२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

चाडपर्वमा बजारमा मनपरी

चाडपर्वमा बजारमा मनपरी

चाडपर्वमा बजारमा मनपरी

चाडपर्वमा बजारमा मनपरी

चाडपर्वमा बजारमा मनपरी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक १३ २०८३
बिहिवार, कार्तिक १३ २०८३
  • नेपालीहरूको लागि चाडपर्व उत्सव नभई दशा बन्ने गरेका छन् । हर्षोलासले पर्व मनाउनुको साटो धेरै नेपालीलाई चुलिदो महँगीले तनाव दिएको छ । दसैँ गयो, तिहार र छड पर्व आउँदैछन्, दैनिक उपभोग्य वस्तुको मूल्य मनपरी छ । त्यो मनपरी नियन्त्रण गर्ने नियमनकारी निकायको सक्रियता पटक्कै छैन ।


    उत्सव र उमङ्गको वातावरण हुनुपर्ने समयमा बजारको यो बेथिति र अराजकताले आम नागरिकमा निराशा थपेको छ । बजारमा वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, कार्टेलिङ (सिन्डिकेट) गर्ने र अस्वाभाविक रूपमा नाफा कमाउने प्रवृत्ति यस समयमा निकै मौलाउने गरेको छ । बाढीपहिरोका कारण सडक सञ्जालमा आएको अवरोध वा अन्तर्राष्ट्रिय बजारको प्रभाव देखाएर व्यापारीहरूले स्थानीय बजारमा मनपरी मूल्य तोक्ने गरेका छन् । दसैं अघि खसी बोकाको मासु बुटवल बजारमा प्रति केजी १ हजार रुपैयाँ थियो, अहिले १२ सय पुगेको छ । तरकारीको मूल्य बिचौलियाले निर्धारण गर्दै आएका छन् । चाडबाडका बेला दैनिक उपभोग्य वस्तुको माग बढ्नु स्वाभाविक भए पनि त्यसको फाइदा उठाएर उपभोक्तालाई ठग्नु कानुनी र नैतिक दुवै हिसाबले अपराध हो । यो बेथिति रोक्न सरकारी संयन्त्रहरू, विशेष गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन त गरिरहेका छन्, तर ती अनुगमनहरू केवल ‘हात्तीको देखाउने दाँत’ जस्तै साबित भएका छन् । अनुगमन टोली बजार पुग्दा केही समयका लागि सामान्य सुधार देखिए पनि उनीहरू फर्किएलगत्तै व्यापारीहरू पुनः पुरानै ढर्रामा फर्कन्छन् । बुटवलमा केही साता अघि दुई÷तीन दिन बजार अनुगमन भएका समाचार आए । त्यो अनुगमनले  उपभोक्तालाई राहत दिन सक्नुपर्दथ्यो, तर कुनै प्रभाव देखिएन् ।

    पहुँचवाला र ठूला व्यापारीहरूमाथि कडा कारबाही नहुनु र साना खुद्रा व्यापारीलाई मात्र जरिवाना गरेर झारो टार्ने प्रवृत्तिका कारण बजारमा राज्यको उपस्थिति कमजोर देखिएको छ । मूल्यवृद्धिको यो मार भान्सामा मात्र सीमित छैन; चाडबाडको मौका छोपेर सार्वजनिक यातायातमा भइरहेको ब्रह्मलुट र दसैँको सपिङमा लत्ताकपडामा हुने ठगी अर्को पिडादायक पाटो हो । गाउँ घर फर्कने लाखौँ यात्रुहरू सवारी साधनको अभाव, टिकटमा कालोबजारी र तोकिएको भन्दा बढी भाडा तिर्न विवश छन् । गाडीमा कोच्चिएर, जोखिमपूर्ण यात्रा गर्दा पनि बढी भाडा असुलिने यो बेथिति हरेक वर्ष दोहोरिन्छ । 


    संविधानले नागरिकको खाद्य सम्प्रभुता र स्वच्छ बजारको हक सुनिश्चित गरेको छ । यस्तो अवस्थामा सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसलहरूको संख्या र दायरा बढाउनु पर्छ, जसले गर्दा दुर्गम र विपन्न वर्गसम्म राहत पुगोस् । अनुगमनलाई मौसमी वा चाडपर्वमुखी मात्र नबनाई बाह्रै महिना चुस्त र प्रभावकारी बनाउनु आवश्यक छ । कालोबजारी, नाफाखोरी र मिसावट गर्नेहरूलाई कडा कानुनी दायरामा ल्याएर जेल सजाय र भारी जरिवाना नगरेसम्म बजार सुध्रिने देखिँदैन ।


    चाडबाडको समयमा नागरिकलाई राहत दिनु र बजारलाई सन्तुलनमा राख्नु राज्यको प्रमुख दायित्व हो । तसर्थ, सरकारले केवल भाषण र आश्वासनमा मात्र सीमित नभई, बजारको बेथिति अन्त्य गर्न तत्काल ठोस कदम चालोस्, ताकि आम नागरिकले महँगीको मारमा नपरी ढुक्कसँग चाडपर्व मनाउन सकून् । तहगत सरकारबीच सहकार्य गरी बजारलाई लयमा हिडाउन आवश्यक छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij