२०८३, मंसिर ८ गते

Nov 23 2026

images
images

एयर रूटको बहसभन्दा भैरहवाबाट उडान आवश्यक, निजी क्षेत्रको अर्बौं लगानी जोखिममा

एयर रूटको बहसभन्दा भैरहवाबाट उडान आवश्यक, निजी क्षेत्रको अर्बौं लगानी जोखिममा

एयर रूटको बहसभन्दा भैरहवाबाट उडान आवश्यक, निजी क्षेत्रको अर्बौं लगानी जोखिममा

एयर रूटको बहसभन्दा भैरहवाबाट उडान आवश्यक, निजी क्षेत्रको अर्बौं लगानी जोखिममा

एयर रूटको बहसभन्दा भैरहवाबाट उडान आवश्यक, निजी क्षेत्रको अर्बौं लगानी जोखिममा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, मंसिर ३ २०८३
बुधवार, मंसिर ३ २०८३
  • भैरहवा ।
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ । भारतसँग थप हवाई प्रवेशमार्ग (एयर रुट) सम्बन्धी सहमति जुटाउने बहस चलिरहँदा भैरहवाका लागि एयर रुटको भन्दा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गराउने विषयलाई प्राथमिकता दिनुपर्छ ।


    भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नु र अर्बौं रुपैयाँ लगानी गरेर निर्माण गरिएका पर्यटन पूर्वाधार उपयोगविहीन बन्नु गम्भीर चिन्ताको विषय छ । विमानस्थल सञ्चालनका लागि आवश्यक प्राविधिक, कूटनीतिक र व्यावसायिक पहलभन्दा राजनीतिक प्रतिबद्धता र आश्वासनमै विषय सीमित भएको निजी क्षेत्रको गुनासो छ ।


    भारतसँग हवाई प्रवेशमार्गको विषयमा भइरहेको छलफललाई भैरहवाको विमानस्थल सञ्चालनसँग प्रत्यक्ष जोडेर प्रचार गरिए पनि यसबाट भैरहवाले कति लाभ पाउँछ भन्ने स्पष्ट हुनुपर्ने उनीहरूको भनाइ छ । भारतले पश्चिम बंगालको बागडोग्रा र बिहारको रक्सौल विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्न प्रस्ताव गरिरहेको अवस्थामा नेपालले पनि भैरहवा र पोखराका लागि भारतीय आकाश हुँदै सहज प्रवेशमार्ग मागिरहेको छ ।


    तर भैरहवाका लागि एयर रुट मात्रै प्रमुख समस्या नभएको सरोकारवालाहरू बताउँछन् । उनीहरूका अनुसार विमानस्थलमा जहाज आउने र जाने नियमित उडानको व्यवस्था नभएसम्म नयाँ एयर रुटको बहसले मात्रै यहाँको आर्थिक गतिविधि चलायमान बनाउन सक्दैन । एयर रुटसम्बन्धी सहमतिले काठमाडौं केन्द्रित अन्तर्राष्ट्रिय उडानलाई थप सहज बनाउने सम्भावना रहे पनि त्यसको प्रत्यक्ष लाभ गौतम बुद्ध विमानस्थलले कसरी प्राप्त गर्छ भन्ने प्रश्न महत्वपूर्ण छ ।


    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) पूर्णरूपमा उपयोग गर्न भारतसँग आवश्यक प्राविधिक सहमति जुटाउनुपर्ने देखिन्छ । न्यून भिजिबिलिटीका अवस्थामा समेत जहाज अवतरण गराउन सक्ने यो प्रणालीको प्रभावकारी प्रयोगका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमान प्राधिकरणबिच सीमावर्ती हवाई क्षेत्र व्यवस्थापनसम्बन्धी सहमति आवश्यक छ ।


    यसका लागि दुई देशका संयुक्त प्राविधिक टोलीबिच समन्वय गरी आइएलएसमा आधारित उडान विधि सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सुझाव दिए । 
    हाल यान्त्रिक प्रणालीबाट अवतरण गर्ने विमानका लागि उपलब्ध न्यूनतम भिजिबिलिटी २२०० मिटर रहेको अवस्थामा त्यसको प्राविधिक समीक्षा गरी आवश्यक सुधार गर्नुपर्ने विषय पनि उठाइएको छ । भैरहवाको विमानस्थललाई प्रभावकारी बनाउने हो भने प्राविधिक समस्याको समाधान, वायुसेवा कम्पनीलाई आकर्षित गर्ने योजना र यात्रु उत्पादन गर्ने बजार व्यवस्थापन एकसाथ अघि बढाउन आवश्यक छ ।


    काठमाडौं केन्द्रित संरचना नतोडिए भैरहवा ओझेलमै
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन हुन नसक्नुमा भारतीय हवाई क्षेत्र प्रयोगको अवरोध, आइएलएस प्रणाली प्रभावकारी रूपमा सञ्चालन नहुनु र स्वतन्त्र व्यवस्थापनको अभाव प्रमुख कारण रहेको पर्यटन व्यवसायी सिपी श्रेष्ठ बताउँछन् । अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय पूर्वाधार सुनिश्चित हुन नसक्दा विमानस्थलले अपेक्षित गति लिन सकेको छैन ।


