इन्धन खपत घटाउने र सरकारी खर्च कटौती गर्ने उद्देश्यले सरकारले परीक्षणका रूपमा लागू गरेको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले मुलुकको शिक्षा क्षेत्रमा अन्योल सिर्जना गरेको छ । विशेषगरी विद्यालय तहको पठनपाठन व्यवस्थापन, निर्धारित वार्षिक पाठ्यघण्टाको परिपूर्ति र बालबालिकाको सिकाइ निरन्तरतामा यसले प्रत्यक्ष नकारात्मक असर पार्न थालेपछि नीतिगत निर्णयको व्यावहारिकतामाथि नै गम्भीर प्रश्न उठेको छ ।
नेपालको शैक्षिक पात्रोमा यसअघि नै चाडपर्व, दिवस तथा स्थानीय बिदाहरूको संख्या निकै धेरै छ । त्यसमाथि सातामा लगातार दुई दिन (शनिबार र आइतबार) विद्यालय बन्द हुँदा वर्षभरिको कुल कार्यदिन ह्वात्तै घट्ने निश्चित छ । सीमित कार्यदिनभित्र पाठ्यक्रम विकास केन्द्रले तोकेको पाठ्यभार पूरा गर्न शिक्षकहरूलाई हम्मेहम्मे पर्ने देखिन्छ । हतारमा पाठ सक्ने प्रवृत्तिले विद्यार्थीको सिकाइ गुणस्तर खस्किने र परीक्षाकेन्द्रित रटान मात्र बढ्ने जोखिम उत्तिकै छ ।
अर्काेतर्फ, दुईदिने बिदाले शहरी तथा कामकाजी अभिभावकहरूमाथि थप मानसिक र व्यवहारिक बोझ थपिदिएको छ । आमाबाबु दुवै कार्यालय वा काममा व्यस्त रहँदा घरमा एक्लै हुने बालबालिकाको खाली समय सिर्जनात्मक काममा भन्दा बढी मोबाइल, टेलिभिजन र अन्य विद्युतीय ग्याजेटमा बित्न थालेको छ । बालबालिकामा बढ्दो डिजिटल लतले उनीहरूको शारीरिक, मानसिक र बौद्दिक विकासमा दीर्घकालीन असर पार्ने मनोविद् तथा अभिभावकहरूको चिन्ता स्वाभाविक छ । विद्यालयको अनुशासित वातावरणबाट लगातार दुई दिन टाढा रहँदा सिकाइको लय बिग्रने समस्या पनि देखिएको छ ।
संघीय सरकारको यो निर्णय अव्यावहारिक ठहर गर्दै सुर्खेतको सिम्ता, जुम्लाको कनकासुन्दरी र तातोपानीलगायतका स्थानीय तहहरूले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय लिनुले नीति निर्माणमा देखिएको समन्वय अभावलाई छर्ल..पारेको छ । संवैधानिक रूपमैमाध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा निहित रहेको अवस्थामा सरोकारवालासँग पर्यात छलफल नगरी लादिएको निर्णय कार्यान्वयन हुन नसक्नु अनौठो होइन् ।
अतः सरकारले इन्धन बचाउने नाममा बालबालिकाको भविष्य र शैक्षिक गुणस्तरसँग सम्झौता गर्नु हुँदैन । अन्य सरकारी कार्यालयका हकमा वैकल्पिक उपाय खोज्न सकिए पनि संवेदनशील मानिने शिक्षा क्षेत्रलाई दोहोरो बिदाको मारमा पार्नु उचित होइन् । स्थानीय तह, शिक्षक, अभिभावक र शिक्षाविद्हरूको सुझावलाई आत्मसात गर्दै संघीय सरकारले विद्यालय क्षेत्रका लागि आइतबारको बिदा तत्काल पुनर्विचार गरी पठनपाठनलाई नियमित बनाउनु नै आजको आवश्यकता हो ।



