प्रकाश भुसाल
बुटवललाई तेस्रो आँखाबाट हेर्दा विकासका ठूला संरचना मात्रै देखिँदैनन्, नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका अनेकौँ समस्या पनि देखिन्छन् । कतिपय समस्या यस्ता छन्, जसलाई हामीले वर्षौंदेखि देखिरहेका छौँ, भोगिरहेका छौँ, तर समाधानका लागि आवश्यक गम्भीरता देखाउन सकेका छैनौँ । यस्तै एउटा महत्वपूर्ण र संवेदनशील विषय हो, बुटवल उपमहानगरपालिकाको मुख्य गेटअगाडि रहेको अमरपथ हाटबजार ।
अब बुटवलको मेयर बन्ने नेतृत्वले यो विषयलाई नबिर्सियोस् ।
अमरपथ हाटबजार केवल तरकारी किनबेच गर्ने ठाउँ मात्रै होइन। यो हजारौँ नागरिकको दैनिक भान्सासँग जोडिएको सार्वजनिक स्थल हो । बिहानैदेखि साँझसम्म सयौँ व्यापारी र हजारौँ उपभोक्ताको चहलपहल हुने यस बजारको अवस्था, सरसफाइ र व्यवस्थापनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्यमा प्रभाव पार्न सक्छ । त्यसैले यो बजारको सुधारलाई सामान्य भौतिक संरचना निर्माणको विषयका रूपमा मात्रै हेर्नु हुँदैन ।
हामीले कहिल्यै गम्भीर भएर सोंचेका छौँ, अमरपथ हाटबजारको जमिनमा के जम्मा भइरहेको छ ? विभिन्न ठाउँ र जमिनबाट उत्पादन भएर बजारसम्म आइपुग्ने तरकारीमा प्रयोग भएका विषादी तथा कीटनाशक पदार्थको अवशेष कहाँ पुगिरहेको छ ? तरकारी राख्ने पेटी, बजारका गल्ली र जमिनमा ती पदार्थका अवशेष जम्मा भइरहेका त छैनन् ? त्यही वातावरणमा बिक्री हुने तरकारी फेरि नागरिकको भान्सामा पुगिरहेको त छैन ?
यी प्रश्न केवल प्रश्नका लागि उठाइएका होइनन् । बजारको सरसफाइ, खाद्य स्वच्छता र उपभोक्ताको स्वास्थ्यसँग जोडिएका महत्वपूर्ण सरोकार हुन् । बजारमा तरकारी बिक्री गर्नु मात्रै व्यापारीको जिम्मेवारी होइन, बिक्री हुने वातावरण स्वच्छ राख्नु पनि उत्तिकै आवश्यक छ । त्यसैगरी बजार व्यवस्थापन गर्ने निकायले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ ।
हजारौँ नागरिकको भान्सामा पुग्ने तरकारी बिक्री हुने ठाउँ नै व्यवस्थित छैन भने स्वच्छ बजारको अपेक्षा कसरी गर्ने ? बुटवल उपमहानगरपालिकाको मुख्य गेटअगाडि नै रहेको अमरपथ हाटबजारको सुधार स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्ने विषय हो । उपमहानगरपालिकाको कार्यालय नजिकै रहेको यो बजारलाई नमुना र व्यवस्थित बजारका रूपमा विकास गर्न सकिन्छ । त्यसका लागि ठूलो भाषणभन्दा व्यावहारिक योजना, नियमित अनुगमन र सामान्य पूर्वाधार सुधारको आवश्यकता छ ।
बजार सुधारका लागि गर्नैपर्ने चार महत्वपूर्ण काम
१. तरकारी राख्ने पेटी टायलयुक्त बनाउनुपर्छ
अहिले बजारका तरकारी राख्ने पेटीहरूलाई सरसफाइ गर्न सहज हुने गरी व्यवस्थित बनाउन आवश्यक छ । सबै पेटीमा टायल लगाउने व्यवस्था हुनुपर्छ ।