    त्यस्तै, काठमाडौं केन्द्रित हवाई सेवा र प्रशासनिक संरचनाले पनि विमानस्थलको सम्भावना सीमित बनाएको स्थानीय व्यवसायीहरूको गुनासो छ । उनीहरूले श्रम स्वीकृति, स्वास्थ्य परीक्षण, भिसा सेन्टर, वैदेशिक रोजगार व्यवसायी तथा ठूला ट्राभल एजेन्सीका सेवा भैरहवा र बुटवलमै विस्तार गर्नुपर्ने माग गरेका छन् । वैदेशिक रोजगारीमा जाने यात्रुलाई आवश्यक सबै सेवा भैरहवामै उपलब्ध गराउनुका साथै काठमाडौंका केही अन्तर्राष्ट्रिय उडान भैरहवा सार्न सरकारले नीतिगत पहल गर्नुपर्ने उनीहरूको जोड छ ।


    यी समस्याको समाधान नगरी एयर रुटको विषयलाई मात्र प्राथमिकता दिएर विमानस्थल सञ्चालनको अपेक्षा गर्नु पर्याप्त हुँदैन । त्यसैले सरकारले भारतीय पक्षसँग हवाई क्षेत्र र आइएलएस सञ्चालनसम्बन्धी प्राविधिक सहमति जुटाउने, विमानस्थललाई आवश्यक व्यवस्थापकीय स्वायत्तता प्रदान गर्ने तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नियमित उडानका लागि आकर्षित गर्ने एकीकृत योजना ल्याउन आवश्यक छ ।


    वैदेशिक रोजगारीमा जाने यात्रुलाई आवश्यक पर्ने सम्पूर्ण सेवा भैरहवामै उपलब्ध गराउन सके खाडी मुलुकलगायत श्रम गन्तव्यका लागि यहाँबाट उडान सञ्चालन गर्ने आधार तयार हुन सक्छ । त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने केही उडान गौतमबुद्ध विमानस्थलबाट सञ्चालन गर्न वायुसेवा कम्पनीलाई प्रोत्साहित गर्ने र आवश्यक नीतिगत व्यवस्था गर्ने विषयमा पनि सरकारले स्पष्ट निर्णय लिनुपर्ने देखिन्छ ।


    स्थानीय व्यवसायीहरूको भनाइमा काठमाडौंमा केन्द्रित सेवा, सुविधा र निर्णय प्रक्रियालाई विकेन्द्रित  नगरी भैरहवाको  विमानस्थललाई प्रभावकारी बनाउन कठिन छ । विमानस्थल सञ्चालनका लागि आवश्यक निकाय र सेवा भैरहवामै उपलब्ध गराउने तथा वायुसेवा कम्पनीलाई नियमित उडानका लागि प्रोत्साहित गर्ने काम सरकारले गर्नुपर्छ ।


    पर्यटन र होटल व्यवसायमा अर्बौंको लगानी जोखिममा
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अपेक्षासहित भैरहवा, लुम्बिनी र आसपासका क्षेत्रमा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट, ट्राभल, यातायात तथा पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेको छ । भैरहवा–लुम्बिनी क्षेत्रमा मात्रै पर्यटन तथा होटल व्यवसायमा अर्बौं रुपैयाँ लगानी भएको होटल तथा रोष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष राजेश महोत्रा बताउँछन् । उनका अनुसार होटल क्षेत्रमा मात्रै एक खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । यस क्षेत्रमा पाँचतारे, चारतारे र तीनतारे होटलसहित हजारौं पर्यटकीय सेवा व्यवसाय सञ्चालनमा छन् । तर नियमित अन्तर्राष्ट्रिय उडान र विदेशी पर्यटकको आवागमन नहुँदा ती पूर्वाधारको उपयोग अपेक्षाअनुसार हुन सकेको छैन । बैंकको ऋण, ब्याज, कर्मचारी खर्च र सञ्चालन लागत धान्न नसक्ने अवस्था आउँदा निजी क्षेत्र थप संकटमा पर्दै गएको उनको भनाइ छ । राज्यले करिब ४० अर्ब रुपैयाँ खर्च गरेर निर्माण गरेको विमानस्थल सञ्चालनमा आउन नसक्दा त्यससँग जोडिएको निजी क्षेत्रको लगानीसमेत जोखिममा परेको छ । विमानस्थल सञ्चालनको आशामा लगानी गरेका व्यवसायीलाई राज्यले आश्वासन मात्र दिएर छाड्न नहुने व्यवासायीहरुको  माग छ ।


    गौतमबुद्ध विमानस्थललाई व्यावसायिक रूपमा सफल बनाउन भारतका प्रमुख सहरसँग सीधा हवाई सम्पर्क विस्तार गर्नुपर्ने ट्राभल्स व्यवसायी सञ्जय बजिमयको भनाइ छ ।  वाराणसी, गया, जयपुर तथा दक्षिण भारतका प्रमुख सहरबाट भैरहवामा नियमित उडान सञ्चालनका लागि भारतीय प्रदेश सरकार, वायुसेवा कम्पनी र ट्राभल व्यवसायीसँग समन्वय गर्न आवश्यक छ । लुम्बिनी बुद्धको जन्मस्थल भएकाले भारत, चीन, थाइल्यान्डलगायत बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका मुलुकबाट धार्मिक पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ । हिन्दू धार्मिक पर्यटकलाई समेत लक्षित गरी भारतका धार्मिक सहरसँग हवाई सम्पर्क विस्तार गर्न सके विमानस्थलको यात्रु आधार बढाउन सकिने बजिमय बताउँछन् ।
    त्यसैगरी मध्यपूर्वका श्रम गन्तव्य मुलुकमा उडान गर्ने विदेशी वायुसेवा कम्पनीलाई भैरहवालाई ट्रान्जिटका रूपमा प्रयोग गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ ।


    चार्टर उडान सञ्चालन, अन्तर्राष्ट्रिय प्रचारप्रसार र विदेशी ट्राभल एजेन्सीसँग सहकार्यलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ ।
    नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई सतह मार्गबाट भारत जान सहज बनाउने तथा भारतीय नागरिकले भैरहवाबाट तेस्रो मुलुकमा यात्रा गर्दा आवश्यक पर्ने नो अब्जेक्सन पत्र सीमावर्ती भारतीय अध्यागमन कार्यालयबाटै उपलब्ध गराउने व्यवस्थाका लागि पनि कूटनीतिक पहल आवश्यक छ ।


    विमानस्थल सञ्चालनमा आएको समयदेखि नै विभिन्न चरणमा उडान सञ्चालनका प्रयास भए पनि त्यसले निरन्तरता पाउन सकेको छैन । सन् २०२६ मार्च २५ मा थाई एयर एसियाले उडान भरेयता सात महिनाभन्दा बढी समयसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको उपलब्ध तथ्यांकले देखाउँछ । विमानस्थल सञ्चालनमा आएदेखि २०२६ मेसम्म १ हजार २१८ अन्तर्राष्ट्रिय विमान आवागमनबाट ६९ हजार ३१६ यात्रुले मात्रै सेवा लिएका थिए ।


    सरकारले विभिन्न शुल्कमा छुट तथा सहुलियतका घोषणा गरे पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नियमित उडानका लागि आकर्षित गर्न सकेको छैन । यसले विमानस्थल सञ्चालनका लागि छुट मात्रै पर्याप्त नभई यात्रु बजार, उडानको व्यावसायिक सम्भाव्यता र नीतिगत सुनिश्चितता पनि आवश्यक रहेको देखाउँछ ।


    भारतसँगको पछिल्लो हवाई मार्गसम्बन्धी छलफल र प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणलाई अवसरका रूपमा उपयोग गर्न सकिन्छ । तर भारतले आफ्नो विमानस्थलका लागि नेपालको आकाश प्रयोग गर्न प्रस्ताव गरेको विषयलाई मात्रै उपलब्धिका रूपमा प्रस्तुत गरेर भैरहवाको समस्या समाधान भएको मान्न सकिँदैन । नेपालले आफ्नो राष्ट्रिय हितअनुसार भारतीय आकाश हुँदै भैरहवामा जहाज अवतरण र उडान सञ्चालनका लागि आवश्यक सहमति सुनिश्चित गर्नुपर्छ ।


    यसका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, वायुसेवा सञ्चालक संघ, ट्राभल एजेन्सी, होटल एसोसिएसन र निजी क्षेत्रको प्रतिनिधित्व रहने उच्चस्तरीय समिति गठन गरी अन्तर्राष्ट्रिय बजारीकरण र उडान विस्तारको जिम्मेवारी दिनुपर्ने आवश्यकता छ ।


    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु भैरहवा वा लुम्बिनीको मात्रै सरोकार होइन । यो राज्यको सार्वजनिक लगानीको प्रतिफल, निजी क्षेत्रको लगानीको सुरक्षा, रोजगारी सिर्जना र लुम्बिनी प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको विषय हो ।


    त्यसैले सरकारले एयर रुटको राजनीतिक बहसभन्दा माथि उठेर आईएलएस सञ्चालनका लागि भारतसँग प्राविधिक सहमति, काठमाडौंकेन्द्रित हवाई सेवा संरचनाको अन्त्य, सरकारी सेवा विकेन्द्रीकरण र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग नियमित उडानको ठोस सम्झौतालाई प्राथमिकता दिनुपर्छ । अन्यथा अर्बौंको सार्वजनिक लगानी र निजी क्षेत्रको ठूलो पूँजी जोखिममा पारेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई कागजमा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल बनाइराख्ने अवस्था अन्त्य हुने छैन ।

     

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij