गुल्मी । गुल्मीका एक युवा विवाहको ९ महिनामै वैदेशिक रोजगारीका लागि दुबई हिंडे । दुबईमा कमाएर घरमा पैसा पठाउने बेला आउंदै गर्दा भने उनको मृत्यु भयो । रेसुङ्गा नगरपालिका १२ का २६ बर्षीय युवा अनिल बिकको बैदेशिक रोजगारका लागि दुबई पुगेको तीन महिना नपुग्दै यहि साउन १० गते सडक दुर्घटनामा परी ज्यान गएको छ ।
उर्लेनी लामिचौर टोलका बिकले धुर्कोट गाउँपालिका २ जुुम्लादी गाउँकी २४ बर्षीया सरस्वता बिकसंग अघिल्लो बर्षको असार महिनामा प्रेम विवाह गरेका थिए ।
बिक विवाहको ९ महिना पछि गत बैशाख २२ गते विदेश उडनका लागि घरबाट हिडेका थिए । सुकुम्वासी परिबारका बिक चरम गरिवीबाट आक्रान्त हुँदै धन कमाएर सुखी जिवन जिउने सपना श्रीमतिसंग बाँड्दै बिदेश उडेका थिए ।
विदेश पुगेर पनि उनले फोनमा श्रीमतिलाई अब चिन्ता गर्ने दिन गए भन्दै हौसला दिन्थे ।
अनिल जन्मेको पाँच महिना पछि बाबुको घर नजिकैको भिरमा लडेर मृत्यु भएको थियो । त्यसको दुई तिन बर्ष पछि आमाको पनि मृत्यु भए पछि उनी बेसहारा भएर बिचल्लीमा परेका थिए । पाँच भाई मध्ये अनिल कान्छा थिए । घरमा एक्लै परेका अनिललाई उनका जेठा दाजु यमबहादुर बिक र भाउजुले हुर्काएका थिए ।
गाउमा मजदुरी गर्दै हुकेको अनिल पछि ट्याक्टर चालक बनेका थिए । बिबाह पछि ऋण काढेर भए पनि विदेश जाने योजना बनाएका उनको मृत्युको खबर सुने पछि श्रीमति सरस्वता एक सातासम्म अर्ध अचेत भइन् । पतिको यादमा धेरैबेर सम्म अचेत हुन्छिन् । यसो जागे पछि पतिलाई पुकार्दै भक्कानो छाड्छिन् ।
विवाहको एक बर्ष नपुग्दै सिन्दुर पुछिनु परेको यस घटनाबाट गाउँवासीहरुले पनि आँशु थाम्न सकेका छैनन् । विवाह गरेको असार महिनामा ठिक एक बर्ष पुगेको छ । एक बर्ष अघिको असार महिनाको विवाह सम्वन्धको तस्वीर संगै भए पनि अब सरस्वताको भौतिक शरिरको जोडी टुटेको छ ।
दुखद घटनाको हप्ता पुग्दा पनि रेसुङ्गा नगरपालिकाका कुनै पनि जनप्रतिनिधी परिवारलाई सहानुभुति दिन समेत दिन नपुग्नु दुखद पक्ष बनेको गाउंलेहरु बताउंछन् । अनिलको शव विदेशबाट झिकाउनका लागि यहाँका जनप्रतिनिधीहरुले पहल गरी दिन परिवारको आग्रह छ ।
तल उर्लेनी बजार देखि उनिहरुको गाउँ सम्म पुग्ने मोटरबाटो त परै जाओस हिंडने बाटाको अबस्था समेत बेहाल छ । उर्लेनी आसपासको दलित वस्ती नगरपालिकाको विकट कर्णाली बन्दै आएको छ ।
सदरमुकाम नजिकैको दलित वस्ती बर्षौं देखि बत्तिमुनीको अँध्यारो बन्दै आउँदा पनि नगरपालिकाको ध्यान पुग्न सकेको छैन । मृतक अनिल बिकका परिवारजन झै थुप्रै दलितहरु कोही सुकुम्वासी त कोही तिन महिना खाना नपुग्ने जमिन भएकाहरु छन ।
उनिहरुलाई हरेक चुनावमा चामल लगायतको खाद्यान्न र पेय पदार्थ बांड्ने र आश्वासनको बिस्कुन सुकाई दिने गरिन्छ तर चुनाव जिते पछि उनीहरुलाई गाउंमा वा जिल्लामा रोगारी दिने र जिवन स्तर माथी उठाउन कुनै प्रयास नगरिंदा अनिल जस्ता युवाले विदेशमा ज्यान गुमाउनुपरेको गाउंलेहरुको गुनासो छ ।