टायलयुक्त सतह हुँदा फोहोर जम्ने सम्भावना कम गर्न र नियमित रूपमा सफा गर्न सहज हुन्छ । त्यस्तै, कम्तीमा पाँचवटा स्टल बराबर एउटा धाराको व्यवस्था अनिवार्य गर्नुपर्छ । पानीको पर्याप्त व्यवस्था नभएसम्म दैनिक सरसफाइलाई प्रभावकारी बनाउन कठिन हुन्छ ।
बजारमा तरकारी राख्ने ठाउँ सफा हुनु भनेको उपभोक्ताले किन्ने वस्तुको स्वच्छतासँग पनि जोडिएको विषय हो। त्यसैले पेटी निर्माण र पानीको व्यवस्था बजार सुधारको पहिलो आधार बन्नुपर्छ ।
२. दैनिक सरसफाइ र धुने व्यवस्था अनिवार्य गर्नुपर्छ
बजारमा हरेक दिन तरकारी बिक्रीवितरण सुरु हुनुअघि सम्पूर्ण बजार क्षेत्र सफा गरी पानीले धुने व्यवस्था मिलाउनुपर्छ । दिनभरि तरकारीको कारोबार हुँदा विभिन्न प्रकारका फोहोर, माटो, पातपतिङ्गर र अन्य अवशेष जमिनमा जम्मा हुन्छन् । त्यसमा विषादी तथा कीटनाशक पदार्थका अवशेषसमेत हुन सक्ने भएकाले नियमित सरसफाइ आवश्यक छ ।
बजारलाई एकपटक सफा गरेर मात्रै पुग्दैन । दैनिक सरसफाइलाई नियमित कार्यतालिकामा राख्नुपर्छ । बजार धोएपछि फोहोर पानी सहज रूपमा बाहिर निस्कने व्यवस्था पनि हुनुपर्छ। सफा बजारका लागि सरसफाइ गर्ने जनशक्ति, आवश्यक पानी र व्यवस्थापनको जिम्मेवारी स्पष्ट हुनुपर्छ ।
३. गल्लीमा व्यवस्थित नाली र पानीको निकास बनाउनुपर्छ
बजारका गल्लीमा पानी जम्मा हुने वा फोहोर पानी सहज रूपमा बाहिर नजाने अवस्था रहनु हुँदैन । प्रत्येक गल्लीमा पानी सलल बग्ने गरी व्यवस्थित बन्द नाली निर्माण गर्नुपर्छ । नालीमाथि ग्रेनाइट लगाएर बजारलाई आकर्षक बनाउनुका साथै नियमित रूपमा फोहोर सफा गर्न पनि सहज हुने संरचना तयार गर्नुपर्छ ।
बजार धुने पानी र दैनिक कारोबारबाट निस्कने फोहोर पानी उचित निकासमार्फत बाहिर जाने व्यवस्था हुनुपर्छ । नाली निर्माण गर्दा पानी जम्ने, दुर्गन्ध फैलिने र फोहोर थुप्रिने समस्या नआउने गरी दीर्घकालीन योजना बनाउनुपर्छ ।
बजारको वास्तविक सरसफाइ जमिन र पेटी सफा गरेर मात्रै पूरा हुँदैन। पानीको निकास व्यवस्थित नहुँदासम्म बजारलाई पूर्ण रूपमा स्वच्छ राख्न सकिँदैन ।
४. बजारको सौन्दर्यीकरण र नियमित रङरोगन गर्नुपर्छ
अमरपथ हाटबजारलाई सफा मात्रै होइन, आकर्षक र व्यवस्थित पनि बनाउनुपर्छ । बजारभित्र रहेका पोल, रेलिङलगायत संरचनामा प्रत्येक वर्ष रङरोगन गर्ने व्यवस्था मिलाउनुपर्छ । बजारको भौतिक स्वरूपमा नियमित सुधार गर्दा बजारप्रति उपभोक्ता र व्यापारी दुवैको अपनत्व बढ्छ ।
बजारको सौन्दर्यीकरण भनेको बाहिरी सजावट मात्रै होइन, व्यवस्थित व्यापारिक वातावरण निर्माण गर्नु पनि हो । सफा गल्ली, टायलयुक्त पेटी, उचित पानीको व्यवस्था, व्यवस्थित नाली र आकर्षक संरचनाले अमरपथ हाटबजारलाई नमूना बजारका रूपमा विकास गर्न सहयोग पु¥याउन सक्छ ।
स्थानीय सरकारको प्राथमिकतामा नागरिकको भान्सा पर्नुपर्छ
बुटवलको विकास भनेको सडक कालोपत्रे गर्नु, भवन निर्माण गर्नु, ठूला आयोजना घोषणा गर्नु र आकर्षक संरचना बनाउनु मात्रै होइन । नागरिकले दैनिक उपभोग गर्ने खाद्यान्न तथा तरकारी कहाँबाट आउँछन्, कस्तो वातावरणमा बिक्री हुन्छन् र त्यसको स्वच्छता कसरी कायम गरिएको छ भन्ने विषय पनि विकासकै महत्वपूर्ण हिस्सा हो ।
हामीले विकासको चर्चा गर्दा नागरिकको स्वास्थ्यसँग जोडिएका आधारभूत विषयलाई बिर्सनु हुँदैन । हजारौँ नागरिक दैनिक पुग्ने बजारमा स्वच्छ पानी, नियमित सरसफाइ, व्यवस्थित नाली र सुरक्षित व्यापारिक वातावरण उपलब्ध गराउनु स्थानीय सरकारको महत्वपूर्ण जिम्मेवारी हो ।
अमरपथ हाटबजारको सुधारका लागि अघि सारिएका यी सुझाव कुनै असम्भव वा अत्यन्त महँगा योजना होइनन्। सामान्य पूर्वाधार सुधार, नियमित व्यवस्थापन र जिम्मेवार नेतृत्व भएमा कार्यान्वयन गर्न सकिने विषय हुन् । आवश्यक छ त केवल यसलाई प्राथमिकतामा राख्ने सोच र काम गर्ने इच्छाशक्ति ।
बजारमा व्यापार गर्ने व्यापारीले पनि सरसफाइमा जिम्मेवारी लिनुपर्छ । उपभोक्ताले पनि स्वच्छ बजारको अपेक्षा राख्नुपर्छ । तर यी सबै कामलाई एकीकृत रूपमा अघि बढाउने मुख्य जिम्मेवारी बजार व्यवस्थापन गर्ने स्थानीय सरकारकै हो ।
अझ महत्वपूर्ण कुरा, उपमहानगरपालिकाको मुख्य गेटअगाडि नै रहेको बजारको अवस्था सुधार गर्न सम्बन्धित निकायलाई कुनै टाढाको क्षेत्र खोज्नुपर्ने अवस्था छैन । समस्या देख्न, बुझ्न र समाधानको प्रक्रिया सुरु गर्न सकिने स्थानमै यो बजार छ ।
आगामी मेयरलाई मेरो आग्रह
अब बुटवलको नेतृत्व सम्हाल्ने व्यक्तिले अमरपथ हाटबजारलाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ । नागरिकको स्वास्थ्यसँग जोडिएको यस्तो विषयलाई चुनावी भाषण र आश्वासनमा मात्रै सीमित राख्नु हुँदैन । बजारको वास्तविक अवस्था बुझ्ने, व्यापारी र उपभोक्तासँग छलफल गर्ने, आवश्यक बजेट छुट्याउने र सुधारका कामलाई कार्यान्वयनमा लैजाने जिम्मेवारी आगामी नेतृत्वले लिनुपर्छ । बुटवललाई सफा, सुन्दर र व्यवस्थित सहर बनाउने सपना देख्ने हो भने त्यसको सुरुवात नागरिकको दैनिक जीवनसँग जोडिएका यस्ता ठाउँबाट पनि हुनुपर्छ । हजारौँ नागरिकको भान्सामा पुग्ने तरकारी बिक्री हुने बजारलाई स्वच्छ र व्यवस्थित बनाउनु कुनै अतिरिक्त सुविधा होइन, यो नागरिकको आधारभूत अपेक्षा हो ।
अन्त्यमा आगामी मेयरलाई मेरो सीधा प्रश्न छ–उपमहानगरपालिकाको गेटअगाडि नै रहेको, हजारौँ नागरिकको भान्सासँग प्रत्यक्ष जोडिएको अमरपथ हाटबजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन अझै कति समय कुर्ने ?
बुटवलको विकास कागजमा होइन, नागरिकले दैनिक प्रयोग गर्ने सार्वजनिक स्थलको अवस्थामा देखिनुपर्छ । अमरपथ हाटबजारको सुधार पनि त्यही विकासको एउटा महत्वपूर्ण उदाहरण बन्न सक्छ ।
अबको नेतृत्वले यो विषय नबिर्सियोस् । अमरपथ हाटबजारको सुधार भाषणमा होइन, व्यवहारमै देखिनुपर्छ ।



