२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पुष्पलालको जन्म शताब्दी वर्ष

पुष्पलालको जन्म शताब्दी वर्ष

पुष्पलालको जन्म शताब्दी वर्ष

पुष्पलालको जन्म शताब्दी वर्ष

पुष्पलालको जन्म शताब्दी वर्ष
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, श्रावण १८ २०८१
शुक्रवार, श्रावण १८ २०८१
  • नेपाल कम्युनिष्ट पार्टीको स्थापना २२ अप्रिल १९४९ मा भएको थियो । यसका प्रमुख संस्थापक नेता क. पुष्पलाल भने अरु क. नरबहादुर कर्मचार्य, क. निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी साथै महिला नेतृ क. मोतीदेवी श्रेष्ठ थिए । यसमध्ये यो वर्ष क. पुष्पलालको जन्म शताब्दी वर्ष पनि हो । क. पुष्पलालको जन्म वि.स. १९८१ असार १५ गते भएको थियो । यसै सन्दर्भमा अहिले देशका विभिन्न कम्युनिष्ट पार्टी, संघसंस्था र विचार समूहहरुले क. पुष्पलालको जीवनी, व्यक्तित्व र कृति अनि उहाँले नेपालको राजनीतिक, आर्थिक र सामाजिक खास गरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना र त्यसको ऐतिहासिक विकासक्रममा उहाँबाट भए गरेका योगदानहरुको केही चर्चा परिचर्चा हुने गरेका छन् । यसै क्रममा सर्वप्रथम उहाँप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अभिनन्दन साथै लाल सलाम । 


    क.पुष्पलाल नेकपाका संस्थापक नेता मात्रै होइन नेपालमा सर्वप्रथम कम्युनिष्ट विचार र सिद्धान्तलाई स्थापित गर्ने पहिलो माक्र्सवादी र लेनिनवादी नेता पनि हुन् ।  जसरी रुसमा प्ले खानोवले माक्र्स–एंगेल्सद्वारा लिखित कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई रुसी भाषामा उल्था गरी रुसमा कम्युनिष्ट विचार र सिद्धान्तलाई प्रचारप्रसारमा ल्याए जसको प्रभावबाट रुसमा महान माक्र्सवादी–लेनिनवादी नेता क. लेनिन र स्टालिन लगायत हजारौ कम्युनिष्ट नेता–योद्धाहरुको जन्म भयो । त्यसैगरी क. पुष्पलालले पनि नेपालमा पहिलो पटक २००५ सालमा त्यो कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई नेपाली भाषामा अनुवाद गरेर नेपालमा विश्व सर्वहारावर्गको वैचारिक सिद्धान्त, राजनीति र कार्यक्रमलाई विजारोपण गर्ने जस्तो महान योगदान र उपलब्धि गर्नुभयो । त्यसपछि क. पुष्पलालको अर्काे महान् योगदान र उपलब्धि २००६ अर्थात् २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु हो ।


    क. पुष्पलालले नेकपाको स्थापना मात्रै नगरी १५ सेप्टेम्बर १९४९ मा नेकपाको घोषणापत्र समेत अघि सार्दै पार्टीको विचार सिद्धान्त साथमा नीति कार्यक्रम समेत त्यहाँ उल्लेख छ । तर दुःखको कुरा त्यो अनुसारको नीति कार्यक्रम नेकपा स्थापना भएको ७५ वर्ष पूरा भइसक्दा पनि सम्पन्न हुन सकिरहेको छैन । त्यसमा उल्लेखित बुँदा नं. १ देखि १२ सम्मले त्यतिबेलै नयाँ जनवादी क्रान्तिको रुपरेखा प्रष्ट देख्न सकिन्छ । तर विडम्बना आज देशका धेरै जस्तो नामधारी कम्युनिष्ट पार्टीहरुले देशमा पूँजीवादी गणतन्त्र अर्थात् नयाँ जनवादी क्रान्ति पूरा भइसक्यो भन्दै कथित समाजवादको नारा फलाक्दै हिंडिरहेका छन् । त्यसमा उल्लेखित सबै बुँदाहरुलाई यहाँ उल्लेख गर्न सम्भव छैन । तैपनि केही बुँदा जस्तो बुँदा नं. ४ मा ‘एक  कौडी पनि हर्जना नदिइकन जमिन्दारी तथा सामन्तवादी शोषणका सम्पूर्ण प्रथाहरुलाई निर्मूल पारिदिने र किसानहरुलाई भागबण्डा गरिदिने । गाउँ देहातका कर्जा र व्याजखोर प्रथालाई हटाइदिने । खेतला (खेत मजदुरहरुलाई) बाच्न योग्य ज्याला दिने ।’ त्यस्तै बुँदा नं. ५ मा ‘यातायात, बैंक, चिया बगान, खानी र उद्योग धन्दामा लगाइएका विदेशी  पूँजीहरु राज्यद्वारा जफत गरी राष्ट्रियकरण गर्ने ।’ बुँदा नं. ११ मा ‘निशुल्क सबैलाई शिक्षा र प्राथमिक शिक्षा अनिवार्य गर्ने’ आदि शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, जग्गा कसको जोत्ने घर कसको पोत्नेको जस्ता नारा त्यहाँ उल्लेख  छन् । तर आज यिनै पुष्पलालका शिष्य हौ भन्ने माले, एमाले र माओवादी लगायतका पार्टीहरुले समाजवादका नारा फलाक्दै हिडे पनि त्यतिबेला अघि सारेका ती नीति कार्यक्रम अहिले पनि जस्ताको तस्तै छन् । पूरा भएकै छैनन् ।


    क. पुष्पलालको यो पहिलो राजनीतिक चरणमा देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको बारेमा थुप्रै उपलब्धि भए । त्रिपक्षीय दिल्ली सम्झौता (राजा, राणा र कांग्रेसबीच) को विरोध भयो । त्यसले राष्ट्रिय जागरणमा ठूलो हलचल पैदा ग¥यो । किसान मजदूरहरुलाई संगठित गरी ठूलठूला किसान आन्दोलन भए । जसबाट आतंकित भई तत्कालीन कांग्रेसी सरकारले नेकपामाथि प्रतिबन्ध नै लगायो । तर २०१० सालपछि नेकपाको नेतृत्व मनमोहन अधिकारीमा गयो । त्यसपछि नेकपामाथिको प्रतिबन्ध हटाउने नाममा पार्टीलाई विस्तारै दक्षिणपन्थी अवसरवादी हुँदै राजावादीमा रुपान्तरित गराउने काम भयो । दोस्रो महाधिवेशनका महामन्त्री डा. केशर जंग रायमाझी नै राजावादी बने । २०१७ सालमा त राजा महेन्द्रले फौजी ‘कू’ नै गरी संसदलाई नै विघटन गराउन पुगे । त्यसपछि नेकपाको दरभंगा प्लेनन भारतमा बस्यो । यो सबैको समीक्षा गर्दैै पार्टीको आगामी कार्यक्रमको बारेमा छलफल हुँदा पार्टीमा दुई मतहरु देखा परे । विघटित संसदको पुनस्र्थापना यो क. पुष्पलालको मत थियो भने दोस्रो क. मोहन विक्रमको संविधानसभाको निर्वाचन भन्ने थियो ।


    यहीनिर पुष्पलालको केही कमजोरी देखा प¥यो । वास्तवमा २०१७ सालको फौजी ‘कू’ का पछाडि त्यसैले काम गरेको थियो । २००७ साल फागुन ७ गतेको घोषणामा तत्कालीन राजा त्रिभुवनले विधानसभा निर्वाचनद्वारा नै संविधान निर्माण गर्ने बताएका थिए ।  तर पछि राजाले त्यसलाई बेवास्ता गर्दा गर्दै २०१५ सालमा त्यो विना अर्थात् राजा निर्मित संविधानका आधारमा संसदीय निर्वाचन भयो । कांग्रेसको दुई तिहाई बहुमत भए पनि अन्ततः राजा महेन्द्रले २०१७ सालमा त्यसलाई भंग गराउन पुगे । यसका पछाडिको मूल कमजोरी नै त्यही भयो जसले गर्दा संसदको विघटन र निरंकुशताको थालनी । अब फेरि त्यही गल्ती कम्युनिष्ट पार्टीबाट नदोहोराउनका लागि संविधानसभाको निर्वाचनको नारा अघि सारिएको थियो । तर त्यतिबेला पार्टीको बहुमत त्यसमा हँुदाहुदै पनि पार्टी नेतृत्वले त्यसलाई अघि बढाउन चाहेन । यसमा अरु नेताहरुको साथसाथै क. पुष्पलालको पनि केही कमजोरी भयो । यसमा मूलत बदमासी नेपाली कांग्रेसकै थियो । कांग्रेसले त्यो गरे पनि  कम्युनिष्ट पार्टीले त्यसको विरोध गर्दै संविधानसभाको निर्वाचनकै लागि अघि बढेको भए सम्भवत २०१७ सालको फौजी ‘कु’ नहुन पनि सक्थ्यो । 


    जे होस् २०१० सालदेखि २०२४ सालसम्म नेकपाको तत्कालीन स्थितिमा क.पुष्पलालको केही कमजोरी देखिए पनि २०२५ सालमा छिन्नभिन्न रहेको नेकपालाई पुर्नगठन गराउने महत्वपूर्ण काम क. पुष्पलालबाट नै भयो । २००६ सालको स्थापना कालमा अघि सारिएका ती पार्टीका विचार–सिद्धान्त र नीति कार्यक्रमलाई अझ विस्तार गरी ठोस रुपमा नै त्यसलाई नयाँ जनवादी कार्यक्रमकै रुपमा अघि सार्ने काम क. पुष्पलालबाट नै भयो । पार्टीको सिद्धान्तको रुपमा माक्र्सवाद–लेनिनवाद साथमा माउत्सेतुङ विचार धारालाई पनि अघि सार्ने पहिलो काम क. पुष्पलालबाट नै भयो । त्यसैले नेपालमा सर्वप्रथम  माक्र्सवाद–लेनिनवादलाई स्थापित गर्ने पहिलो नेताको साथसाथै माओ विचार धारालाई समेत स्थापित गराउने पहिलो कम्युनिष्ट नेता पनि क. पुष्पलाल नै हो । तर पछिल्लो कालमा उहाँमा देखिएका केही वैचारिक र राजनीतिक कमजोरीका कारण उहाँ विवादित बन्नु भयो । यही कमजोरीलाई समाउँदै उहाँकै केही चेला चपेटाहरुले उहाँलाई बदनाम गराउँदै हिंड्न थाले । झापा विद्रोही र मुक्ति मोर्चामा सम्मिलितको साथै पछि चौ.म. पक्षधहरुले पनि उहाँमाथि आक्रमण गर्न  थाले । यतिसम्मकि मोहन विक्रम सिंहले त गद्दार पुष्पलाल नामक एउटा पुस्तक नै प्रकाशमा ल्याए । 


    निश्चय नै क. पुष्पलाल एउटा सच्चा माक्र्सवादी–लेनिनवादी र माओ विचारधार पक्षधर नेपालको प्रमुख नेता नै हुनुहुन्छ । नेपालमा सर्वप्रथम नयाँ जनजादी क्रान्तिको रुप रेखा तयार पार्ने पहिलो कम्युनिष्ट नेता पनि उहाँ नै हो । तर यसलाई व्यवहारमा उतार्ने क्रममा उहाँमा देखिएका केही वैचारिक र राजनीतिक कमजोरीका आधारमा उहाँलाई निम्नस्तरबाट गाली गलौज गर्नु अझ ‘गद्दार’ नै भनिहाल्नु उहाँप्रतिको ठूलो अपमान नै हो । त्यतिबेला उहाँको त्यस्तो अपमान गर्ने ती नेताहरुतिर आज फर्केर हेर्दा कस्तो अचम्म लाग्छ ? हिजो कांग्रेसी नारा अनि कांग्रेसी सहकार्य गर्दा गद्दार पुष्पलाल भन्नेहरु आज फेरि त्यही कांग्रेसीकै एकता र सहकार्यबाट संसदमा छिरेका छने । यतिसम्म कि कांग्रेस नेतृत्वकै सत्ताका राहाल चुहाउँदै बसिरहेका छन् । हालको कांग्रेस–एमाले गठबन्धन सरकार अनि पहिलेको कांग्रेस, एमाओवादी, एस र मसालबीचको संयुक्त गठबन्धन सरकारको यो चित्र अनि त्यो पहिलेको पुष्पलालप्रतिको अपमानलाई हेर्दा र विचार गर्दा वास्तविक गद्दार त को रहेछ ? बल्ल अहिले छर्लङ्ग हुँदैछ ।


    मान्छे सबैका गल्ती कमजोरी हुन्छ नै । क. पुष्पलाल पनि मान्छे नै भएकाले उहाँका पनि गल्ती कमजोरी भएका थिए । ती केही गल्ती कमजोरीलाई तिलको पहाड भए जस्तै गरी उहाँप्रति त्यतिबेला जाइलाग्ने अनि अहिले उहाँको मृत्युपछि फेरि उहाँकै फोटो भित्तामा टाँसी क्रान्तिकारी भनिनेहरु वास्तवमा क्रान्तिकारी कम्युनिष्ट हँुदै होइन । वास्तवमा क. पुष्पलाल सच्चा कम्युनिष्ट क्रान्तिकारी भए पनि उहाँको केही वैचारिक र राजनीतिक कमीकमजोरी भएका थिए । संविधानसभा निर्वाचनको विकल्पमा विघटित संसदको पुनस्र्थापना कांग्रेसी नाराको समर्थन, अनि कांग्रेस पार्टीलाई राष्ट्रिय पँुजीपति वर्गको पार्टी स्वीकार गरी संयुक्त मोर्चा निर्माणको नारा साथै चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको विरोध, रुसी, सामाजिक, साम्राराज्यवादप्रतिको मौनता यी आदि गल्ती कमजोरीका बाबजुद उहाँकै पहलकदमी र नेतृत्वमा नेकपाको स्थापना अनि त्यसको घोषणापत्र जारी गर्दै नेपालमा कम्युनिष्ट आन्दोलनको थालनी र सुरुवात उहाँबाटै भएको हो । साथै उहाँबाट नै चिनियाँ क्रान्तिको मोडेलमा नेपालमा नयाँ जनवादी क्रान्तिको आधारशिला तयार पारिएको हो । 


    अन्त्यमा अहिले क. पुष्पलालकै अनुयायी अझ माक्र्सवादी–लेनिनवादी र माओवादी नै हौ भन्नेहरुले अब नेपालमा पुँजीवादी गणतन्त्र सम्पन्न भएको र अब समाजवादी अझ वैज्ञानिक समाजवादी कार्यक्रम नै लागू गर्ने भन्नेहरुका लागि क. पुष्पलालले अघि सार्नु भएको एउटा भनाइ उल्लेख गर्न चाहन्छु –‘जबसम्म नेपालको माटोबाट सामन्ती, शोषण व्यवस्था र यसलाई आड तथा भरोसा दिई शोषण कार्यमा हिस्सेदार भइरहेको विदेशी पुँजीवाद खास गरेर भारतीय  एकाधिकार पुँजीवाद तथा अमेरिकी साम्राराज्यवादलाई समूल नष्ट गरिंदैन तबसम्म नेपालको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थिति पनि खतम हुन सक्दैन ।’ 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij