोज्ने पुरानो बाटो छोडौँ र जागिर बनाउने नयाँ र उज्यालो मार्गको यात्री बनौँ ।
    पूर्व निर्देशक, काठमाडौँ महानगरपालिका
    ठेगानाःदेवचुली ११, नवलपरासी (पूर्व)

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij