प्यूठान जिल्लामा अवस्थित २१३.४१ वर्ग कि.मि. क्षेत्रफल रहेको यस नौबहिनी गाउँपालिका समुद्र सतहबाट न्यूनतम ८७४ मिटरदेखि अधिकतम ३६०६ मिटरसम्मको उचाइमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा गौमुखी र झिमरूक गाउँपालिका, पश्चिममा रोल्पा जिल्ला, उत्तरमा रोल्पा र बाग्लुङ जिल्ला र दक्षिणमा प्यूठान नगरपालिका र झिमरूक गाउँपालिका पर्दछन् । यस गाउँपालिकाको अधिकांश क्षेत्र वनजंगलले ओगटेको छ । जंगल तथा जलाधार क्षेत्रको कमी नभएको यस गाउँपालिकामा सानाठूला खोला तथा नदीहरू बग्ने गर्दछन् । देश संघीय संरचनामा विभाजन हुनुभन्दा अघि साविकको डामृ गाविस अध्यक्ष भइ लामो समय काम गरी स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएका नौबहिनी गाउँपालिका प्यूठानका अध्यक्ष दिलबहादुर थापासँग नौबहिनीको समग्र विकासको अवस्था तथा अवधारणा बारे दैनिक लुम्बिनी पत्रिकाका जिल्ला संवाददाता राधिका भुसालले गरेको कुराकानीको सम्पादित अंश:
तपाईंको पालिकामा जनताको अपेक्षाअनुसार काम भएको छ ?
विशेष गरी म निर्वाचित भइसकेपछि धेरै जनताको धेरै अपेक्षाहरू हुन्छन् । जनताले अपेक्षा गरेअनुसार काम गर्न नसके पनि हाम्रो तर्फबाट राम्रा कामहरू थालनी गरेका छाँै भन्ने लाग्छ ।
जनतालाई दिर्घकालिन रूपमा हित हुने वा फाइदा हुने खालका कामको सुरुवात गर्नेछौँ । हामी नौबहिनी गाउँपालिकालाई व्यवस्थित रूपले सडक सञ्जालमा जोड्ने, खानेपानीलाई एक घर एक धारा अवधारणका अनुसार हामीले काम अघि सारेका छाँै । सीमित स्रोत साधनलाई प्रयोग गरेर जनताको आवश्यकतालाई मध्यनजर गरेका छौँ । समग्र नौ बहिनीवासी जनसमुदायलाई एकीकृत गरेर विकास पूर्वाधार, क्षमता विकास, उत्पादनसँग जोडिनतर्फ योजना अगाडि सारेका छौँ ।
उत्पादनसँग प्रत्येक व्यक्ति जोडिएर आर्थिक सूचाङ्कलाई माथि उठाउन पर्छ । नौ बहिनीको प्रत्येक वडामा कुनै न कुनै बस्तुको उत्पादन गरी आयआर्जनसँग जोड्ने छौँ । व्यक्तिगत रूपमा जनताको अपेक्षा पूरा नभएका होलान, तर सिँगो नौबहिनीको समग्र विकासमा हामी लागिरहेका छौँ ।
कुन क्षेत्रलाई बढी प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु भएको छ त ?
समग्र रूपमा हेर्दा भौगोलिक रूपमा अलि विकट भएको हँुदा यहाँका जनताको जीवनस्तर माथि उठाउनको लागि कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छौँ । सँगै शिक्षा, स्वास्थ्य क्षेत्रको अवस्था पनि अलि नाजुक छ । त्यसकारण कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई विशेष जोड दिनुपर्छ ।
कृषिलाई आधुनिकीकरण गरी प्रत्येक नागरिकलाई आर्थिक आयआर्जन गर्ने वातावरण मिलाउन सके मात्र सबै क्षेत्रको विकाससँगै अगाडि जाने हुँदा यी क्षेत्रलाई नै प्राथमिकतामा राख्ने गरेका छौँ । युवाहरू गाउँ छोड्दै शहर तथा विदेशीने समस्यालाई अन्त्य गर्न पनि कृषिमा लगानी गर्न जरूरी छ । सबैलाई रोजगारी दिन त नसकिएला, तर सीप तथा क्षमता वृद्धि गर्ने कार्यक्रमहरूमा बजेट विनियोजन गरी व्यवसायिक रूपमा जोड्न सकिन्छ ।
निर्वाचनका बेला बनाइएको घोषणा पत्रमा राखिएको कुरा कति पूरा भएका छन् ?
नौ बहिनी गाउँपालिकाभित्रका मुख्य ठाउँहरूलाई सडक सञ्जालले जोड्नु पर्छ भनेका थियौं, त्यससँगै जनताको स्वास्थ्य अवस्था र गुणस्तर शिक्षाको कुरा गरेका थियौं, सोहीअनुसार अहिले काम भइरहेको छ । सबै जनालाई रोजगारी दिन नसके पनि सीप सिकाएर आयआर्जनसँग जोड्न कोशिस गरिरहेका छौँ ।
तपाईंको पालिकामा संघीय र प्रदेश सरकारका योजनाहरू कत्तिको परेका छन् ?
संघ र प्रदेशबाट नियमित रूपमा आउने पर्ने योजनाहरू त आएकै छन् । त्यस बाहेक हाम्रो अलि ठूलो लागतमा हुने योजनाहरू माग गरेका छौँ । बाहाने, खवाङ, लिघा स्याउलिवाङ, बाग्लुङको बुर्तिवाङ हुँदै मध्य पहाडि लोकमार्गमा जोड्ने सडकलाई गत आर्थिक वर्ष बजेट पारेका थियौं । अब टेन्डरको प्रकृया पूरा भएर काम सुरु भएको छ, यो हाम्रो लागि ठूलो योजना हो । यसबाहेक खानेपानी, सामान्य सडकहरूलगायतका योजनाहरू आएकै छन् । प्यूठानबाट निर्वाचित सासंद, राजनीतिक दलमा नेताहरू सबैको समन्वय गरेर काम गरेका छौँ, हाम्रो अपेक्षाअनुसार योजना नपरे पनि मात्रामक रूपमा योजनाहरू आएकै छन् ।
तपाईंको बाँकी कार्यकालको योजना कस्तो छ ?
गत वर्षको नीति तथा कार्यक्रममा नौबहिनीलाई वर्गीकरण गरेर हामीले गौरबका योजनाहरू सुरु गरेका छाँै । यी सबै योजनाहरूको काम चुस्त दुरूस्त सम्पन्न गर्नुछ । गत वर्ष बाहाने बजारभित्रको सडकलाई ढलान गरेका छौँ, यस वर्ष बहानेदेखि डामृ हुँदै लिघा जोड्ने सडक, बहाने, लुङ हुँदै तुषारा जोड्ने सडक कालोपत्रे हुँदैछन् । बहाने, भिरविसौना हुँदै डामृ जोड्ने सडक पनि कालोपत्रे हुने प्रकृयामा छ । यही हिसाबले काम गर्दै जाँदा अबको १० वर्षभित्र नौ बहिनीका प्रत्येक गाउँबस्तीका सडकहरू कालोपत्रे गर्ने महत्वकांक्षी योजनाहरू अघि सारेका छाँ । यहाँका कृषकहरूलाई सहकारीसँग जोडेर उत्पादनमा आधारित अनुदानलाई प्राथमिकता दिनेछाँ, साथै हरेक नागरिकलाई आयआर्जनसँग जोड्न सीप सिकाउने, तालिमहरू प्रदान गर्नेलगायतका काम गर्ने छौँ ।
नौबहिनीका पर्यटकीय स्थलहरूलाई कसरी प्रवद्र्धन गर्दै हुनुहुन्छ ?
हाम्रो पालिकामा प्यूठान जिल्लाको सबैभन्दा अग्लो पहाड कोठीभिर समुन्द्री सतहदेखि ३६ सय मिटर उचाइमा अवस्थित छ । त्यसकै साथमै प्राकृतिक सुन्दरताले भरिएको खलेसेवाङमा कोठिभिर युवा क्लबद्वारा नयाँ वर्षको अवसरमा मेला आयोजना गरेको थियो । नौबहिनी गौमुखी संरक्षण वन नामको साझा संस्था छ, यसले यहाँ भएका धार्मिक तथा पर्यटकीय स्थलहरूलाई प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । नौबहिनी र प्यूठान नगरपालिको साझा पर्यटकीय स्थल झुलेनी, बाहुन पोल्नेडाँडा, कट्घेरा त्यसैगरी धार्मिक पर्यटकीय स्थल लुङको मस्ठधाम, लुप्लुङको देवाली, मार्केथान, झाँक्रीस्थानलगायतका ठाउँहरूलाई व्यवस्थित गरी पूर्वाधार निर्माण गर्दै आम्दानीको स्रोतसँग जोडन् पर्छ ।
जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्ध कस्तो छ ?
अन्य पालिकाहरूमा जनप्रतिनिधि र कर्मचारीबिच खटपट हुने गरेको सुन्ने गरेका छौँ । हाम्रो गाउँपालिकामा कुनै समस्या छैन । सबैलाई आफ्नो कर्तव्य र अधिकार थाहा छ, सोहीअनुसार आफ्नो जिम्मेवारीमा रही काम गरिरहेका छाँै ।




