यादव घिमिरे
भनिन्छ ‘सफा घर, सुखी परिवार’। तर आफ्नो घर सफा गर्दा छिमेकीको आँगन, सडक, सार्वजनिक स्थान, र नदीनालालाई डम्पिङ साइट बनाउने हाम्रो चेतनाले कस्तो समाज निर्माण गर्दै छ ? फोहोरलाई आँखाबाट ओझेल पार्नु समाधान होइन, बरु आउँदो पुस्ताका लागि एक प्रकारको वातावरणीय युद्धको बीजारोपण हो । वर्तमान समयमा हाम्रा सहरहरू मात्र होइन, पवित्र नदीनाला, हिमालका चुचुरा र गाउँघरसमेत फोहोरको गम्भीर चपेटामा परिरहेका छन् । काठमाडौँको फोहोर व्यवस्थापनमा देखिएको सिसडोल तथा बञ्चरेडाँडाको सङ्कट र पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै सिर्जना भएको ल्यान्डफिल साइट स्थानान्तरणको चटारोले नेपालमा फोहोरमैलाको सङ्कट कति विकराल छ भन्ने कुरा छलङ्ग पारेको छ । फोहोरमैलालाई केवल आफ्नो घर र आँगनबाट बाहिर फाल्ने काम नलाग्ने वस्तु ठान्ने परम्परागत चेतना र व्यवस्थापनको पुरातन शैलीले अब हाम्रा गाउँघर, सहर र पर्यावरण टिक्न सक्ने अवस्थामा छैनन् ।
मानव सभ्यताको विकास, तीव्र औद्योगिकीकरण, सहरीकरण र जनसंख्या वृद्धिसँगै विश्वभर नै फोहोरमैला उत्पादनको परिमाण र घनत्व अस्वाभाविक रूपमा बढिरहेको छ । मानिसले आफ्नो दैनिक जीवनयापन, औद्योगिक क्रियाकलाप र व्यावसायिक गतिविधिहरू सञ्चालन गर्ने क्रममा प्रयोग गरेर बाँकी रहेका, अनुपयोगी वा परित्यक्त वस्तुहरू नै फोहोरमैला हुन् । विगतमा फोहोरमैलालाई केवल एउटा विसर्जन गर्नुपर्ने झन्झटिलो विजातीय तत्त्वका रूपमा मात्र हेरिन्थ्यो। तर, आधुनिक युगमा यसलाई जनस्वास्थ्य, वातावरण संरक्षण र पारिस्थितिकीय प्रणालीसँग अभिन्न रूपमा जोडेर हेर्न थालिएको छ ।
परम्परागत रूपमा फोहोरलाई सङ्कलन गरेर कुनै एक ठाउँमा थुपार्ने वा नदीनाला र खुला क्षेत्रमा फाल्ने आत्मघाती चलन थियो । यसले गर्दा वायु, जल र जमिन प्रदूषित भई अनेकौँ महामारी र वातावरणीय सङ्कटहरू निम्तिएका छन् । यसै पृष्ठभूमिमा फोहोरमैलाको दिगो व्यवस्थापनको वैज्ञानिक अवधारणा अगाडि आएको हो। दिगो व्यवस्थापन भन्नाले वर्तमान पुस्ताको आवश्यकता पूर्ति गर्दा आगामी पुस्ताको अधिकार र वातावरणीय सन्तुलनमा कुनै आँच नपु¥याई, आर्थिक रूपमा सम्भाव्य, प्राविधिक रूपमा उपयुक्त र सामाजिक रूपमा स्वीकार्य तरिकाले फोहोरको व्यवस्थापन गर्नु हो । यो केवल फोहोर फाल्ने प्राविधिक प्रक्रिया मात्र होइन, बरु फोहोरलाई स्रोतका रूपमा रूपान्तरण गर्ने आधुनिक र वैज्ञानिक पद्धति हो ।
विगत र वर्तमानको फोहोरमैलाको चरित्रलाई तुलना गर्ने हो भने यसको प्रकृति र स्वरूपमा संरचनात्मक परिवर्तन आएको देखिन्छ । नेपाल जस्ता विकासोन्मुख देशहरूमा परम्परागत रूपमा उत्पादित हुने फोहोर र आधुनिक समयमा निस्कने फोहोरको रासायनिक एवं भौतिक अवयव पूर्णतः भिन्न छ । केही दशक अघिसम्म नेपालका सहरहरूमा निस्कने फोहोरमा ७० देखि ८० प्रतिशत हिस्सा प्राकृतिक रूपमा कुहिने जैविक फोहोरको हुन्थ्यो, जुन माटोमा सजिलै विलीन भएर जान्थ्यो । तर, हालका वर्षहरूमा आधुनिक बजारको विस्तार, प्याकेज्ड खानेकुरा, प्लास्टिकका बोतल, क्यान र जङ्क फुडको बढ्दो संस्कृतिसँगै नकुहिने अजैविक फोहोरको मात्रा तीव्र रूपमा बढेको छ ।
यसका साथै सूचना र प्रविधिको तीव्र विकासले मोबाइल, ल्यापटप, पुराना ब्याट्री र चार्जर जस्ता विद्युतीय उपकरणहरूको विसर्जन अर्थात् ई–वेस्टको डरलाग्दो बाढी नै ल्याइदिएको छ । यस्ता विद्युतीय फोहोरमा सीसा, मर्करी र क्याडमियम जस्ता हानिकारक गह्रौँ धातुहरू हुन्छन्, जसले माटो र भूमिगत जलस्रोतलाई दीर्घकालसम्मका लागि विषाक्त बनाउँदै लगेका छन् । त्यस्तै अनलाइन डेलिभरी र उपभोक्तावादी प्रवृत्तिका कारण प्लास्टिकका कप, चम्चा, प्लेट र सपिङ झोलाहरू जस्ता हल्का तर धेरै ठाउँ ओगट्ने, एकपटक मात्र प्रयोग हुने प्लास्टिकले हाम्रो सङ्कलन प्रणालीको ठूलो हिस्सा ओगटेको छ ।
नेपालको विशिष्ट भौगोलिक बनोट, तीव्र शहरीकरण र जलवायु संवेदनशीलताका कारण यहाँ फोहोरमैलाका विशिष्ट स्वरूप र क्षेत्रीय चुनौतीहरू देखा परेका छन् । अव्यवस्थित सहरीकरणका कारण देशका प्रमुख सहरहरूमा फोहोरको परिमाण अत्यधिक बढेको छ, जहाँ घरायसी, व्यापारिक र संस्थागत फोहोरको सम्मिश्रण हुन्छ। साँघुरा सडक, उपयुक्त सङ्कलन संयन्त्रको अभाव र आधुनिक जीवनशैलीका कारण यस्तो सहरी फोहोर सडक, गल्ली र सार्वजनिक चोकहरूमा थुपार्ने अशोभनीय प्रवृत्ति छ, जसले सहरको सौन्दर्य र जनस्वास्थ्यमा प्रत्यक्ष प्रहार गरेको छ ।
अस्पताल, क्लिनिक, प्रयोगशाला र औषधि पसलहरूबाट निस्कने चिकित्साजन्य फोहोर अत्यन्तै संवेदनशील र जोखिमपूर्ण हुन्छ । यसमा सिरिन्ज, रगत तथा जैविक तरल पदार्थ लतपतिएका कपडा, काटिएका मानव अङ्ग, म्याद सकिएका औषधि र सङ्क्रामक रसायनहरू हुन्छन्। यस्ता फोहोरलाई सामान्य घरायसी फोहोरसँग मिसाएर फाल्दा वा खुला रूपमा विसर्जन गर्दा एचआईभी, हेपाटाइटिस र अन्य घातक सङ्क्रामक रोगहरू महामारीका रूपमा फैलिने उच्च जोखिम रहन्छ । फोहोरको यो सङ्कट सहरी इलाकामा मात्र सीमित छैन, यसले हाम्रा राष्ट्रिय गौरवका प्रतीक सुन्दर हिमालहरूलाई समेत कुरूप बनाउँदै लगेको छ। नेपालको पर्वतारोहण र पदयात्रा पर्यटनका कारण हिमाली क्षेत्र, विशेषगरी सगरमाथा, अन्नपूर्ण र मनास्लु क्षेत्रमा फोहोरमैलाको समस्या विकराल बन्दै गएको छ। पर्वतारोहीहरूले छोडेका अक्सिजन सिलिन्डर, पाल, प्लास्टिकका डब्बा, पुराना डोरी र मानव मलमूत्र अत्यधिक चिसोका कारण दशकौँसम्म सड्दैनन्। यसले गर्दा हाम्रा हिमालहरू विश्वकै सबैभन्दा अग्ला फोहोरका थुप्राहरूमा परिणत हुने खतरा बढेको छ, जसले जैविक विविधता र हिमनदीको स्वच्छतामा गम्भीर धक्का पु¥याएको छ।
नेपालका प्रमुख धार्मिक र प्राकृतिक नदीहरू फोहोर फाल्ने डम्पिङ साइट जस्ता बनेका छन् । ढल सिधै नदीमा मिसाउने, उद्योगको रासायनिक प्रदूषित पानी बगाउने र नदी किनारमा प्लास्टिक तथा मरेका जनावर फाल्ने प्रवृत्तिले नदीको पारिस्थितिकीय प्रणाली ध्वस्त भएको छ, जसले गर्दा जलचरहरू सङ्कटमा परेका छन् र पिउने तथा सिँचाइ गर्ने पानी विषाक्त बनेको छ । यसबाहेक भूकम्प, बाढी, पहिरो र आगलागी जस्ता प्राकृतिक विपद्का समयमा ठूलो परिमाणमा उत्पन्न हुने विपद्जन्य फोहोर अर्को जटिल चुनौती हो । वि.सं. २०७२ को भूकम्पका बेला भत्किएका घरका भग्नावशेषको व्यवस्थापन ठूलो सङ्कट बनेको थियो भने बाढी र पहिरोले बगाएर ल्याउने माटो, ढुङ्गा, रुखका लगठ्ठाहरू र मृत चौपायाको समयमै व्यवस्थापन नहुँदा विपद्पछि महामारी फैलिने र जलस्रोतहरू थुनिने जोखिम सधैँ रहन्छ ।
काठमाडौँ र पोखरा जस्ता महानगरहरूले फोहोरको दीर्घकालीन समाधान खोज्न नसक्नुमा “आउट अफ साइट, आउट अफ माइन्ड” अर्थात् आफ्नो आँखाभन्दा टाढा लैजाने परम्परागत र गैरजिम्मेवार नीति नै मुख्य रूपमा दोषी छ । देशको राजधानीसमेत रहेको काठमाडौँ उपत्यकामा दैनिक करिब १,२०० मेट्रिक टनसम्म फोहोर उत्पादन हुन्छ, जसको झन्डै ६० प्रतिशत हिस्सा काठमाडौँ महानगरपालिका एक्लैले ओगट्छ । काठमाडौँको फोहोरलाई वर्षौँदेखि नुवाकोट र धादिङको सिमानामा पर्ने सिसडोल र हाल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गरिँदै आइएको छ । यहाँ वैज्ञानिक वर्गीकरण बिना नै सबै फोहोर थुपार्दा स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको छ, जसका कारण समय–समयमा स्थानीयको आन्दोलन र फोहोर उठ्न नसक्ने अवस्था सिर्जना हुने गर्छ ।
नेपालमा नीति र कानुनको कमी छैन । “फोहोरमैला व्यवस्थापन ऐन, २०६८” ले फोहोरमैला व्यवस्थापनको मुख्य र अन्तिम जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई सुम्पेको छ। ऐनको दफा ६ अनुसार फोहोरमैला उत्पादन गर्ने व्यक्ति वा निकायले आफ्नो घर, कार्यालय वा व्यवसायबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने गरी स्रोतमै छुट्ट्याउनुपर्ने कानुनी दायित्व तोकेको छ । त्यसैगरी अस्पताल, क्लिनिक र उद्योगहरूबाट निस्कने रासायनिक वा सङ्क्रामक फोहोरलाई सामान्य फोहोरसँग मिसाउन नपाइने र उत्पादक आफैँले सुरक्षित रूपमा प्रशोधन गर्नुपर्ने स्पष्ट व्यवस्था छ । जथाभाबी फोहोर फाल्ने वा ऐन विपरीत कार्य गर्ने व्यक्ति तथा संस्थालाई कसुरको प्रकृति हेरी जरिबाना तथा कानुनी कारबाही गर्न सक्ने अधिकारसमेत स्थानीय निकायलाई दिइएको छ । तर, कानुनको फितलो कार्यान्वयन र दण्डहीनताका कारण यो ऐन केवल कागजमै सीमित छ ।
फोहोरका यी विविध र जटिल स्वरूपलाई परास्त गर्न विश्वका केही विकसित देशहरूले अवलम्बन गरेका मोडलहरू नेपालका लागि मार्गदर्शक बन्न सक्छन् । जापान संसारमै फोहोर व्यवस्थापन र वर्गीकरणमा सबैभन्दा कडा र उत्कृष्ट देशहरूमध्ये एक मानिन्छ । जापानको टोकुशिमा प्रान्तमा पर्ने कामिकात्सु गाउँ यसको सबैभन्दा ठूलो उदाहरण हो । त्यहाँ फोहोरलाई ४५ भन्दा बढी फरक–फरक वर्गमा वर्गीकरण गरेर विसर्जन वा पुनःप्रयोग गरिन्छ । त्यहाँ नागरिकहरू आफैँले प्लास्टिकको बोतलको बिर्को, लेबल र बोतललाई समेत छुट्ट्याएर सफा गरी विसर्जन केन्द्रमा लैजान्छन् । त्यहाँ जथाभाबी फोहोर फाल्नुलाई सामाजिक अपराध र कडा कानुनी सजायको भागीदार मानिन्छ, जसले गर्दा जापानले शून्य फोहोरको लक्ष्य प्राप्त गरिरहेको छ । स्विडेनले फोहोर व्यवस्थापनमा यति ठूलो क्रान्ति गरेको छ कि त्यहाँ उत्पादन हुने कुल फोहोरको केवल १ प्रतिशत मात्र ल्यान्डफिल साइटमा जान्छ, बाँकी ९९ प्रतिशतबाट ऊर्जा र बिजुली निकालिन्छ। स्विडेनमा “उत्पादकको विस्तारित जिम्मेवारी” नीति छ, जसअन्तर्गत सामान उत्पादन वा प्याकेजिङ गर्ने कम्पनीहरू नै ती सामानका खाली बट्टा, प्याकेजिङ वा पुराना सामान सङ्कलन र पुनर्चक्रण गर्न जिम्मेवार हुनुपर्छ ।
फोहोरको बद्लिँदो र विविध स्वरूपलाई सामना गर्न विश्वव्यापी रूपमा ‘फोर आर’ अर्थात् न्यूनीकरण (रिड्युस), पुनः प्रयोग (रियुज), पुनर्चक्रण (रिसाइकल) र कुहाउने वा मल बनाउने (रोट) सिद्धान्तलाई अझ कडा रूपमा आत्मसात् गर्नु आवश्यक छ । प्याकेज्ड र जङ्क फुडको प्रयोग घटाउन, एकपटक मात्र प्रयोग हुने प्लास्टिकलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउन र हिमाल तथा नदी क्षेत्रमा प्लास्टिक लैजान निषेध गरेर फोहोर न्यूनीकरण गर्न सकिन्छ । सामानहरू बिग्रिनासाथ फाल्नुको सट्टा मर्मत गरेर पुनः प्रयोग गर्ने संस्कृति बसाल्नुपर्छ भने प्लास्टिक, सिसा र धातुजन्य नयाँ प्रकृतिका फोहोरलाई उद्योगहरूमार्फत पुनर्चक्रण गरी कच्चा पदार्थका रूपमा प्रयोग गर्नुपर्छ। साथै जैविक फोहोरलाई छुट्ट्याएर कम्पोस्ट मल वा जैविक ग्याँसमा परिणत गर्नु आजको अपरिहार्य आवश्यकता हो ।
नेपालको विशिष्ट फोहोरमैला समस्या समाधानका लागि अस्पतालहरूले इन्सिनेरेटर (जलाउने मेसिन) को सट्टा सुरक्षित रूपमा कीटाणुशोधन गर्ने आधुनिक ‘अटोकलेभिङ’ प्रविधिको प्रयोग गरी चिकित्साजन्य फोहोरलाई सामान्य फोहोरमा बदल्नुपर्छ । हिमाली क्षेत्रमा हिमाल चढ्ने वा पदयात्रामा जाने पर्यटकहरूले आफूले लगेका प्लास्टिक र डब्बाहरू अनिवार्य रूपमा फिर्ता ल्याउनुपर्ने नियमलाई कडाइका साथ लागू गरी धरौटी जफत गर्ने प्रणाली चुस्त बनाउनुपर्छ । स्थानीय सरकारले भूकम्प वा बाढीका बेला निस्कने भग्नावशेष थुपार्ने र प्रशोधन गर्ने निश्चित स्थानहरू पहिल्यै तोकेर राख्नुपर्छ भने नदीमा ढल मिसाउन पूर्ण प्रतिबन्ध लगाउँदै नदी किनारमा ‘सिसिटिभी’ जडान गरी फोहोर फाल्नेलाई कडा जरिबाना तिराउनुपर्छ ।
निष्कर्षमा, फोहोरमैलाको दिगो व्यवस्थापन आजको आधुनिक मानव समाजको अपरिहार्य आवश्यकता हो। फोहोरमैला केवल सहरी भान्छामा मात्र सीमित नरहेर अस्पताल, नदीनाला, विपद्का भग्नावशेष र हाम्रा पवित्र हिमालहरूसम्म पुगिसकेकाले यसको व्यवस्थापन बहुआयामिक हुनपर्छ । फोहोरमैला केवल दायित्व र सङ्कट मात्र होइन, यसलाई उपयुक्त ढङ्गले प्रशोधन गर्दा यो आर्थिक उपार्जन र रोजगारी सिर्जनाको माध्यम अर्थात् “फोहोरबाट मोहोर” बन्न सक्छ । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को प्रभावी कार्यान्वयन, स्थानीय तहको सक्रियता र नागरिकको सचेत व्यवहारबाट मात्र फोहोरलाई समस्याबाट समृद्धिमा बदल्न सकिन्छ । स्वच्छ हिमाल, कञ्चन नदी र सफा सहर नै समृद्ध नेपालका आधारशिला हुन् । यस अभियानमा राज्यको दृढ नीति, स्थानीय सरकारको उत्तरदायित्व र प्रत्येक नागरिकको जिम्मेवाररी नै आजको अपरिहार्य आवश्यकता हो ।
(घिमिरे काठमाडौँ महानगरपालिकाका पूर्व निर्देशक, हुन् ।)



